कला

‘स्वरसम्राट नारायणगोपाल’को पोखरा विमोचन

स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक शनिबार पोखरामा विमोचन गरिएको छ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रमबिच ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फडिन्द्र देवकोटा, वरिष्ठ साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, समाजसेवी कर्मकुमारी गुरुङसहित लेखक प्रकाश साय्मिले एकसाथ पुस्तकको विमोचन गरेका हुन्।

पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे। साय्मिले पचासको दशकमा ‘सिमाना’ लगायत चर्चित चलचित्रहरू निर्माण गरेका थिए।

कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्र्तक्रियात्मक संवाद गर्दै लेखक सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे। ‘पुस्तकमा उहाँको बारेमा ९९ प्रतिशत सत्य छ,’ उनले भने, ‘नारायणगोपालको जन्म काठमाडौंमा नभई सिराहामा भएको, उहाँकी श्रीमती पेमलाले आफ्नै श्रीमान्ले गाएको गीत पनि नचिनेको, आफूमाथि आक्रमण गर्नेको नाम गोप्य राखेकोजस्ता विषय पनि समावेश गरिएको छ।’

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए। उनले भने, ‘अनुसन्धानमा समर्पित साय्मिको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए। उनले भने, ‘जगदीश घिमिरेको आत्मवृत्तान्तपछि साय्मिको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रूपमा आएको छ।’

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा साय्मिको योगदान अतुलनीय रहेको बताइन्। त्यसको एक अंश स्वरसम्राट नारायणगोपाल पुस्तक रहेको भन्दै उनले भनिन्, ‘उहाँका कारण नारायणगोपाललाई थप अजम्बरी बनाउन सघाएको छ।’

उनले सायमीलाई पोखरेली भन्न मन लाग्ने र पोखरेली भन्दा गर्व लाग्ने पनि बताइन्।

प्रकाशित: २५ कार्तिक २०८१ ०६:५२ आइतबार

#Federation of Nepal Industry and Commerce #Former Central President Anandraj Mulmi