म अफिसमा बसिरहेको छु। इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड झापामा भर्खरै सरुवा भएर आएको नयाँ ठाउँ, नयाँ परिवेश अलि अनौठो लागिरहेको छ।
कार्यालयमा भिडभाड छ। हुन त प्रहरी कार्यालय कहिले पो सुनसान हुन्छ र ? म त्यहाँको वस्तुस्थिति बुझ्ने प्रक्रियामा छु। टेबलमा धेरै फाइल मेरै पर्खाइमा छन्। तिनीहरूसँग हात मिलाउनुअघि एकपटक यसो अफिसको चौरतिर नियाल्छु।
म झसङ्ग हुन्छु एउटा नारी–आकृति देखेर !
‘शोभा...’
एक्कासी बोली फुट्यो, हिरिक्क भयो। पुरानो कुर्था, नकोरिएको कपाल, फुङ्ङ उडेको अनुहार, सामान्य पुरानो चप्पलमा शोभालाई इलाका प्रहरी कार्यालय, बिर्तामोडको आँगनमा रुँदै गरेको देख्दा मलाई सपना हो कि बिपना जस्तो लाग्यो।
‘असई साब, ऊ ती महिला किन रुँदैछिन् ?’ मैले महिला तथा बालबालिका सेल इन्चार्जलाई सोधेँ।
‘उनका श्रीमान्लाई तल हिरासतमा थुनेको छ सर।’
‘के मुद्दामा ?’
‘हिजो रक्सी खाएर उनलाई कुटपिट गर्दै रहेछ। हाम्रो ड्युटीले पक्राउ गरेर ल्याएको। उनी छुटाउन आएकी।’
म चिसो भएँ।
‘मेरी शोभा !’
मेरो अफिस–कोठाबाट शोभालाई हेरिरहन्छु। उनी न्यास्रो मुहार लगाएर यताउता गरिरहन्छिन्।
‘जा शोभालाई सोध !’ एक मनले भन्यो।
‘यस्तो बेला देखा नपर उनलाई असहज हुन्छ,’ अर्को मन बोल्यो। अन्ततः केही समस्या परे जान्छु भनेर मन बुझाएँ।
‘असई साब यसो बुझिदिनुस है !’ भनेर म आफ्नो काममा व्यस्त भएँ। घरिघरि आँखा तल आँगनतिर नै हेरिरहन्छ। उनीहरू श्रीमान्–श्रीमतीको घर झगडा मिलिहाल्छ।
कानुनी प्रक्रिया मिलाएर आफन्तले शोभाका श्रीमान्लाई हिरासतबाट छुटाएर लगिसकेका थिए। शोभा पनि पछिपछि लागिन्। मैले अफिसकोठाबाट हेरिरहेँ।
तल गएर घटनाबारे बुझेँ। ‘इन्स्पेक्टर साब, यो भाइ साह्रै बदमास छ। रक्सी र तासले सबै सकिसक्यो। झैझगडाबाहेक केही गर्न आउँदैन। ती बुहारीको कन्तबिजोग छैन नि ! अन्त केही पाएन भने उनलाई कुटेर रिस शान्त पार्छ,’ ती व्यक्ति शोभाकै वडाका जनप्रतिनिधि रहेछन्।
म निःशब्द भएँ।
त्यो फूलजस्तो शोभाको शरीरमा उनको श्रीमान्ले कसरी पिट्न सक्छ होला ? मेरो मन अमिलो भयो। शोभालाई उनको श्रीमान्ले प्रेमले स्पर्श गर्छ भन्ने कल्पनाले त जल्ने मेरो मन झन् त्यो कोमल शरीरमा चोट परेको सम्झेर भित्रभित्रै मुटु जलेर आयो।
अब म यसो साँझबिहान बिर्तामोडको चक्कर लगाउँछु। गाडीमा हिँड्दा पनि दायाँबायाँँ नियाल्छु, कतै शोभा सडकको किनारामा उभिएकी छिन् कि भनेर। नभन्दै एक दिन एउटा किराना पसलअगाडि शोभा उभिएकी देखेँ गाडीबाट। त्यही पसलबाट कलेज पढ्दा म उधारो चामल, तेल लैजाने गर्थें।
