कला

नाम, काम, दाम, खाई, पाईलाई अनुप्रास ठानौं!

मुक्तक

१) मुक्तक

नाम काम दाम, खाई पाई लाई, अनुप्रास ठानौं

रामे श्यामे दामे, को पो हो भाइ, अनुप्रास ठानौं

थोरै अक्कल लिने हो, अलिकति दिमाग घुमाई,

दाइ न भाइ फरक उच्चारण बनाई, अनुप्रास ठानौं।

२) मुक्तक

छुट्याउनुस् अकार अनि आकार मुक्तक लेख्नलाई

अप्ठेरो त छैन नमान्नुस् हाहाकार मुक्तक लेख्नलाई

छानेर अनुप्रास तिन ठाउँ ठ्याक्कै मिलाउने मात्र हो,

भावना शब्द मिलाए हुन्छ साकार मुक्तक लेख्नलाई।

३) मुक्तक

के कुरा भन्ने सोचेर पहिलो हरफमा पोख्नोस् मुक्तक हुन्छ

अलि नबुझ्लान् थप बुझाउने शब्द खोल्नोस् मुक्तक हुन्छ

आहा! भनाउन मुक्तकमा सबै हरफको सार कुराको चुरो,

चौथो आखिरी हरफले खुलस्त पारी ठोक्नोस् मुक्तक हुन्छ।

४) मुक्तक

स्वर-वर्णका अक्षर खोजीखोजी शब्दमा सजाउनुपर्छ

शब्दशब्दमा मिठास अनि मनमा छुने भाव आउनुपर्छ

शब्दहरूको पुञ्ज बन्दछ मलहम त कहिले धरिलो छुरा,

शब्दचयन यस्तो बनाउ वाक्य सुन्दा आनन्द पाउनुपर्छ।

५) मुक्तक

चटक्क कोरेर बाटेर राम्री बनाउँछु मुक्तक तिमीलाई

शिरमा सलक्क सिउँदो सजाउँछु मुक्तक तिमीलाई

शब्दको बुट्टा भरी सिँगारपटार गरी अन्माई दिनेछु,

एकलखा कतै चन्द्रबिन्दु लगाउँछु मुक्तक तिमीलाई।

६) मुक्तक

लामो न छोटो, ठिक्क कदको, सुन्दर हुन्छ मुक्तक

चारै प्रहर, चारवटै मात्र पदको, सुन्दर हुन्छ मुक्तक

प्रभात या सूर्यास्त, दिन या रात तल् तलले सताउने,

मन्द नशा बन्छ, मिठास मदको, सुन्दर हुन्छ मुक्तक।

७) मुक्तक

शब्द ओल्ट्याईपल्ट्याई गर्नु, नमिले देखि छ्या भन्छन् 

पढन रोचक भएन भने, राम्रै भएपनि नपढि ह्या भन्छन् 

मिलाएर सहज शुद्ध लेखेपछि बाँकी पढूँपढूँ पार्नुपर्छ रे,

गुरु भन्थे, अक्षर उही, शब्द मिलाएपछि वा क्या भन्छन्।

८) मुक्तक

चल्छ कसरी काम भनन, रुन्छ हो दलेर छाती न चैन

जल्छ जसरी घाम हनन, भुन्छ यो जलेर बाती र मैन

देख्न बुझ्न सम्झन कहाँ सक्छ दिल?, मानवता नभए

फल्छ यसरी दाम खनन , हुन्छ पो छलेर राति त ऐन।

९) मुक्तक

अड्किन्छन् ,कड्किन्छन् ,पड्किन्छन् ,तब सड्किन्छन्

खड्किन्छन् ,छड्किन्छन् ,चड्किन्छन् ,जब भड्किन्छन् 

साँढेको जुधाइमा पेलिन्छन् ठेलिन्छन् के नहोला बाच्छाको,

गड्किन्छन् ,फड्किन्छन् ,धड्किन्छन् ,अब मड्किन्छन्।

१०) मुक्तक

झन् थिएन आशको भर परेर, माया उता पारी, पारेर रमाउन

तन दिएन खासको थर गरेर, छाया यता वारि, सारेर बसाउन

उपदेश नीित संस्कार भक्तमा चिन्छन् ,रातो तातो रक्तमा नाईं

मन लिएन लासको डर भरेर, कायाँ कता झारी, मारेर बगाउन

 -मदन नेपाल (मनीषा मुक्तकसङ्ग्रहबाट) 

प्रकाशित: २५ कार्तिक २०८१ ११:१९ आइतबार