कला

देखाइयाे ‘आकाश खुल्दै थियो’

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौड्यालको कथासङ्ग्रह ‘आकाश खुल्दै थियो’ को लोकार्पण भएकाे छ।

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षता र वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा कृतिकाे लोकार्पण गरिएकाे हाे।

सुरभि साहित्य प्रतिष्ठानको १६७ औँ शृङ्खला नियमित आख्यान वाचनको क्रममा कृतिकाे लोकार्पण गरिएकाे हाे।

सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी र समाजसेवी दीपकसिंह भण्डारीको विशिष्ट आतिथ्य रहेको थियो भने दिवाकर न्यौपाने, मधुसूदनप्रसाद घिमिरे र पुष्कर चालिसे लगायतको आतिथ्य रहेको थियो।

प्रमुख अतिथि पौड्याल, विशिष्ट अतिथि र अतिथिहरूको हातबाट सामूहिक लोकार्पण गरिएको कृति ‘आकाश खुल्दै थियो’को समीक्षा वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीले गरेका थिए। उनले सङ्ग्रहका तेह्र ओटै कथाको कथानक, पात्र, कथामा प्रयोग भएको भाषा र शब्दशक्तिबारे विस्तृत समीक्षा गरेका थिए।

प्रमुख अतिथि नरेन्द्रराज पौड्यालले बाजुरामको लेखन कौशलको कुरा गर्दै कविताबाट पुस्तक र बाजुरामबारे आफ्नो भनाइ राखेका थिए।

साहित्यकार गोविन्द घिमिरे वेदमणि र दीपकसिंह भण्डारीले बाजुराम पौडेलको लेखन क्षमताको सराहना गरेका थिए। त्यसैगरी सभाध्यक्ष चालिसेले पौडेलको साहित्यिक यात्राबारे बताउँदै उनको पहिलो पाइलो खण्डकाव्यबाट सुरु भएको र पछि चार महाकाव्य, पाँच उपन्यास, दुई कवितासङ्ग्रह, एक आत्मवृतान्त र एक निबन्धसङ्ग्रह प्रकाशन गरिसकेर यो आकाश खुल्दै थियो कथासङ्ग्रह प्रकाशन गर्नु सामान्य कुरा नभएको बताए।

त्यसै गरी सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष असार महिनामा प्रदान गर्ने गरी माता नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष पुष्कर चालिसेद्वारा स्थापित ‘सुरभि-मुना-पुष्कर चालिसे छन्द कविता पुरस्कार’का लागि अक्षयकोष २ लाख पचास हजार राशि जम्मा गरेको पत्र प्रतिष्ठानका अध्यक्षलाई हस्तान्तरण गरिएकाे थियाे। उक्त पुरस्कार छन्द कवितामा योगदान दिने व्यक्तिलाई वार्षिक रूपमा २५ हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने गरी स्थापना गरिएको हो।

प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले चलाएकाे कार्यक्रममा रञ्जु खनाल, शारदा पराजुली, रञ्जना पराजुली लम्साल, तारादेवी फुयाल, पवित्रा पौड्याल, दिवाकर न्यौपाने, राजेशमान केसी, रामकुमार पण्डित, सुशील आचार्य र परशुराम पराशरले कथा तथा लघुकथा वाचन गरेका थिए।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका संस्थापक उपाध्यक्ष प्रकाशमणि दाहालको २०८१ मङ्सिर १४ निधन भएकोमा उनको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

प्रकाशित: १६ मंसिर २०८१ १३:३९ आइतबार

# Surbhi Literature Foundation