कला

भगवानकाे पाउमा कहिले फूल कहिले बास्ना

यो पर्वको मौसम हो। फूलको पर्व तिहार भर्खरै सकिएको छ। अर्को महान् पर्व छठ पनि बिदा भइसकेको छ। यी पर्वमा फूलको अत्यधिक प्रयोग हुन्छ। बोटबाट टिपिएका ती फूल भगवान्को चरणमा पुगेपछि के होला त? धेरैलाई लाग्ला, सबै कुहिएर जानेछन्। तर, पख्नुस्, केही भाग्यमानी फूलले फेरि मगमगाउने अवसर पाउनेछन्। यस्तो अवसर जुराएको छ, फूल प्रसाद प्रालिले। करिब ६ वर्षअगाडि स्थापना भएको यो संस्थाले हरेक पर्वको अवसरमा प्रयोग भएका फूल ल्याउनेलाई आकर्षक उपहार दिने गरेको छ।

‘हामी यी फूल बाटेको धूपमा प्रयोग गर्दै आएका छौं,’ संस्थाकी प्रमुख सुषमा शर्माले भनिन्, ‘फूल ल्याउनेलाई यस्तै फूलबाट बनेका विभिन्न सुगन्धित धूप उपहार दिने गरेका छौं।’

केही फरक काम गर्ने उद्देश्यले यो सिर्जनात्मक काममा थालनी गरेको बताउँदै शर्माले यसबाट एक हजारभन्दा बढी महिलाले लाभ लिएको र हाल एक सयभन्दा बढीले काम गरिरहेको सुनाइन्। पर्वबाहेकको समयमा विभिन्न मन्दिरबाट फालिएका फूलहरू प्रयोगमा ल्याउने गरेको उनले सुनाइन्।

मन्दिरमा चढाइएका फूल सावधानीपूर्वक सङ्कलन गरेर उत्पादन गरिन्छ। पुनःप्रयोग गर्न मिल्नेहरूलाई क्रमबद्ध गरिसकेपछि तिनलाई आवश्यक तेलसहित उत्कृष्ट हिमालयन जडीबुटीसँग संयोजन गरेर प्रशोधन गर्ने गरेको शर्माले बताइन्।

पर्यावरणमैत्री धूप उत्पादनमार्फत फोहोर मात्र कम नभएर अर्थपूर्ण उत्पादनमा बल पुगेको उनको बुझाइ छ। ‘मन्दिर पनि सफा हुने, फूलको पुनःप्रयोग पनि हुने,’ शर्माले भनिन्, ‘यसभन्दा राम्रो काम के होला?’ एउटै थुँगा फूल दुईपटक भगवान्को चरणमा पुग्ने उनले सुनाइन्।  

वातावरणीय स्वच्छताका साथै फोहोरका रूपमा फालिने फूलहरूलाई नयाँ जीवन दिन समर्पित फूल प्रसाद प्रालिले कुनै पनि प्रकारको केमिकल कृत्रिम वस्तुको मिलावटबिना शतप्रतिशत प्राकृतिक एवं हानिरहित विभिन्न प्रकारका धूप उत्पादन गर्दै आएको उनले बताइन्।

संस्थाको कामको महत्त्वलाई विभिन्न क्षेत्रबाट सराहना भएको छ। धेरैले यो फरक कार्यको तारिफ गरेका छन्। मन्दिरमा चढाइएका फूल सङ्कलन गरी धूप बनाउँदै आएको फूल प्रसाद प्रालिले १० लाख रूपैयाँसहित यस वर्षको गोपालदास–कमला राजभण्डारी रोटरी भोकेसनल अवार्ड पनि प्राप्त गरेका छ।

संस्थाले केही समयअगाडि नेपालको हालसम्मको सबैभन्दा ठुलो धूप निर्माण गरिसकेको छ। १० फिट लम्बाइ र २५ किलो तौलको उक्त धूप महाशिवरात्रिका अवसरमा यही २०८० फागुन २५, २६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा प्रज्वलन गरिएको शर्माले बताइन्। सोही अवसरमा १४ फिट लम्बाइ र दुई किलो तौलको बाटेको धूप पनि प्रज्वलन गरिएको उनले बताइन्।

धूप उत्पादन पूर्णतः महिलाहरूद्वारा हुने गरेको र यहाँ उत्पादन भएका फूल विदेशमा समेत निर्यात हुँदै आएको छ। ‘विशेषगरी धर्म, कर्म र ध्यानका लागि हामीले उत्पादन गरेका सामग्रीको माग बढेको छ। यो फरक कामको थालनी हो,’ उनले भनिन्, ‘धूपको सुगन्धझैं यो कामको बास्ना पनि सबैतिर फैलिँदैछ।’ 

प्रकाशित: २४ कार्तिक २०८१ ०७:३२ शनिबार

#Festival season # At God's feet sometimes flowers sometimes dwell