पछि पढाइ छोडेर तालिमका लागि हिँड्दा, उधारो खाएको चामलको पैसा तिर्न नसक्दा, ग्यास सिलिन्डर बुझाएर हिँडेको लाचार मेरो अनुहारको सम्झना भयो। आज म तिनै गल्लीमा ती पुराना दुःखका दिन सम्झेर हिँडिरहेको छु।
शोभालाई किराना पसलअगाडि देखेपछि म गाडीबाट झरेर उनको अगाडि पुग्छु। शोभा निहुरिएर प्याज छान्दै रहिछिन्। उनलाई यो रूपमा देख्नुपर्ला, भेट्नुपर्ला भन्ने कहिल्यै सोचेको थिइनँ।
केही समयअगाडि इलाका प्रहरी कार्यालय, अनारमनी, बिर्तामोडमा उनलाई देखेपछि यी गल्ली कति भौंतारिएँ म। कहिले मर्निङ वर्कका नाममा त कहिले ड्युटीका नाममा। कुनै समय यिनै गल्लीहरूमा शोभा र मेरा सपना हिँड्थे सँगसँगै।
हामी दुवैजना देवी माविका विद्यार्थी थियौं। मेरा आँखामा त्यो बेलाको शोभा ठिङ्ङ उभिइन्। उज्यालो मुहार, लामो कपाल, गाजल पोतिएका ठुल्ठुला आँखा, सानो सिनिक्क परेको नाक, गुलाबी ओठ अनि हाँस्दा देखिने सेता दन्तलहर। संसारमै राम्री लाग्थिन् उनी। अहिले पनि उनको भन्दा अरू मुहार राम्रो लाग्दैन।
म सधैंभरि उनको आँखामा पोतिएको गाजल देख्न चाहन्थेँ।
‘हैन हो, यो प्याज पनि कति महँगो ? खानै नसकिने भयो अब,’ शोभाको मलिन आवाज मेरो कानमा ठोकियो।
शोभाका लागि सबै प्याजको बोरा नै किनिदिऊँ लाग्थ्यो तर सक्दिनथेँ।
‘अरे नरेन्द्र !’ पसले दाइले मलाई चिनिहाल्नुभयो।
‘नमस्कार दाइ !’ मैले भन्नु र शोभाले टाउको उठाएर हेर्नु एकैसाथ भयो।
शोभा हेरेको हेर्यै भइन्।
‘कहाँ? के गर्दैछस् भाइ ?’ पसलका दाइले अँगालो हाल्दै भन्नुभयो।
‘म तपाईंको सहरमा फेरि आएको छु दाइ, इलाका प्रहरी कार्यालय बिर्तामोडमा।’
‘वाह, स्वागत छ मेरो भाइ !’
खुसी लाग्यो, फेरि अतीतसँग जोडिएकोमा। शोभाका आँखामा आश्चर्य नाचिरहेको थियोे।
‘दशपन्ध्र दिन भयो म यहाँ आएको।’
‘अँ, थानामा नयाँ इन्सपेक्टर आएको भनेर हल्ला सुन्दै थिएँ।’
मैले टाउको हल्लाएँ।
‘बधाई छ नरेन्द्र, मलाई कम्ती खुसी लागेको छैन,’ पसले दाइले मलाई धाप मार्दै भन्नुभयो।
‘म तपाईं र यो पसलप्रति सधैंभरि आभारी छु।’
‘ह्या पहिलेका कुराहरू सम्झनुहुन्न !’
‘सास त पहिलेकै कुराले अल्झँदो रहेछ दाइ।’
शोभाले पुलुक्क मलाई हेरिन्।
शोभाको आँखामा मैले सधैंभरि हेर्न चाहेको गाजल कहींकतै थिएन। उनका आँखामा लतपतिएको गाजल कहाँ थियोे र ? उनका आँखामा आँसु र पीडाबाहेक केही देखिनँ मैले।
‘शोभा, तिमीलाई कस्तो छ ?’
