कला

काठमाडौंमा ‘कन्दरा’ को ऐतिहासिक कन्सर्ट

लोकप्रिय कन्दरा ब्यान्डले काठमाडौंमा ऐतिहासिक कन्सर्ट गर्दै साङ्गीतिक विरासतको ३२ औं वर्षगाँठ मनाएको छ।

शनिबार काठमाडौं कलिङ कन्दरा नाम दिइएको कन्सर्टमा हजारौं दर्शकले उत्साहपूर्ण सहभागिता जनाए। काठमाडौंको क्लब एलओडीमा भएको कन्दराकै पहिलो काठमाडौं कन्सर्टमा फरक उमेर समूहका सहभागीले ब्यान्डका हरेक गीतमा गाएर साथ दिएका थिए।

कन्दरा कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको साङ्गीतिक प्रस्तुतिबाट भएको थियो जसले परम्परागत र आधुनिक संगीतको फ्युजन प्रस्तुत गरे।

कन्दरा गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पंकज झा, ड्र्मर सुनिल थापा, मादलवादक अविनाश गायक र किबोर्डवादक नील घतानीको सशक्त लाइनअपका मञ्चमा प्रस्तुत भएको थियो।

मञ्चमा गायक विवेक श्रेष्ठको आगमनअघि स्रोताहरुमा उनले कन्सर्टको सुरुमा कुन गीत गाउँलान् भन्ने अड्कलबाजी सुरु भइसकेको थियो। यसैबीच विवेकले पहिलो गीत गुनगुनाए,

तगारोमा रुमाल राखी बाटो छेकिन उनले...

पहिलो गीतबाटै गायकलाई साथ दिएका स्रोताहरुले त्यसपछिका तिमी परी, लेककी हे माया, बिदेसिएर गइन् उनी, हङकङ पोखरा जस्ता चर्चित गीतहरुमा गुनगुनाएर साथ दिइरहे।

अझ, तिमी पारि र हङकङ पोखराजस्ता गीत त दर्शकले वान्स मोर भनेका कारण विवेकले दोहोर्‍याएरै गाए। दर्शकको माग अनुसार दोहोर्‍याउँदा पनि दर्शकहरुको वान्स मोर आउन छोडेको थिएन।

कन्दराले एलओडीको प्रस्तुतिमा आफ्ना कयौं पुराना क्लासिक गीतहरुलाई रिक्रिएट गरी नयाँ स्वाद र शैलीमा प्रस्तुत गर्दा नयाँ पुस्ताका स्रोताले समेत रुचाएको देखिन्थ्यो।

कन्दराकालीन स्रोता त हरेकजस्तो गीतमा नोस्टाल्जिक हुने नै भए। कन्सर्टमा कन्दराले लोकरक शैलीको नयाँ गीत विचरा मसमेत गाएको थियो।

आफ्ना गीतसँगसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेरलगायत पुराना पुस्ताका गीतसमेत गाएर आधुनिक तथा लोकस्रष्टामा सम्मानसमेत प्रस्तुत गर्‍यो। विभिन्न विधाका र विभिन्न समयका गीत संगीतले फराकिलो दायराका स्रोतालाई झनै मज्जाले बाँध्न सफल भयो।

मेलोडियस लोकपप विधाको नेतृत्व गर्ने कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले कार्यक्रमबारे भने, हाम्रा अविश्वसनीय फ्यानहरुको ऊर्जाले घेरिएको काठमाडौँमा पहिलो पटक प्रस्तुति दिनु सपना साकार हुनुजस्तै हो। यो प्रस्तुति, यो रात हामीलाई माया र समर्थन गर्ने तपाईंहरू सबैमा समर्पित छ।  

उनले कन्दराको कन्सर्ट नेपाली सङ्गीत र संस्कृतिको उत्सव समेत भएको बताए। काठमाडौं कलिङ कन्दरा आयोजनामा क्लब एलओडी, स्वेच्छिक इभेन्ट्स, टिआरएन इभेन्ट्स, खल्तीलगायतको संलग्नता थियो।

प्रकाशित: २५ कार्तिक २०८१ २०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App