कला

लास पर्दा घाट लैजाला कल्ले बूढाको!

मुक्तक

१) मुक्तक

बदलाव नै यो जिन्दगीको लय रहेछ साथी

मनभरि भ्रम छ यही भ्रम नै भय रहेछ साथी

बेग्लैबेग्लै देख्छु आजभोलि मान्छेहरू यहाँ

आफ्नो बदलाव आफैं देख्नु जय रहेछ साथी।

२) मुक्तक

यो हृदय मुस्कुराउँछ तिमीलाई देखेपछि

छैनौ र पनि देख्छु हृदयमा नाम लेखेपछि

भन न प्रिय तिमी को हौ हृदयमा नाच्ने

छौ र पनि देखिन्न अज्ञान पर्दाले छेकेपछि।

३) मुक्तक

तिमीले बोलाएपछि भीरमा पनि जानुपर्छ

सहयोगमा आइपर्‍यो भने हण्डरै खानुपर्छ

एकदुई पटक आउँछु भन्दै आएनौ त के भो

जिन्दगी तानेर अन्तिम साससम्म लानुपर्छ।

४) मुक्तक

के भनेर बोलाउँदा छिटै आउने हो थाहा पाउनुपर्छ

मिलनका बेला कुन गीत गाउने हो थाहा पाउनुपर्छ

समय बलवान् हुन्छ पलभरमा गुज्रेर जान्छ के गर्नु

कस्तो व्यवहारले दिलमा छाउने हो थाहा पाउनुपर्छ।

५) मुक्तक

छोराछोरी सानो छँदा छाडी बसेँ दूर

सन्ततीले उस्तै आज गरे आफ्नै सूर

हिजो पनि एक्लै भएँ आज फेरि एक्लै

श्रम बिक्यो विदेशमा जिन्दगी भो झुर।

६) मुक्तक

युवा पुस्ता यो देशमा टिक्ने सूर छैन  

श्रम शक्ति यो देशमा बिक्ने सूर छैन

पराइको झिलीमिली छोराछोरी तान्ने

पुर्खाको यो श्रम सीप सिक्ने सूर छैन।

७) मुक्तक

हिजो तिम्रो घोडा बनी गिर्न सकिन कि  

आशा बोकी झोलाभरि फिर्न सकिन कि  

कता गए छोराछोरी खाली भयो देश

दुष्चक्र यो गरिबीको चिर्न सकिन कि।

८) मुक्तक

दोष मेरो हो कि किञ्चित् नीतिनिर्माताको

यो देशको साँचो बोक्ने साझा आमाबाको

हामी भन्छौं फर्कफर्क तिमी फर्कदैनौ

स्वर्गजस्तो देश छोडी कता माया लाको!

९) मुक्तक

लास पर्दा घाट लैजाला कल्ले बूढाको,

रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको।

खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश,  

खिया लाग्दा साँध लाउने कल्ले खुँडाको!

१०) मुक्तक

तिमी पनि ढुङ्गो म पनि ढुङ्गो थिएँ

द्यौरालीमा राखेर पुजें म पनि पुजिएँ

विश्वासको सगरमाथा डुबेकै हो त,

नत्र बेंसी पुगेर फर्कंदा किन गुल्टिएँ!

प्रकाशित: १२ कार्तिक २०८१ ११:२८ सोमबार

# Muktak # Story # Laghukatha Saundarya # Kabita # Nibandha