स्रष्टा साँझ अमेरिकाको आयोजनामा श्री पोखरेलको ‘श्रीधर’ लघुकथासङ्ग्रहको परिचर्चा गरिएको छ।
साँझको समयमा जुम प्रविधिमार्फत् गरिएको सो कार्यक्रममा परिचर्चाकारहरू डा. पुष्करराज भट्ट, इन्दिरा चापागाई, डा. कुसुमाकर शर्मा गौतम, संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राडा भीम खतिवडा र खेमराज पोखरेल रहेका थिए।
कार्यक्रमका सहजकर्ता प्रा. विश्वराज अधिकारीले परिचर्चाकारहरूलाई कृतिकाे चर्चा गर्न अलगअलग प्रश्न साेधेका थिए। प्रश्नमा आधारित हुँदै परिचर्चाकारहरूले आफ्नो उत्तरभित्र कृतिमा समेटिएका ६५ लघुकथामा पाइने गुण र दोष केलाएका थिए।
समग्रमा कृतिले मानव जीवनको तीन अवस्था बाल, युवा र वृद्धाका मनोविज्ञानलाई चित्रण गरेको, जीवनका बहुआयामलाई सपाट ढङ्गबाट प्रस्तुत गरिएको, सबै लघुकथामा एउटै पात्र श्रीधर रहेको, औपन्यासिक प्रवृत्तिको गन्ध देखिए पनि सबै लघुकथा स्वतन्त्र रहेको, सन्देशमूलक रहेको, सामाजिक-पारिवारिक, मनोविज्ञान, स्वास्थ्य, आर्थिक आदि विविध विषयवस्तुको प्रयोग गरिएको, भ्रष्टाचार र अन्याय विरोधी चेतना पोखिएको, पात्रको नामको आधारमा कृतिको नाम चयन गरिएको, निर्जीव पात्रको प्रयोग, मानवीय प्रवृत्ति र प्रकृतिकाे चित्रण गरेको, खोक्रो राष्ट्रवादप्रति आवाज उठाएको, स्वैरकल्पनाको प्रयोग, समापनमा जिरिङ्ग पार्ने तत्त्व मनग्य पाइएको, बिम्ब, व्यङ्ग्य र संवादको शैलीमा लघुकथाहरू बुनिएको, भाषामा सरलता, उखान टुक्काको प्रशस्तै प्रयोग भएको, आयामले सशक्त रहेको बताएका थिए।
त्यसैगरी कृति पठनीय र सङ्ग्रहणीय हुँदा हुँदै पनि केही लघुकथामा भाषाप्रति स्रष्टाले सचेतता अपनाउनुपर्ने, संवाद र वर्णनको मिश्रित शैलीमा लघुकथा बुन्नुपर्ने, कथानक बिस्तारबाट बच्नुपर्ने, व्यङ्ग्य र द्वन्द पक्ष सशक्त बनाउनुपर्ने आदि सुझाव दिइएकाे थियाे।
अतिथिहरू मनीषकुमार शर्मा ‘समित’ र रमेन्द्र कोइरालाले कृतिकारलाई कृतिगत सफलताको लागि शुभकामना दिएका थिए।
कृतिकारले कृतिको नाम श्रीधर नै किन राखेँ भन्ने कारणबारे आफ्नो जीवनको सत्य घटनामाथि प्रकाश पारेका थिए। आफ्ना लेखनमा देखिएका कमीकमजोरी आत्मसात् गर्दै परिचर्चाकारहरूले दिएको सुझाव अनुसार सच्याउने प्रतिबद्धता व्यक्त गर्दै आयोजक, परिचर्चाकारहरू र उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।
प्रकाशित: १७ मंसिर २०८१ ११:२७ सोमबार