‘ठिकै छ,’ उनका आँखामा आँसु छल्किएको मैले देखिहालेँ। नमिठो लाग्यो। मन तितो भयो। मुटु फुट्लाजस्तै भयो।
‘इन्स्पेक्टर साब !’ उनले बिस्तारै भनिन्।
‘ल ल, भित्र बसेर कुरा गरौं, कति वर्षपछि भेट भएको हाम्रो।’
‘होइन दाइ, अहिले म व्यस्त छु, पछि आउँछु,’ मैले भनेँ।
दाइले टाउको हल्लाउनुभयो।
‘अनि तिम्रो के छ शोभा ?’ मैले शोभालाई सोधेँ।
‘ठिकै छ ,’ शोभाले मधुरो आवाजमा भनिन्।
‘घर परिवार के छ ? कस्तो छ ?’
‘ठिकै।’
‘तिमीहरू त सँगै पढेका होइनौं ?’ दाइले सोध्नुभयो।
हामी दुईले नै टाउको हल्लाउँदै ‘अँ’ भन्यौं।
‘मामु, छिटो घर आउनु रे !’ अलि परबाट सानी नानी कुदेर आई शोभालाई भनिन्।
‘शोभाकी पनि सानी शोभा ?’ मैले अलिकति हाँस्दै भनेँ।
‘अंकललाई नमस्कार गर छोरी,’ शोभाले छोरीलाई भनिन्।
नानीले दुई हात जोडिन्। शोभाजस्तै मायालु र प्यारी लागिन् मलाई उनकी छोरी।
मैले केही बिस्कुट र चकलेट किनिदिएँ। खुसी हुँदै घरतिर कुदिन् भन्दै ‘थ्याङ्क यु अंकल’।
मलाई खुसी लाग्यो।
‘म पनि जान्छु, पछि कुरा गरौंला ल,’ शोभा यति भन्दै प्याजको पैसा तिरेर घरतिर लागिन्। हतारहतार मलाई फेरि शोभाले छोडेर गइरहेकी थिइन्। म उनी गएको बाटो हेरिरहेँ।
‘यिनलाई साह्रै पीडा छ नरेन्द्र। लोग्ने राक्षस भएपछि एउटी छोरी मान्छेको जीवन त नर्क बन्दोरहेछ।’
म केही बोलिनँ।
‘जँड्याहा छ लोग्ने ! कुन दिन कुटेरै मार्छ होला यिनलाई। सम्झाउन गयो भने– तेरी स्वास्नी हो र ? भनेर वचन लगाउँछ। हामी त वाक्क भइसक्यौं। कति पटक छलफल गर्नु ? कति पटक पुलिस चौकी धाउनु ?’
म मुटुमा सगरमाथाझैं पीडा बोकेर यी सबै सुनिरहेको छु। मैले तत्काल प्रतिक्रिया दिनु केही थिएन, मुटु दुखाउनुबाहेक।
‘दाइ, म पनि जानुपर्यो।’
‘ल, फुर्सदमा यता निस्क है। तिम्रो नम्बर दिई राख मलाई।’
पसलको दाइलाई नम्बर दिएर गाडीमा बसेँ। म सुब्बा चोकदेखि तितो मन बनाएर अफिस फर्किएँ।
बिस्तारै शोभा र म सामाजिक सञ्जालमा जोडियौं। दुःखसुखका कुरा एकअर्कामा सेयर गर्न थालेका थियौं। यतिका वर्षपछि आँखाले देख्न पाएकोमा खुसी थिएँ म।
यसो ऐना हेर्छु, ऐनामा मेरो होइन उनको मलिन मुहार देख्छु। उडेर उनको बस्ती पुग्न मन लाग्छ तर बाध्यता र परिस्थिति पहाड बनेर बसिदिएको छ।
असम्भव छ अब उनको बस्ती पुग्न। म युद्ध हारेको सिपाही भएको छु। जूनजस्तै बनेकी उनलाई टाढाबाट हेर्नबाहेक अरू उपाय केही छैन।
धेरै समयपछि शोभाले रुँदै फोन गरेकी थिइन्। म उनको सुँक्क सुँक्क आवाज सुनिरहन्छु।
‘शोभा के भयो ?’ मैले आत्तिएर सोधेँ।
उनी रोइरहिन्।
सायद उनको श्रीमान्ले रक्सी खाएर पिटेको हुनुपर्छ, अड्कल काटेँ।
