१) मुक्तक
एउटा सुन्दर प्रेमकहानीबारे लेख्दैछु।
तिम्रो छाती, मेरो सिरानीबारे लेख्दैछु।
जून,घाम,पवन सबै दूर थिए त्यतिबेला,
अँगालोमै उदाएको बिहानीबारे लेख्दैछु।
२) मुक्तक
फेरिदिन्थेँ मिल्ने भए जिन्दगीका पानाहरू।
तिम्रै लयमा गाँउथेँ होला प्रीतका गानाहरू।
सोचे जस्तो, देखे जस्तो सपना हुन्न पूरा सबै,
कसरी पो फेरौँला खै कल्पनाका छानाहरू।
३) मुक्तक
म थिएँ तिमी थियौ, समयको नाप थियो।
स्पर्शको मादकताभित्र मायालु राप थियो।
जीवनको रंग पानी जस्तो फिका लागे पनि,
नबिर्सने यादको एक अनौठो छाप थियो।
४) मुक्तक
दुखेको ठाँउमा छोइदिने तिमी हुनु।
पीडा हुँदाखेरि रोइदिने तिमी हुनु।
हुन त यही मनभित्र नै बसेका छौ नि,
यो मन धमिलिए धोइदिने तिमी हुनु।
५) मुक्तक
यो साँझको बेलामा थोरै बदमास बनीदिऊँ त!
निरस तिम्रो त्यो रहरको मधुमास बनिदिऊँ त!
यो जगतमा नै छ स्वर्गको सुन्दर अनुभूति सबै,
कसैले नलेखेको एक उपन्यास बनिदिऊँ त!
७) मुक्तक
एकातिर मस्त आगो बलेको थियो।
अर्कोतिर सुन्दर यौवन ढलेको थियो।
मौन थिए रहस्यात्मक शब्द त्यसै नै,
लाग्थ्यो कुनै प्रेमयुद्ध चलेको थियो।
८) मुक्तक
थियो मनको धनी ऊ,आइ पास मुस्कुरायो।
छरेर स्वप्निल माया, बनी खास मुस्कुरायो।
उड्न थाले रहर सारा कल्पनाको गगनमा,
बुनेर मीठा सपना, एक मधुमास मुस्कुरायो।
९) मुक्तक
बिस्तारै मनको तिमीले सबै दूरी कम गर्याै।
चेतन संसारमा चलेको हावाहुरी कम गर्याै।
थिए अनेक प्रकम्पन र सुनामी आइलाग्ने,
समयसँगै देखिएका ती मजबूरी कम गर्याै।
१०) मुक्तक
आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा।
यो पहाड बोक्न सक्छु तिम्रो साथ हुँदा।
जतिसुकै अपठ्यारो किन नहोस मार्गमा,
जीवन यो घोक्न सक्छु तिम्रो साथ हुँदा।
प्रकाशित: १० मंसिर २०८१ १३:०७ सोमबार