कला

तस्बिर बोक्छ जसले युगीन इतिहास!

पुस्तक

नबोक्ने इतिहास तस्बिर हुँदै हुन्नन्। हुन्छन् बोकेकै आफ्नै स्वत्त्व हरेक तस्बिरले। कित्ता आफ्नै। सन्दर्भ नि आआफ्नै। गाइरहेछु अहिले शूरले कुम्ल्याएर चिन्तनको धार। बोकेर आफ्नै तारका। धारबिनाका शूर र बिनाधारका शूर हुन्छन् नै कहाँ ? शूरबिनाका मानिस–मानिस बिनाका घार सम्भव कहाँ हुँदा हुन् ! अनुमान बाहिरका बन्छन् हनुमान्।

पौराणिकतामा हनुमान प्रतीक बने–बनाइए। प्रतीक पौरुषको। पौरख्याइँ पुरुष–नारीका समकक्षी समान साझेदारी सम्पदा। हुन् साझेदारी हाम्रा समाज–संस्कार आआफ्नै पारिवारिक परम्पराअनुरूप। ठान्छौं–मान्छौं कुलायन कर्म–धर्म, धर्म–कर्म, सत्कम–स्वधर्म। जुम्ल्याहा बन्छ चेत यो। बोक्छ यसले इतिहास। युगीन इतिहास। इतिहास बनेर बोक्छ युग। युग बोक्दो इतिहास बन्छ युगसापेक्ष। भन्नु युगसापेक्ष युगले देखेभोगेका जीवनका खुड्किलाभरिका मोड अनि मोडभरिका खुडकिलाहरू।

यी गठनभरिका सन्दर्भ अनि सन्दर्भभरिका गठनका मर्म ‘बघेनी’ कथावस्तुका। ‘बघेनी’ कथा अनेक सन्दर्भमूलक व्यथाका अनुभूति ! अनि अनुभूतिपूर्ण व्यथाका अभिव्यक्ति। सङ्कलित सँगालो भोगाइहरूका। परिदृश्यात्मक लेखन–कथात्मक। कतै जीवन्त कथाका हिचकिचाहटहीन मुक्तकण्ठका कथन। छन् कोरिएका जहाँ कुष्ठाहरू इमानधर्म साथका मार्मिक अभिव्यक्ति। वाचन गर्न सकिन्छ।

अनुभूति आफैंद्वारा सिञ्चन गर्न जमर्किएँ। धृष्टता आफ्नै। क्लेशका गन्ध–स्वाद चाखिनँ, भेटिनँ। अन्तहीन यात्राका जीवन्तता यस्तै हुन्– लेखन अभिव्यञ्जनाका पाइलाहरू। मतापमा लुखुरलुखुर अजम्बरी ! प्रसाईं इन्दिरा उनैका।

इन्दिरा–निर्भीक चेतात्मा। बनेका छन् ‘बघेनी’ सङ्ग्रहमा प्राक्कथन कथाभन्दा अघिको कथामा। वैचारिकताका खेमा सीमाहीन त हुँदै हुन्। सीमाहीनताबोधले अँगाल्छ निर्भीकता। निर्भीकताले अनन्तता, अनन्तताले स्वच्छन्दता। स्वच्छन्दताले विचरणका खेमा। राजनैतिक खेमा अनि सीमापारि। परम्परामुक्ति धाम। नौला  नौला परिधान।

परिधानले स्वरूप फेर्छ। फेर्ने त परिधानिक महात्म्य ! प्रसाईंको लेखनशैली जीवनका चैतन्य चोलाकै परिधान आफ्नै। ‘कथाभन्दा अघिको कथा’ पढेपछि सतर्क रहें। ‘के कसैले पढ्दै पनि छ... झोलाभरि उपहार दिएका दिएका किताब पुस्तकालय हुनेले पनि झोलै नखोली वर्षौं थन्क्याएर राखेको पनि देखियो।’ (बघेनी १५–१६ पाना) पाठक जगत्लाई झकझकाउने साहसिलो लेखन ! त्यस घरानमा पर्न नचाहेरै कनिकुथी गरेँ। स्वीकारोक्ति यो। ‘तिम्रो खुसी मोमिला’ कथा पढ्ने उत्कण्ठा ! जलप दिएर अभिव्यक्त्याउने सिप र साहसका सहेली नै लाग्छ। कोभन्दा को कम ! तँ छाड् म छाड अभिव्यक्तिको सिप ! सिपको प्रजनन शैली ! शैलीले सजिएका अभिव्यक्ति दौंतेरी। केको ढुकचुक यसमा !