हुन त म भौगोलिक रूपले शोभाको घर नजिकै थिएँ। इलाका प्रहरी कार्यालय, बिर्तामोडको म बस्ने क्वाटर र सुब्बा चोकको दुरी त्यति टाढा थिएन तर भौगोलिक दुरी जति नजिकै भए पनि बाध्यता र परिस्थितिको दुरीले हामीलाई टाढा बनाइदिएको थियोे।
हामी कलेज पढ्दा म पाथीभरा टोलमा बस्थेँ भने शोभा सुब्बाचोकमा बस्थिन्। पछि पत्तो नै नपाई उनले मलाई छोडेर आफंै कोठा भाडामा बस्ने घरको कान्छा छोरासँग बिहे गरेकी थिइन्।
सात वर्षपछि समयले उनको र मेरो भेट गराएको थियोे। उनी अर्काकी भए पनि मेरो मनमा उनका लागि उस्तै प्रेम थियो। म सधैं उनको जीवन सहज होस्, संसारकै खुसी उनलाई मिलोस् भन्ने कामना गर्थें। शोभालाई राखेको मन उस्तै थियोे, जस्तो उनले छोडेर गएकी थिइन्। अब हाम्रो परिस्थिति फरक थियोे, प्रेमबाहेक केही थिएन। उनी रुँदा छातीमा टाँसेर आँसु पुछिदिन सक्दिनथेँ।
‘तिम्रो अघि रोएपछि मन हलुङ्को हुन्छ,’ शोभाले भन्थिन्।
मलाई पनि उनको बोली सुन्न मन लाग्थ्यो तर उनलाई फोन गर्न मेरा हात काँप्थे। त्यो २०–२१ वर्षको अल्लारेपन कहाँ थियोे र हाम्रो ? अरू बेला जे जस्तो भए पनि शोभाले रुँदै फोन गरेपछि मलाई साह्रै छटपटी हुन्थ्यो।
‘प्रणय दिवसको शुभकामना ! प्रेमको अर्थ बुझाउने मेरो प्यारो मान्छेलाई,’ शोभाले मलाई मेसेज लेखेकी रहिछिन्। पात्रो हेर्छु, आज भ्यालेन्टाइन डे रहेछ। ‘थ्याङ्क यु,’ मैले डराउँदै रिप्लाई दिएँ। उनी र मबिच अब नमिठो वर्तमान र मिठो त्यो अतीतबाहेक केही थिएन।
‘मलाई एउटा हेल्प गर्नुप¥यो इन्सपेक्टर साब !’ उनले भनिन्। ‘म कल गर्छु है ?’ मैले भनेँ। उनले ‘हवस्’ भनिन्। उनले भिडियो कल गरेकी रहिछिन्।
‘के भयो शोभा ? तिमीलाई त ठिक छ नि?’ मैले हतारहतार सोधेँ।
‘तिमीलाई देख्न मन लागेर कल गरेको नि !’ उनले भनिन्।
मलाई नि उनको मुहार हेर्न, बोली सुन्न मन नभएको कहाँ हो र ? तर बाध्यता थियोे। धेरै पछि उनलाई देख्दै थिएँ, खुसी लाग्यो।
‘घरको खबर के छ ? श्रीमान्, नानीको खबर के छ ? तिमीलाई कस्तो छ शोभा ?’ मैले यति सोधेपछि उनी रुन थालिन्।
‘किन रोएकी शोभा ? नरोऊ, फेरि अरूले थाहा पाउँछन् प्लिज,’ मैले भनेँ। उनी रोइरहन्छिन्।
‘शोभा, उतिबेला तिमीले मलाई माया मारेर किन गएकी थियौ ?’ नचाहेर नै मनको कुरा ओठमा आएछ।
‘नरेन्द्र, मलाई त बाँच्न मनै लाग्दैन। मलाई तलमाथि केही भयो भने मेरी छोरीलाई कहिलेकाहीं भेट्नु ल !’ हिक्क गर्दै शोभाले भनिन्। मलाई नमिठो लाग्यो।
‘नहुने कुरा किन गरेकी शोभा ? हरेक समस्याको समाधान हुन्छ। हार खानु हुँदैन, जिन्दगी यस्तै त हो नि,’ म भन्छु।
‘जीवनमा भुल गरेछु। पश्चात्तापबाहेक अब केही छैन !’
