कला

झापामा नेपाल लाइब्रेरी फाउन्डेसनकाे पुस्तक चर्चा

नेपाल लाइब्रेरी फाउन्डेसन, गृहपुस्तकालय अभियान जिल्ला समिति झापाले पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम गरेको छ। कार्यक्रममा स्रष्टाहरूले आफूले पढेका पुस्तकबारे चर्चा गरेका थिए।

नेपाल लाइब्रेरी फाउन्डेसन, गृहपुस्तकालय अभियान जिल्ला समिति झापाका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार हेमनाथ अधिकारीले लार्सोनको ‘अल्फ्रेड नेटवर्क अफ इनोभेसन’, विशिष्ट अतिथिहरू परशुराम पराशरले कवि विमल अर्यालको कवितासङ्ग्रह ‘आवरण’, विन्दु दहाल मुकदर्शकले स्पन्दन विनोदको खण्डकाव्य ‘अविरल’ र शारदा पराजुलीले प्रदिप रत्न शाक्यको कवितासङ्ग्रह ‘म सडकको प्रतिबिम्व ’बारे चर्चा गरेका थिए।

त्यस्तै गरी साहित्यकारहरू ओमप्रसाद खनालले उमानाथ भट्टराईको महाकाव्य ‘अचल’, मेघनाथ बन्धुले निर्मल भण्डारी र मणिराज जोशीको संयुक्त कवितासङ्ग्रह ‘निर्मलमणि’, रामकुमार उपाध्यायले गोपाल गोड्सेको ‘गान्धि हत्या र म’, भगवती दवाडीले कवि ओम खनालको कवितासङ्ग्रह ‘निलो आकाश’, विवेक दुलाल क्षेत्रीले अप्सरा पुडासैनीको संस्मरण ‘कुकुर बेचेर कोसेली’ र विरेन्द्र खड्काले साहित्यिक पत्रिका नवरङ्ग बारे चर्चा गरेका थिए।

ओम खनालका अनुसार कार्यक्रममा साहित्यकारहरू - दुर्गा काफ्ले, गोपाल दहाल, किराँती राजा, वासु काफ्ले र खगेन्द्र भट्टराईले शुभकामनासहित रचना वाचन गरेका थिए। उक्त कार्यक्रम नेपाल लाइब्रेरी फाउन्डेसन झापाका सचिव ओमप्रसाद खनालले सञ्चालन  गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०८१ १०:११ आइतबार