गायक तथा गीतकार रेणु अधिकारी ‘माैनता’ काे राेमान्टिक गीत ‘फूलरानी’ सार्वजनिक भएकाे छ। उक्त गीतकाे म्यूजिक भिडियाे ‘मौनता थापा च्यानल’ बाट सार्वजनिक भएको छ।
विक्रम थापाको मीठाे सांगीतिक धुनमा रेणु अधिकारी ‘माैनता’ र विक्रम थापाले फूलरानी’ गीतमा सुमधुर स्वर दिएका छन्।
वशु खड्का र लक्की जेसिकाको कलात्मक अभिनय रहेको उक्त गीतमा मनाेरम प्राकृतिक दृश्यले भिडियाे हेरिरहूँ लाग्ने बनाएकाे छ।
मध्यपुर म्यूजिक नेपाल, भक्तपुरले निर्देशन गरेको उक्त गीतकाे एरेन्ज विसन मानन्धर रहेको छ।
यसअघि पनि उनले आफ्नै शब्द रहेकाे दुनियाँकाे रीतसँग (२०७४), याे मायाकाे संसारमा (२०७५) र हराएर पिरतीका पन्नाहरू (२०७९) गीतमा मीठाे स्वर दिएकी छन्।
त्यस्तै उनले रेमन्तराज थापाकाे शब्द जानीनजानी (२०७७) मा पनि मीठाे स्वर दिएकी छन्। गरूँ भन्दा पनि नहुने (२०८०) उनकाे गीतमा सन्ताेष प्रगाढकाे स्वर रहेकाे छ।
आफ्नाे बाबा रेमन्तराज थापाले कापीहुँदि लेखेकाे सिर्जनाको प्रेरणाले सानैदेखि साहित्यमा लागेकी स्रष्टा रेणु अधिकारी ‘मौनता’ समाजसेवा तथा साहित्यसेवामा उत्तिकै समर्पित छिन्। उनले ‘कल्पलता’ द्वैमासिक पत्रिकाकाे निरन्तर रूपमा प्रकाशन गर्दै छिन्।
साहित्यका विविध विधामा कलम चलाउने उनका अनुभूति (कवितासंग्रह, २०७६), एक पोल्टाे बादल (लघुकथासंग्रह, २०७९) र अस्तित्वको खोजी (कवितासंग्रह,२०८१) नामक कृति प्रकाशित छन्। कल्पलता (२०७७) र सोपान (२०८०) सामूहिक कवितासंग्रहमा पनि उनका कविताहरू संगृहीत छन्।
प्रकाशित: १६ कार्तिक २०८१ ०८:५२ शुक्रबार