म झन् टुट्छु।
‘त्यसो भन्नु हुन्न शोभा।’
‘बाँच्ने रहर पुगिसक्यो मलाई !’
‘नहुने कुरा नगर है शोभा,’ मेरा आँखाबाट आँसु खसे। म रोएको देखेर झन् डाँको छोडेर रुन थालिन् शोभा।
‘तिमीलाई के भयो शोभा ? भन त, म तिम्रा लागि केही सहयोग गर्न सक्छु कि ?’
‘आज पनि मलाई नानीका बाबाले पिट्नुभयो !’ उनले पाखुरामा भएको घाउ देखाउँदै भनिन्। मुटुमा हजारौं किला ठोकिँदैछ जस्तो महसुस भयो।
रुँदारुँदै उनले कल काटिन्। फेरि मैले कल गर्न सकिनँ। उनले कस्तो सहयोग माग्न खोजेकी थिइन् भन्ने पनि सोध्न पाइनँ।
मलाई कल गर्नु अनि शोभा नरुनु प्रायः हुँदैनथ्यो। हिजोआज उनी मलाई घरका, मनका ससाना कुरा सुनाउने गर्थिन् अनि रुन्थिन्।
म के नै गर्न सक्थेँ र ? सबै उनको पारिवारिक समस्या थियोे। सहानुभूतिभन्दा अरू केही थिएन। शोभा र मेराबिचको लक्ष्मण रेखा मेट्न सक्दिनथेँ। साँझ हिँड्दै म दुर्गा मन्दिरअगाडि पुग्छु। साँझको आरती छुटाउन मन लाग्दैन। मन्दिरको पेटीमा शोभा सानी छोरीलाई काखमा च्यापेर बसिरहेकी देखेपछि झसङ्ग भएँ।
‘शोभा !’ मेरो आवाजले उनी झसङ्ग भएर उठिन्।
‘के गरेकी ? के हाल बनाएकी ? हत्तेरी !’ मेरो मुखबाट अरू शब्द केही निस्केनन्। उनी केही नबोली टोलाइरहिन्।
‘बाबाले घरबाट निस्केर जा भन्नुभयो अंकल,’ शोभाकी छोरीले भनिन्। शोभाले आफ्नो हत्केलाले छोरीको मुख थुनिदिइन्।
मेरो मन चिरा चिरा भयो। म शोभालाई हेरिरहन्छु, उनी चुपचाप आँखा पुछिरहन्छिन्। त्यो भिडमा मलाई चिन्ने केही मान्छेहरू रहेछन्।
‘यी नानीलाई साह्रै पीडा छ सर,’ कसैले भने।
‘अब उनीहरूको घरझगडामा बोल्ने कुरा पनि भएन सर,’ कसैले भने। म उनीहरूको कुरा सुनिरहन्छु, बिनाप्रतिक्रिया।
मैले केही भन्न सक्ने अवस्था थिएन। मैले केही सम्झाउन खोज्दा शोभाले भनेकी थिइन्, ‘यो मेरो घरभित्रको कुरा हो।’ त्यसपछि मैले केही भन्ने बाटो नै थिएन। यस्तैमा शोभाको श्रीमान् आएर भन्यो, ‘घर हिँड्।’
शोभा पुलुक्क मलाई हेरेर चुपचाप हिँडिन्। उनको श्रीमान् पछिपछि लाग्यो। म सासै रोकेर शोभा गएको दृश्य हेरिरहेँ। लाग्यो, मेरो मुटु कसैले लैजाँदै छ, म निरीह छु। घाँटीमा केही कुरा अड्केजस्तै भयो, गाँठो परिरह्यो।
‘नरेन्द्र, तुरुन्त यहाँ आइज भाइ, शोभालाई मारिसक्यो !’ मध्यरातमा पसलबाट दाइले फोन गर्नुभयो। म टोलीसहित घटनास्थल पुग्छु।
