कला

उही आकाश दिनमा निलो रातमा कालो हुन्छ!

मुक्तक

१) मुक्तक

जिन्दगीमा अनगिन्ती उपहार पाएँ

छानेँ, पन्छाएँ, सञ्चय गरेँ, कुनै खाएँ

जहाँ तृष्णा त्यहाँ संसार रहेछ प्रभु

वितृष्णा उत्पन्न गर्न सदाबर्त लाएँ।

२) मुक्तक

हिमचुलीको वरदान पाएका हुन्छन्

कुनैले वर्षाको उधारो खाएका हुन्छन्

बादल हस्ते लिएको ऋण फिर्ता गर्न

नदीहरू सागरसम्म आएका हुन्छन्। 

३) मुक्तक

सोचाइमा कलुषित भावना जागेपछि

आफूप्रति जनताको विश्वास भागेपछि

साबुनले चेहरा धोएर के गर्नु साथी

दिलभित्रनै मयलको चाङ लागेपछि।

४) मुक्तक

जुन ठाउँमा इच्छा छ, त्यहाँ स्वार्थ छ

जहाँ भावना छ, त्यहाँ परमार्थ छ

सरल हृदयले बाँच्न सिकाउँछ

कुनै लक्षबिनाको जीवन व्यर्थ छ।

५) मुक्तक

मलाई खुला संसार देउ आफ्नै जिन्दगी बाँच्छु

यात्रुलाई अवरोध नगरी सडकमा नाच्छु

मेरो लागि कसैले दिमाग खर्च नगरे हुन्छ

मूलबाटोमा रहेको बेकारको तगारो भाँच्छु।

६) मुक्तक

संसारमा दुःख छ, दुःखको कारण पनि छ

सल्काउने उत्प्रेरक छ, निवारण पनि छ

यो रोगको मुख्य असर दुराग्रह हो मित्र

सद्विचार, मृदुता र धैर्यधारण पनि छ।

७) मुक्तक

पहिला स्वदेशमा उर्वर माटो बनाउ

छातीभित्र चकला परेको पाटो बनाउ

जीवनलीला समाप्त भैसकेपछिलाई

खाली हात आफू एक्लै जाने बाटो बनाउ।

८) मुक्तक

माकुराको रेशम रूप बदलेर जालो हुन्छ

रुमाल त्यही हो पुरानो भएपछि टालो हुन्छ

विचित्र रहेछ नियम यो संसारको हजुर

उही आकाश, दिनमा निलो रातमा कालो हुन्छ।

९) मुक्तक

बाढीले ल्याएको पाँगो हो जिन्दगी

झरिलो तात्तातो आगो हो जिन्दगी

फुकाउँदैमा समय बिति सक्ने

कतै जेलिएको धागो हो जिन्दगी।

१०) मुक्तक

जहाँ मान्छे स्थितप्रज्ञतामा झुकेको हुन्छ

त्यहाँ बुद्धको मध्यममार्ग पुगेको हुन्छ

सारवत सत्वको प्राप्ति हुनाले यसैमा

जीवन सफलताको मूल्य लुकेको हुन्छ।

प्रकाशित: ३० कार्तिक २०८१ १२:०५ शुक्रबार