कला

छन्द कवि रोहिणी रसिकको ‘छन्द उपासना’को लाेकार्पण

खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले वरिष्ठ छन्द कवि रोहिणी रसिकको दाेस्राे कवितासंग्रह ‘छन्द उपासना’ को लाेकार्पण गरेको छ।

कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ’मार्सेली’ लगायतले कवितासंग्रहकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

समालोचक छवि वैरागीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले कवितासङ्ग्रहमा सामाजिक विकृतिविसङ्गतिप्रति विद्रोह ओकल्दै सभ्य समाज स्थापनाको पक्षमा सशक्त वकालत गरेका कविताहरूको आधिक्य रहेको बताए। त्यस्तै कविताहरूमा राष्ट्रप्रेम, मानवतावाद र विश्व शान्तिको कामना समेत रहेको उनले चर्चा गरे।

प्रगतिवादी साहित्यकार रूद्र सुवेदीकाे अनुसार पुष्पलाल स्मृति भवन, पुष्पलाल चाेक, विराटनगरमा भएकाे कार्यक्रममा साहित्यकार प्रिन्स प्रमोद ढकाल, चिरञ्जिवी काफ्ले, तुलसी अधिकारी, नारायणप्रसाद पोखरेल, तारा पराजुली लगायतले लाेकार्पित कृतिका कविता वाचन गरेर कार्यक्रमकाे राैनक ल्याएका थिए।

शब्द मिडिया प्रकाशन प्रालि (साहित्यपोष्ट) ले प्रकाशण गरेको सङ्ग्रहमा १२ शास्त्रीय छन्दका ५९ कविता अटाइएका छन्। कार्यक्रममा वक्ताहरूले सङ्ग्रहका कविताहरूले छन्दको मर्यादा पालना गरेको तथा कविले हरेक विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै कवित्व प्रदान गरेकाले सङ्ग्रह पठनीय रहेको बताए।

प्रकाशित: ११ कार्तिक २०८१ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App