शोभा रगतको आहालमा डुबेर अलि अलि सास फेर्दै रहिछिन्। हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल पठायौं। उनका आँखाले मलाई नै हेरिरहेका थिए।
‘शोभा केही हुँदैन, सबै ठिक हुन्छ, म छु है,’ मैले उनको हात समातेर भनेँ। उनले बिस्तारै परेली हल्लाएकी थिइन्।
सानी छोरी रोइरहेकी थिइन्। घरमा अरू कोही नभएको अवस्थामा शोभामाथि आक्रमण गरेको रहेछ उनको श्रीमान्ले।
उनको श्रीमान् घटनास्थलबाट फरार भइसकेको रहेछ। प्रहरीटोली उसको खोजतलासमा जुट्यो। मैले शोभाको माइतीतिर खबर गरिदिएँ। बिहानै आउने जानकारी भयो। यता घरतर्फका आफन्त बिस्तारै भेला हुँदै थिए। हृदयमा मेरो आगो सल्किएको थियोे।
म अफिस फर्किएँ। शोभाकी छोरीले मलाई हेरिरहेकी थिइन्। ती दुई आँखा शोभाकै हुन् जस्तो लाग्यो।
शनिश्चरे बजारदेखि शोभाको श्रीमान्लाई पक्राउ गरी ल्याएर हिरासतमा राखिएको थियोे, ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा।
‘तपाईं बिरामीको को हो ?’ आइसियु वार्डका इन्चार्जले सोधे। ‘इन्स्पेक्टर साब,’ डाक्टर मास्क फुकाल्दै त्यही समयमा आइपुगे। ‘बिरामीको अवस्था कस्तो छ डाक्टर साब ?’ मैले मन भारी बनाउँदै सोधेँ।
‘यसै भन्न सक्दिनँ इन्स्पेक्टर साब, सुधार अलिकति पनि भएको छैन,’ डाक्टरले टाउको हल्लाउँदै भने। मन चिसो भयो।
बिएन्डसी अस्पतालको आइसियुमा शोभालाई जीवनको अत्यन्तै कठिन अवस्थामा देखेपछि मेरा आँखामा उही मायालु, हँसिली, प्यारी शोभा झुल्किन्। आँखामा गाजल पोतेर सधैंभरि बिर्तामोडका चोकमा कहिले चटपटे त कहिले पानीपुरी खाइरहेकी भेटिन्थिन्। त्यो कोमल शरीरमा श्रीमान्ले अन्धाधुन्ध फलामे रडले प्रहार गरेपछि उनी जीवनमरणको दोसाँधमा थिइन्। आइसियुबाहिर शोभाकी छोरी हातमा चकलेट बोकेर आफ्नी आमालाई पर्खिरहेकी थिइन्।
‘शोभा, म फेरि तिम्रा आँखामा गाजल पोतिएको हेर्न चाहन्छु,’ हृदयमा पहिरो गयो। ‘तिमीसँग मेरा कुरा धेरै बाँकी छन्। मलाई तिमीसँग बाँच्नु छ, हाँस्नु छ। तिमी बाँच्नुपर्छ, फेरि हाँस्नुपर्छ। तिमीमा भएको आमाको आत्माले थाक्नुहँुदैन। छोरीले तिमीलाई पर्खिरहेकी छन्। म पनि तिमीलाई नै पर्खिरहेको हुनेछु शोभा !’ म रोएँ उनको त्यो अवस्था देखेर।
चिसो मुटु पारेर म गाउन खोलेर बााहिर निस्किएँ।
