कला

थोरै समयमा धेरै सरकार, देख्ने हामी नै हौं!

मुक्तक

१) मुक्तक

कहिले खुसी कहिले चासो सङ्गालेर कुदिरहन्छ जिन्दगी

आफ्नो समयमा अरूकै नासो सङ्गालेर कुदिरहन्छ जिन्दगी

अस्थिर यो जीवनमा सम्झौता लिनुपर्ने, बोली पनि दिनुपर्ने

मन भारीभारी भएर पनि हाँसो सङ्गालेर कुदिरहन्छ जिन्दगी।

२) मुक्तक

मानिसको मलिन अनुहार बताउँछ पिरले

रोकिएको पाइला दुर्गति जताउँछ स्थिरले

जस्तै कठोर बाधा अड्चन आओस् जसै

आँट गरे साथ मिल्छ,रोक्दैन कुनै जन्जिरले।

३) मुक्तक

उदाएको नयन शकुनसित देखें पलपल

हटाउन खोजौं सब किसिमका अलमल

सुविधा लब्ध उपमा, अनुनय शान्त सुषमा

अझै राम्रो पार्ने भनन कसरी होला छलफल।

४) मुक्तक

लक्ष्मी पावन जीवनी ममतामयी आराधना

सन्दर्भको तात्पर्यले बुझोस् सारा सम्भावना

ममताकी खानी एक हुन् भित्री आशय बुझ्ने

झल्कोस् लाभान्वित सन्ततिकै दिव्य चाहना।

५) मुक्तक

किन याद आउँछन् कोही बेखबर भएर हो कि

ठानेँ दिलमा अझै उपलब्धिको असर भएर हो कि

हिउँद न बर्खा निदाउँदिन, आरामले सुत्न पाउँदिन

घाइते हुनुको कारण गहिरो ठक्कर भएर हो कि।

६) मुक्तक

गोरी चट्ट, सफा चट्ट रहेछ जिउडाल बनेकी परी

उड्ने फुर्फुर नाचको चपलता चाला लिएकी चरी

जीवन बुझ्ने हो वा हैन, विनयशील गाम्भीर्य छ छैन,

लक्ष्य परिदृश्य के छ, शिक्षा के छ बताऊ मञ्जरी।

७) मुक्तक

थोरै समयमा धेरै सरकार, देख्ने हामी नै हौं

सुख,दुख अनि पीडा पनि भोग्ने हामी नै हौं

सर्पले जस्तै काँचुली फेरि रहँदा बलियो वा

उस्तै दर्दनाक के के हुने हो सोध्ने हामी नै हौं।

८) मुक्तक

मानिसको जीवनमा प्रभावी वा निष्प्रभावी दुवै विगत हुन्छ

मनमा भरोसाको साथले घत हुन्छ र घातले मर्माहत हुन्छ

जो बुझ्छ सार तत्त्व स्वयं मर्मले,अनि ऊ कुदिरहन्छ कर्मले

जति दुख परोस्, तैपनि सुमार्गको बलियो हिम्मत हुन्छ।

९) मुक्तक 

जसमा सुन्दर बुद्धिले भरिएको विवेक हुन्छ

उसैमा सम्बन्धको अपार खानी, उल्लेख हुन्छ

रहेको मैलो मन फेर्नुहोला,दृश्य पनि हेर्नुहोला

सहयोग गर्नेसँग भित्रैदेखि, मनको प्रवेग हुन्छ।

१०) मुक्तक

दिन, महिना, वर्ष बिते म्याद सारा बोलीले टोपलेर

बाकसमा राखेको उसको इज्जत के लिनु खोतलेर

हुने विरुवाको चिल्लो पात भन्थे, विश्वासले कहन्थे

अरूको समस्या नबुझेर साथ छोड्छन् विष ओकलेर।

- प्रेम थापा मन

प्रकाशित: १८ कार्तिक २०८१ १७:३८ आइतबार