प्रविधिकर्मी सुनिलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक भएको छ। धुम्बाराहीस्थित अकमा होटलका आयोजित एक कार्यक्रमबीच स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो।
प्रमुख अथितिका साथमा कार्यक्रमका सभापति डा. कृष्णचन्द्र साह, साहित्यकारद्वय राजेन्द्र विमल र डा. रामदयाल राकेश, कानुनविद् उमेशचन्द्र झा, पत्रकार÷समीक्षक कृष्णमुरारी भण्डारी, सम्पादक दिनेश पौडेल र लेखक झाबाट संयुक्त रूपमा कृतिको लोकार्पण भएको थियो।
सोही कार्यक्रममा डिएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा– कवि सदानन्द झा’ पनि सार्वजनिक गरिएको थियो।
प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताए। उनले भने, ‘मलाई सुनिलजीका कुरा र किताबको शक्तिले यो कार्यक्रममा ल्यायो। हाम्रा धर्म, नीति, दर्शन, संस्कृति र माटोको सुगन्ध पुस्तकमा जताततै छ।’
पुस्तकको समीक्षा गर्दै कृष्णमुरारी भण्डारीले मधेस, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गरे। उनले भने, ‘यो किताबमा लेखकले काका सदानन्द झालाई धागो बनाएर विभिन्न कथाउपकथा उनेका छन्। यो किताबले पाठकको अन्तर्दृष्टि खुलाउने छ, र उनीहरूले पनि आफ्ना गाउँ समाजका कवि सदानन्द झाहरूको पहिचान गर्नेछन्। यो किताबले हौसिएका र हतासिएका, दुवैखाले व्यक्तिलाई सम्बोधन गर्छ।’
पुस्तकका सम्पादक दिनेश पौडेलले पुस्तकको सम्पादनका क्रममा धेरै मिहिनेत गरेको बताए। सर्लाहीका गाउँ गाउँ पुगेको स्मरण गर्दै उनले भने, ‘यो किताब एक संघर्षको कथा हो। यो दाजुभाइबीचको प्रेमको कथा पनि हो।’
पुस्तकका लेखक सुनिल झाले सानै उमेरबाट काका (बडाबा) सदानन्द झाबाट ज्ञानगुनका कुराहरू सुन्नेगरेको स्मरण गरे। ‘मैले सानोमा त काकाले भनेका धेरै कुरा बुझिनँ, तर जब अमेरिका पुगें, काकाले भनेका कुराहरूले मलाई पथप्रदर्शन गरे। बुझ्दै गएपछि काकाका विचार र कुराहरूलाई प्रकाशनमा ल्याउनुपर्छ भन्ने लाग्यो,’ उनले भने।
साहित्यकार राजेन्द्र विमलले किताब पढ्दा एकैपटक धेरै विद्वान् र सन्तहरूको सम्झना भएको बताए। उनले भने, ‘जहाँ हृदय झुक्दैन, त्यहाँ शिर झुकाउन हुँदैन। तर यो कृति पढ्दा, कवि सदानन्दप्रति मेरो हृदय झुक्यो।’
कार्यक्रममा पुस्तक विमोचनअघि दाजुभाइ सुनिलकुमार झा र विजय झाका तर्फबाट शिक्षकहरूलाई सम्मान गरिएको थियो। झादाजुभाइलाई प्राथमिकदेखि इन्जिनियरिङसम्म पढाउनुभएका गुरुहरूलाई फूलमाला, दोसल्ला र आदरपत्रका साथ सम्मान गरिएको थियो।
प्रकाशित: १५ मंसिर २०८१ ०९:५० शनिबार