‘अंकल, मामु हजुरसित बोल्नुभयो ?’ शोभाकी छोरीले मेरो हात समातेर सोधिन्। मैले केही जवाफ दिन सकिनँ।
‘मामुलाई ठिक हुनेछ है !’ मैले शोभाकी छोरीलाई छातीमा बेस्सरी टाँसेँ। नमिठो लाग्यो।
०००
‘सरी इन्स्पेक्टर साब,’ बिहानै मोबाइलमा आएको मेसेजले मलाई जिउँदै लास बनायो। म सबै काम स्थगित राखेर हतारहतार बिएन्डसी अस्पतालतर्फ लागेँ। आइसियु वार्डअगाडि शोभाका आफन्त रोइरहेका थिए। मैले शोभाकी छोरीलाई नियालेँ। मुटु चिसो भयो। हातगोडा थरर काँपे।
‘एकछिन है,’ भनेर म डाक्टर भेट्न पसेँ। ‘सकिएन उहाँलाई बचाउन !’ संसारै अँध्यारो लाग्यो।
मैले अन्तिम पटक शोभालाई नियालेँ। मलाई देखेर उनी अलिकति हाँसेजस्तो लाग्यो, परेली अलि अलि हल्लिएजस्तो लाग्यो, ओठ हल्लिएजस्तो लाग्यो, हातका औंला चलेजस्तो लाग्यो।
‘शोभा, आँखा खोल न, हेर त मलाई !’ अनायासै मेरो ओठबाट शब्दहरू निस्किए। तर शोभा मैले बोलाएको नसुन्ने भइसकेकी थिइन्। बरर खसे आँसु। गह्रौं पाइला चाल्दै म अफिस फर्किएँ। थुनुवा कक्षअगाडि उभिएर शोभाको श्रीमान्लाई हेरेँ। एक कुनामा बसिरहेको रहेछ।
‘सर, मलाई माफ गर्नुस्, हजुर मलाई यहाँबाट निकालिदिनुप¥यो। अबदेखि म कहिल्यै पनि रक्सी खान्नँ, तास खेल्दिनँ। शोभालाई कुट्दिनँ। मलाई महसुुस भयो हजुर, मैले अपराध गरिरहेको रहेछु। मलाई एक पटक शोभासँग भेट्न दिनुस्। सर, म ऊसँग माफी माग्न चाहन्छु। अबदेखि म कहिल्यै गलत काम गर्दिनँ। प्लिज सर ! एक पटक शोभालाई मलाई छुटाउन भन्दिनु न !’ ऊ मलाई हात जोडेर भन्दै थियोे।
म केही नबोली उभिइरहन्छु।
‘सर, शोभालाई एक पटक बोलाइदिनुस् न।’
यस्तैमा उसकी बहिनी आइपुगिछिन्, शोभाकी नन्द। ‘नानु, तेरी भाउजू बोलाएर ल्या न। मलाई यहाँ हिरासतमा साह्रै गाह्रो भएको छ। जा न।’
‘दाइ, भाउजू बित्नुभयो !’ उनले रुँदै भनिन्।
शोभाको श्रीमान् चुपचाप, थचक्क बसेर
रोइरहेको थियोे।
मेरा आँखामा शोभाका ठुल्ठुला गाजल पोतिएका आँखा चम्किरहेका थिए। मुटुमा पहिरो गएजस्तो लागिरहेको थियोे। बिस्तारै आफ्नो क्वाटरमा फर्किएँ।
उदास मुहार, गाजलविहीन निरस आँखा, नकोरिएको छरपस्ट लामो कपाल लिएर पुरानो कुर्था लगाएर शोभा ढोकामा उभिइरहेकी छन् जस्तो लाग्यो।
‘शोभा !’
शोभाको दुःखद अन्त्य भइसकेको थियोे। म फेरि एक्लै भएको थिएँ। मेरा आँखा आँसुले डबडब भए।
प्रकाशित: १ मंसिर २०८१ ०६:४६ शनिबार