केही दशक अघिसम्म युवालाई ठुलो भएर के गर्छौ भन्ने प्रश्न गर्दा उनीहरूको जवाफ हुन्थ्यो– ‘आफ्नै देशको माटोमा केही गर्ने चाहना छ।’
कैयन्को चाहना राजनीतिमा प्रवेश गर्ने, त्यो पनि नभए लोक सेवा पढेर नाम निकाल्नेसम्मको हुने गर्थ्याे। अहिले युवाका चाहना फेरिएका छन्। देशको परिस्थितिले युवालाई बिदेसिन प्रेरित गरिरहेको छ।
बालबालिकालाई न शिक्षकले देशमै बस्नुपर्छ भन्ने पाठ पढाएका छन् न अविभावकले नै सिकाएका छन्। धेरैले छोराछोरी विदेश जान पाउनुलाई ठुलो सफलता मान्छन्। त्यसैको परिणाम सबैको ध्यान विदेशतिरै छ।
देशलाई असल नेतृत्वकर्ता चाहिएको छ। राजनीति गर्न युवा आकर्षित भएका छैनन्। धेरैलाई राजनीतिप्रति नकारात्मकता सिकाइएको छ। राजनीति भनेको फोहोरी खेल हो भन्ने गरिन्छ। तर, फोहोरलाई सफा गर्ने नै राजनीति हो भन्ने सबैले बिर्सिने गरेका छन्।
देशमा केही हुँदैन, विदेश जानुपर्छ भन्ने जबर्जस्त भाष्य बनाइनु पनि युवाविहीनताको एउटा कारण हो। आफ्नै देशमा सामान्य काम गर्ने श्रमिकलाई हेर्ने दृष्टिकोणका कारण बिदेसिन प्रेरित भएका छन्। विदेशमा गएर जस्तोसुकै काम गरे पनि यहाँ कसैले देख्दैनन्। त्यही भएर पनि कर्मथलो छाड्न धेरैले अग्रसरता दिएका छन्।
नेपालमै रोकिएका युवावर्गलाई पनि नेपाल बस्न मन नलागेको देखिन्छ। देशमै प्रगति गर्ने सोचले हिँडेका युवा आर्थिक समस्यादेखि विभिन्न बाध्यतामा परेका कारण उनीहरू राजनीतिक क्षेत्रमा पनि आउन सकेका छैनन्। राजनीतिमा आउन अथाह पैसा लाग्छ भन्ने भएर पनि उनीहरू अघि बढ्न अग्रसर भएका छैनन्।
देश परिवर्तन गर्नका लागि युवावर्गको खाँचो हुन्छ। देशमा युवावर्ग कम हुँदा राजनीतिक परिवर्तनमा समेत ढिलाइ हुन्छ। युवावस्था भनेको परिवर्तन चाहने छटपटीको उमेर हो।
युवापुस्ता बिदेसिनु देशको अनमोल शक्ति र पुँजी बाहिरिनु हो। यसलाई आफ्नै देशको निर्माण क्षेत्रलगायत अन्य ठाउँमा समेट्न सकेमा राष्ट्रको उन्नति हुन्छ। तर, आफ्नो माटोप्रेमलाई बन्धकी राखेर लाखौं लाख युवा बिदेसिँदा देश पछाडि पर्ने स्थिति देखिएको छ।
जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/६३ मा युवा अग्रपंक्तिमा थिए। अचेल ठुला आन्दोलन गर्न युवा छैनन्। त्यही भएर पनि सामाजिक सञ्जालमा विरोध गर्ने व्यक्ति त देखिन्छन्, सडकमै आउने युवाको भने कमी देखिन्छ।
नेपालले आफ्ना युवाहरूको सिर्जनात्मक उपयोग गर्न सकेको देखिँदैन। नेपालबाट वार्षिक सात लाखभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि जाने गरेको सरकारी तथ्यांक छ। समाज र देशका लागि आवश्यक पर्दा सक्षम तरिकाले नेतृत्व गर्न सक्छन् भन्ने कुरा बिदेसिएका युवाहरूको कामबाट देखिँदै आएको छ।
हरेक राजनीतिक दलले युवाका कुरालाई बढो प्राथमिकतासाथ उठाइरहेका हुन्छन्। तर ती दलभित्र युवालाई अगाडि बढाउने वातावरण खासै देखिँदैन। युवासम्बन्धी कतिपय कार्यक्रम कार्यान्वयन हुँदैनन्। उच्च बेरोजगारी दरका कारण काम खोज्न उनीहरू बिदेसिने गरेका हुन्। अहिलेको समय जहाँ अवसर हुन्छ, मानिस त्यतै जान्छन्।
नेपालमा हरेक नीति तथा योजना निर्माणमा युवा शक्तिलाई प्राथमिकतापूर्वक उल्लेख गर्ने गरिन्छ। नेपालमा युवा विकासका लागि नीतिगत तथा संस्थागत व्यवस्था छन्। युवा तथा खेलकुद मन्त्रालय छ, युवाहरूको समग्र विकासका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायतका विभिन्न संरचनाहरू छन्। तर पनि यी व्यवस्था पर्याप्त हुन सकेका छैनन्।
युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार युवालाई पछाडि पार्ने नीतिविरुद्ध आवाज उठाउनुपर्छ। युवालाई लक्षित गरी स्वरोजगारीको विभिन्न तालिम मन्त्रालयले ल्याएको छ।
देशबाहिर जति युवा गइसकेका छन् अब देशमा भएका युवालाई लक्षित गरी राष्ट्रिय नीति र कानुन बन्दै गरेको न्यौपाने बताउँछन्। विदेश पुगेका युवाका लागि ई–भोटिङको व्यवस्था मिलाएर पनि देशको राजनीतिमा उनीहरूको भूमिका खोज्नुपर्ने उनको राय छ।
‘युवाले आफ्नो क्षमताअनुसार रोजगारीको अवसर पाउनुपर्छ,’ न्यौपानेले भने, ‘बिदेसिएका युवाशक्तिलाई देश फर्काएर काम गर्न सक्ने वातावारण मिलाउनुपर्छ। युवाले आफ्नो क्षमता अनुसारको अवसर पाउनु उनीहरूको अधिकार हो ।’
विकासका पूर्वाधार निर्माण, जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना अझै पनि राजनीतिक दलभित्रै कागजमा मात्रै कोरिएका छन् तर कार्यान्वयन हुन सकेको छैन। परिश्रमी युवाहरूले धेरै राम्रो आयआर्जन गरिरहेका उदाहरण देशभित्रै प्रशस्त छन्। तर, देशमा अपेक्षाअनुसारको भौतिक विकास हुन सकेको छैन। युवाले वैदेशिक रोजगारीमा सिकेर आएका सिप र सिर्जनात्मकताको प्रयोग गर्ने हो भने छिटै देशले काँचुली फेर्न सक्छ।
केही समयका लागि युवा बिदेसिए पनि फर्किएर आफ्नै देशमा सिर्जना र उत्पादनमा केन्द्रित हुनु आवश्यक छ। विप्रेषणले दिएको खुसी क्षणिक हुन्छ। श्रम र पसिना आफ्नै भूमिमा सिञ्चित गर्ने हो भने त्यसबाट प्राप्त हुने उपलब्धि दिगो मात्र होइन, त्यसले दिने आत्मसन्तुष्टि पनि अनमोल हुन्छ ।
देशमा अन्धकार देखेपछि साउदी अरेबियामा कार्यरत सुवास सिलवालका अनुसार गणतन्त्र कसरी आयो ? यसले के गर्याे ? के गर्नु पथ्र्यो ? संघीयता कस्तो राज्य व्यवस्था हो ? भन्ने शिक्षा क्षेत्रको पाठ्यक्रममा पसेकै छैन। निजी विद्यालयहरू विदेशी इतिहास पढाएसँगै सामुदायिक विद्यालयहरू पुरानै ढाँचामा भएको उनी सुनाउँछन्।
‘अहिलेका विद्यार्थीले उत्कृष्ट अंक ल्याए भने पनि हुने केही होइन,’ उनले भने, ‘जबसम्म शिक्षालाई आफ्नो परिवेशमा ल्याउने, भविष्यमा आउने चुनौतीसँग जुध्नेजस्ता कार्य सिकाइँदैन। त्यतिबेलासम्म युवालाई देशमा बस्न रुचि हुँदैन। जसरी खाली पेटले देशको माया बुझ्न सक्दैन, त्यसैगरी प्रमाणपत्रका चाङले युवा सन्तुष्ट हुन सक्दैनन्।’
समाजशास्त्री डा. सुरेश ढकालका अनुसार देशमा बस्ने वातावरण भयो भने युवा आफैं रोकिन्छन्। ठुला दलले हामी युवा रोक्छौं भनेर हावा गफ दिइरहेका हुन्छन्। युवालाई देशमै रोक्नलाई विदेशमा दिने सेवासुविधासहितको काम र तलब हुनुप¥यो। त्यो नहुनेबित्तिकै युवालाई रोक्नै नसकिने उनले बताए।
‘दुई हजारभन्दा बढी युवा दैनिक बिदेसिएका छन्,’ उनले भने, ‘युवा भनेको गतिशील जनसंख्या हो। उनीहरूले उत्तम अवसर खोजिरहेका हुन्छन्। युवाले देशमा लगानी गर्ने वातावरण छैन। विदेशी नेपालमा आएर व्यवसाय गर्ने अवस्था पनि छैन। त्यही भएर उनीहरू बिदेसिइरहेका छन्। युवा दैनिक नबिदेसिएका भए अहिलेसम्म नेपाल अस्तव्यस्त भइसक्थ्यो।’
युवालाई रोक्न देशमै आशा सञ्चार हुनुपर्छ। आशा नभई ती विदेशबाट पनि फर्किंदैनन्। त्यसकारण पनि युवाका सपनालाई सिञ्चन गर्न सक्ने गरी देशको राजनीतिले तिनीहरूमाथि लगानी गर्ने तत्परता देखाउन सक्नुपर्ने धेरैको राय छ।
त्यसो भयो भने मात्र फेरि युवालाई के गर्ने चाहना छ भन्ने प्रश्न गर्दा जवाफ आउनेछ– मलाई देशको मुहार फेर्न यही देशमा बस्नु छ।
प्रकाशित: ८ मंसिर २०८१ ०९:१७ शनिबार