कला

धन्य फूलको जिन्दगी!

निबन्ध

हठात् हाँगाबाट निमोठिएर। अनायासै घाँटी नै चुँडालिएर। तर रगतको रातो धारो बग्दैन। दुःखले कसैको मन दुख्दैन। अफसोसको कुरा आउँदैन। अपशगुनको बात लाग्दैन।

यो हो, फूल! ढकमक्क फुलेको रूप। एक थुङ्गा फूलमा फक्रिएका जीवनका रङहरू, रूप र रहररू! दुःखलाई छोपेर फुलेका फूलहरू।

धन्य, फूलको जिन्दगी! टाउको काटिँदा पनि मृत्युवरणको शोक सर्वत्र फैलिँदैन। यसरी सदाका लागि घाँटी नै काटिँदा पनि कुनै दुःख नहुनु। कतै, कसैलाई पीडा नहुनु। यो कस्तो मृत्यु हो? निमोठेर छिनिँदा पनि रुवाबासी, शोकसुर्ता केही हुँदैन।

यस्तो मृत्यु पो मृत्यु। टाउको काटिएपछि बल्ल महत्त्व बढ्ने। मरेपछि मृत्युको भाउ बढ्ने।

मृत्यु हुनु त बरु यस्तै फूल जस्तै। मरेर पनि बाँच्न पाउने। इज्जतका साथ स्थान पाउने। बोटबाट फूलका थुङ्गा टिपिएपछि कति धेरै तिनका कामहरू।

कसैको शिरमा चढिनु पनि फूलको कति ठूलो अहोभाग्य। कसैको गलामा शोभा भएर, ढकमक्क फूलबारीमा फुले सरह फुलिरहनु पनि कत्रो ठूलो सौभाग्य!

आखिर फूल फुलेर जिन्दगीको अर्थ यसरी अनेक स्वरूपमा रूपान्तरण हुन सक्दो रहेछ। फूलको बोटबाट विच्छेद भएर अलग्ग भए पनि फूलको सौन्दर्य र सुगन्ध झन् वृद्धि हुँदो रहेछ। फूलको महत्त्व झन् बढ्ने रहेछ।

कस्तो मृत्युवरण फूलको? कस्तो मृत्यु फूलको? अचम्म लाग्छ, फूलको मृत्युमा किन यस्तो उत्सव हुन्छ? फुलिरहेको ढकमक्क फूललाई चटक्कै चुँडालिन्छ। मुन्टो नै निमोठेर जन्मे–हुर्केको ठाउँभन्दा धेरै टाढा पु¥याइन्छ।

यसरी फूललाई बेचेर फर्किने मानिसलाई के थाहा त्यो फूलले कसलाई के ग¥यो? फूलबाट कसलाई के प्रभाव प¥यो?

आखिर फूल फुलाउनेहरूले त त्यसबाट आर्थिक लाभ लिनु न थियो । लिनु त लियो होला बिचराले तर कति नै लियो होला र जाबो फूल बेचेर पैसा!

यसो सोँचौँ न फूल बेच्नेलाई भन्दा बढी फूल किन्नेलाई आनन्द लाग्दो हो।

थाहा छैन टाउको काटेर बेच्नेलाई किन कारबाही हुँदैन? किन त्यही काटिएको टाउकोलाई किन्न मान्छे मरिहत्ते गर्छन्? किन फूलको थुङ्गामा मान्छेका आँखा लोभिन्छन्।

खासगरी तिहारको समयमा यही काटिएको टाउकोको धेरै माग हुन्छ। बिहे, व्रतबन्ध, पूजाआजा वा अन्य कुनै पनि माङ्गालिक कर्ममा यही फूलकै खाँचो पर्छ। फूल नभई हुँदै हुँदैन।

फूलको उपस्थिति नभए संस्कार–संस्कृतिको परम्परागत कर्म नै पूरा हुँदैन। हामी प्रत्येक नेपालीको आस्था–आराधना, विश्वासको विम्ब यही फूल।

सबैको प्यारो फूल। सधैँको माग यही प्रिय फूल।

फूलबाट कति सिक्नु जीवन–दर्शनका कुरा। कसैको आँखामा बिझाउने कसिङ्गर होइन। आँखाको नानी बन्न जानौँ फूल जस्तै भएर।

यसरी कसैलाई नबिझाउने, कसैलाई नदुखाउने प्यारो फूल जस्तै स्वभाव कति राम्रो। सारा रङहरूको साम्राज्यमा मनमौजी उपस्थित फूल। आफूलाई सर्वाङ्ग सौन्दर्यका बिस्कुनहरूमा फैलाएर। चुपचाप प्यासी आँखाहरूलाई तृप्त पारिदिने। प्रिय अति प्रिय फूल तिमी नै हौ।

यही भएर अति आवश्यक वस्तुको रूप तिमी। तिमी फूलले नै हामीलाई सधैँ सौन्दर्यको संवाद गर्न सिकाउँछौ। सुगन्धको जस्तै मिठास बाँड्न सिकाउँछौ।

फूल प्रेरणा पनि हो जीवनको। यौटा पृथक दर्शन हो जीवनको।

वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगुन पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?

त्यसैले सबैको प्रिय फूल। सधैँको उस्तै रूप। फूल नभए कहाँ रङहरू देख्न पाउनु? फूल नभए कहाँ सौन्दर्यका छटाहरू प्रस्तुत हुनु?

फूल भएकैले यी सबै छ। फूल छ र नै हाम्रा मनहरू खुशीमा रमाउँछन्। हाम्रा पर्वहरू उल्लासले उत्सवका रूप लिन्छन्।

फूलको सौन्दर्य र फूलको सुगन्ध मात्र होइन। फूलमा स्वतः देखिने रङहरूको इन्द्रेणी मिलनले बेग्लै किसिमको आनन्द प्रदान गर्छ। मनै रमाउँछ।

जहाँ दुःखहरू भाग्छन्। तनावहरू दूर जान्छन् र खुशीका मिलन सुरु हुन्छन्। अनि हर्षका क्षणहरूले अङ्गालो मार्न आउँछन्।

तथापि त्यही काटिएको फूलको थुङ्गालाई खुशीले किनेर मानिसहरूले त्यसबाट आफ्ना कति मनकामनाहरू पूरा गरे होलान्? त्यसलाई कतै भगवानको शिरमा चढाएर आशीर्वाद लिए होलान्। कतै मायाको माला हुनेर गलाभरि सजाय होलान्! कतै झ्यालढोका कोठाहरूमा सजाएर सुनमा सुगन्धको सौन्दर्य थपे होलान्।

फुलेको फूल सौन्दर्यको एक प्रतीक न हो।

जहाँ मरेपछि झन् उसको सम्मान हुन्छ। जहाँ उसको मृत्युमा खुशीहरू छताछुल्ल हुन्छन्। धन्य फूलको जिन्दगी!

फुल्नु त फूल जस्तै फुल्नु यसरी नै। घाँटी छिनालिएर आफू जन्मेहुर्केको फूलबारीबाट शहर बजारसम्म पुगेर पनि कत्रो इज्जत, कत्रो मान सम्मान!

साँच्चै फूल तिम्रो जिन्दगी धन्य रहेछ।

फूलै फूलको पर्व भाइतिहारको हार्दिक मङ्गलमय शुभकामना!

प्रकाशित: १७ कार्तिक २०८१ १०:४६ शनिबार

# Muktak # Laghukatha # Nibandha