१) मुक्तक
अड्चन आउँछन् जीवनमा काँडालाई छोड्नुपर्छ
लक्ष्यमा पुग्न सयौं गल्छी र डाँडालाई छोड्नुपर्छ
लडाउने हजार भेटिन्छन् तर हिम्मत नहार्नु,
यात्रामा भेटिएका खराव अखाडालाई छोड्नुपर्छ।
२) मुक्तक
तिम्रो बोलीमा खोट रहेछ श्रद्धा गरेँ भूल गरेँ
धड्कन नै तिमी हौँ भन्यौँ शरण परेँ भूल गरेँ
नजर मनमा हैन धनमा रहेछ जालमा पार्यौँ,
पुर्खाको सम्पत्ति बेचेर शहर झरेँ भूल गरेँ।
३) मुक्तक
उडौं लाग्छ वायुमा, तिमी दिलदार भएपछि
भाँचियोस् हाँगा छैन डर, तिम्रो प्यार भएपछि
किन टिप्न मन लाग्छ, गगन हेरेपछि जूनतारा,
छैन अरू चाह जीवनको, तिमी सार भएपछि।
४) मुक्तक
तस्बिर हेरेको वर्षौं भयो दिलको कुरा केर्नु छ
मन खोलेर तिमीलाई न्यानो अँगालोमा बेर्नु छ
प्रतीक्षाको समय सारै कठिन बन्दो रहेछ प्रिय,
घुम्टोभित्र सजिएको तिम्रो सुन्दर मुहार हेर्नु छ।
५) मुक्तक
बाचाकसम खानेले नै छोडी गएका छन्
मुटु पनि ऐनालाई जस्तै, फोडी गएका छन्
यो फाटेको जीवन सिलाउन म कहाँ जाऊँ,
गोलीले नछेडिने मन पनि तोडी गएका छन्।
६) मुक्तक
मन्दिरमा देवत्व, सहरमा मानवता भेटिंदैन
छैटीमा भावीले लेखेको भाग्य मेटेर मेटिंदैन
घुँडा धसेर जरोकिलो उखल्न लागे पनि,
दीन नलागेसम्म कसैले लखेटेर लखेटिंदैन।
७) मुक्तक
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्
लगानीबिनै लाभ कसरी हुन्छ सिकेका छन्
आफ्नैले आफन्त नचिन्ने मानिसको शहरमा,
सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
७) मुक्तक
जिन्दगीमा उन्नति-प्रगति बेला हुँदै गर्नुपर्छ
भेटघाट रमाइलो चाडपर्व मेला हुँदै गर्नुपर्छ
मनुष्य चोला र समय फेरि फर्केर आउँदैन है,
जे जति गर्नु छ जीवनको खेला हुँदै गर्नुपर्छ।
८) मुक्तक
दुःखको जन्जिरलाई तोडेर निस्कनुपर्छ
अड्चन आएमा बाटो मोडेर निस्कनुपर्छ
प्रगतिमा ईर्ष्या गर्नेहरू प्रशस्त भेटिए पनि,
खुट्टा तान्ने आफ्नै हुन् छोडेर निस्कनुपर्छ।
९) मुक्तक
हाँस्नलाई हाँसेकै छु खुसीले हाँसेको छैन
बाँच्नलाई बाँचेकै छु चयनले बाँचेको छैन
के गरौं देशको अवस्था झन् नाजुक बन्दैछ,
सरकार तमासा देखाइरहन्छ ढाँटेको छैन।
१०) मुक्तक
मायाको भ्रममा पारेको रहेछौ कसरी भर पर्नु
धड्कन अन्तै सारेको रहेछौ कसरी भर पर्नु
अग्निलाई साँची राखी खाएको कसम व्यर्थै,
गोहीको आँसु झारेको रहेछौ कसरी भर पर्नु।
- कृष्ण बजगाई, खाेटाङ ।
प्रकाशित: १२ कार्तिक २०८१ १०:३५ सोमबार