कला

नराख वास्ता मसँग, म त परदेशी!

गीत

१)  नराख वास्ता

नराख वास्ता मसँग, म त परदेशी

आज यहाँ, भोलि कहाँ, म त परदेशी

के गर्नु र दिलको भर पर्नै सकिँदैन

पलमै कसको भइदिन्छ भन्नै सकिँदैन

गाह्रो  हुन्छ धेरैधेरैले स्नेहले बाँधे’सी

नराख वास्ता मसँग, म त परदेशी

घरदेखि कहिले वर, कहिले हुन्छु पर

जहाँ हुँदा नि सम्झिरा’छु, सम्झिरा’छु घर

हिँडिहाल्छु घरतिर म घरले ताने’सी

नराख  वास्ता  मसँग, म त परदेशी।

२) चोटै चोटले

चोटै चोटले भरिएको मेरो दिलमा,

दिलमा आराम छ मलाई तिम्रो महफिलमा।

पत्याइहाल्ने बानीले धोका खाइरहेछु

धोकामाथि धोका मैले पाइरहेछु

धोकै धोका दिनेका भीडमा, भीडमा

आराम छ मलाई तिम्रो महफिलमा।

स्वार्थ लुकेको वचनलाई के मीठो भन्नू

स्वार्थविहीन् वचन भए पो मीठो भन्नू 

स्वार्थै स्वार्थ भएका मान्छेका बीचमा

आराम छ मलाई तिम्रो महफिलमा।

३) यै जन्मका

यै जन्मका कति कुरा बिर्सेको छु मैले

बुद्ध बनेँ पूर्वजन्म भन्न सक्छु मैले।

कति कुर्नुपर्ला कुन्नि अर्को जन्म लिन

कति निन्द्रापछि होला पाइन्छ बिउँझिन

हिजै देखेको स्वप्न त बिर्सेको छु मैले

बुद्ध बनेँ पूर्वजन्म भन्न सक्छु मैले।

अहिलेसम्म कति जन्म लिएँ होला कुन्नि

स्नेह गर्ने मातापिता  कति थिए कुन्नि

याद छैन ती सबैलाई बिर्सेको छु मैले

बुद्ध बनेँ पूर्वजन्म  भन्न  सक्छु मैले।

- वीरेन्द्र पाठक ( पाठककाे लहरी-लहरी गीतिसंग्रहमा संगृहीत।)

प्रकाशित: १७ कार्तिक २०८१ १३:३६ शनिबार

# Muktak # Poem