कला

‘नेपहप श्रीपेच सिजन २’ को फाइनल पुगेका अरुणलाई गृह जिल्लामा सम्मान

फाइनल प्रवेश पाएका मगरलाई सम्मान गर्दै वडाध्यक्ष तामाङ। तस्बिरः महेश्वर

उदयपुरका अरुण पुवार मगर ‘नेपहप श्रीपेज सिजन २’को फाइनलमा प्रवेश गरेका छन्। हिपहप गीत सङ्गीतको रियालिटी शो नेपहप श्रीपेजको सिजन २ मा उदयपुरको कटारी नगरपालिका ५ बलाहाका अरुण पुवार मगरले आफूलाई उत्कृष्ट ५ मा पार्दै फाइनल प्रवेश पाएका हुन्।

रियालिटी शोको फाइनलमा पुगेका मगरलाई कटारी वडा नं. २ ले उपाधि जितको शुभकामना दिँदै सम्मान गरेको छ। बुधबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी रियालिटी शोको फाईनल पुग्न सफल मगरलाई वडाध्यक्ष मोहन तामाङले उपाधि जित्न शुभकामना दिँदै अग्रिम बधाईसहित सम्मान गरे।

फाइनल यात्रा तय गरेका अरुणलाई वडाध्यक्ष तामाङले वडा परिवारको तर्फबाट नगद ३० हजारसहित सम्मान गरेका हुन्। तामाङले व्यक्तिगत ५ हजार नगद पनि मगरलाई सहयोग प्रदान गरे।

सो रियालिटी शोको पहिलो सिजन ¥यापर साईमले जितेका थिए। जसको निर्णायक काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह थिए। निर्णायक भएकै बेला बालेन महानगरप्रमुख जितेका थिए।

उपाधि विजेता साईमनलाई ट्रफि (श्रीपेच)को रुपमा दिइएको मुकुट बज्राचार्य समुदायकोसँग मेल खाएको भन्दै विरोध भएको थियो। विरोधपछि बालेनले मुकुट फिर्ता गराएका थिए।

फाइनल पुगेका मगरलाई हौसला बढाउन स्थानीयले कटारी बजार र आसपासमा कार्यक्रम गर्दै भोट माग्न थालेका छन्। उनलाई जिताउन अभियानस्वरुप ठाउँ ठाउँमा कार्यक्रम गरी मगरलाई प्रस्तुति दिन लगाइएको स्थानीयको भनाई छ।

मगरले पूर्वी नेपालकै प्रतिनिधित्व गरिरहेको अर्थ्याउँदै सिजन २ को श्रीपेच उपाधि जिताउन अभियान चलाइएको वडाध्यक्ष तामाङले बताए। उपाधिका लागि भोटिङ सुरु भइसकेकाले भोट गरेर सहयोग गर्न वडाध्यक्ष तामाङले उदयपुरे समुदायसँग आग्रह गरेका छन्। 

प्रकाशित: ६ मंसिर २०८१ १३:४६ बिहीबार