बघेनी कथाका ‘कथाभन्दा अघिको कथा’ पाना २३ मा अभिव्यक्त आफ्ना मनोगत उत्कण्ठा व्यक्तिएका छन् अनि छुट्टै पाराले रचिएका छन् ‘बघेनी’का कथाहरू। (पाना २३) कथावस्तुभित्र पात्रहरूबीच अलापबिलापको संवाद प्रायः भेटिन्न झैं नै लाग्छ। औपन्यासिक पारामा प्रलम्वित कथा प्रसाईं इन्दिराका निजत्व औगात भरिका सौगात ठान्छु मान्छु।

प्रत्येक पाठकको स्वकीय धर्म बन्छ, बनेकै हुन्छन्। निर्विवाद सत्य। वैयक्तिक विचार धारणाका स्वतन्त्र खेमा। छायावादी अभिव्यक्ति ‘स्पष्ट वक्ता सुखिभवेत्’ उक्ति कति ठ्याम्मै सार्थक हुँदा हुन्। विवेच्य छन्। मनोगत विषयात्मक चिन्तन धार...।

१११११ पाँच भनौं पाँचवटा १। शीर्षक अनौठो। सायद पढेकै पहिलो पटक। आश्चर्यजनक ! खुल्दुलीयुक्त ! के हो ? के हो ? भेउ पाउनै मुस्किल। पाँच पटक १११११ ! अनौठो प्रयोग। ठानेँ प्रयोगको अन्तर्य मनहीन कसरी हुन्छ ? आतुरीसाथ धैर्यधारण गरी पढ्दै बढेँ। बढ्नु पढ्नु नै बन्यो। कौतूहलभित्र आतुरपन। आतुरपनले उत्कण्ठा, उत्कण्ठाले जिज्ञाशा। जिज्ञाशाले जन्माउँछ– उत्कण्ठा। उत्कण्ठाले चिन्मय चिन्तन। चुर्मुनिँदै मनमय दृष्टि लगाउँदै कुदेँ एकान्तमा। आनन्दले अंकमाल गर्दाको अनुपम अनुभूति आल्हादमक बन्दोरैछ ! अनुभूतिसार प्रयाण ! ठमाइ यो कमाइ आफ्नै।

कथाभित्र जीवन यथार्थ नेपाली समाज, प्रशासनिक परिधान, राष्ट्र निर्माण अभियान, भ्रष्टाचार, अनैतिक आर्जनका केस्रा केसा केलाइमा प्रसाईं पोख्त प्रवीण झल्झलिन्छ। कथासार भनौं यथार्थमा १ शम्भुराम, १ निर्जला, १ रजनी, १ रघु, १ रमेशनाथ इन्दिराका कथा बुनाइका पात्र। पाँच १ का लहरे समष्टि शीर्षकको गर्भगाथा !

‘सोझो हातले घिउ आउँदैन’ नेपाली उखानको मर्मभेदी बनेको कथावस्तु मार्मिक ! रमेशनाथ द्वितीय श्रेणीका नेपाल प्रशासनिक सेवाका अधिकृत। अनेकन प्रकारले जीवन गुजारा गर्दा सत्पात्र ! शम्भुराम अर्थ सचिवका आडभरोसाका नायब सुब्बा ! भ्रष्टाचारका स्रोत शृङ्खला चित्रण गर्न इन्दिरा प्रसाईं सार्थक !

रमेशनाथकी आफ्नै जीवनसँगिनी निर्जला, छोरी रजनी, छोरा रघु सबै घुसखोर शम्भुराम हिमायती बन्न पुगेको कथावस्तु ताŒिवक बनेको पाएँ। युग अर्थमुखी बनेको, द्रव्यपिपाशु बनेको मार्मिक चित्रण कथावस्तुको ताŒिवक मर्मचित्रले सार्थकता कुम्ल्याएको पाएँ।

विश्वबीचका कथालाई छालाङिएर अन्तिम कथाकारितामा चुर्लुमिन पुगेँ। अभिव्यक्ति, सिप इन्दिरा प्रसाईं दह्रो पारामा मजबुत हुनु सबैका लागि गर्विलो छ भन्छु। जे होस्, यही कुप्रे बुढ्यौली सोचमा पत्याउनु नपर्ने वैयक्तिक स्वछन्दता कहाँ विलुप्तिन्छ र ? लोकमत कहाँ समान पाइन्छ ?

उकुचको जलप मनोविज्ञान अध्येता वर्ग रमाएर विश्लेषण गर्दा छन्दमा उनिएको पाएँ। पाठक जगतको सार्थकताप्रति प्रतिबन्ध नलगाउनु कलम धर्मीको सद्विवेक मान्नुपर्छ नै।

गार्हस्थ्य जीवन परिपालन गर्ने इच्छा बिमुखिएर अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अभिमुख बन्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो। थाहा हुँदाहुँदै तिनका आन्द्राभुँडी होमिनुपर्ने परिस्थिति ! विडम्बनापूर्ण बाध्यता ! अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छ्यापछ्यापिएर देश हविगत भोगाइमा बल्झिएको अन्तर्भेद खुल्दुलीलाग्दो कथासार ! घतलाग्दो कथाका व्यथा मार्मिक !

उकुचकथा गर्भाधान– पृष्ठभूमिदेखि निदानसम्मैका मर्माहत नारीवर्गका वेदना उकुचका अन्तर्य ! कथा वाचन गर्दै जाँदा कथाकार आफ्नै हविगत ओकलिरहेको मानसिक भान पर्छ। यथार्थ त अन्तक्रियाका सहभागीहरूका वैयक्तिक वेदना व्यक्त्याइ संकलन। ल्यापटप निकाली कम्प्युट गर्ने तरखरमा पाठक झल्यासिन्छ। कथाकारिताको सिपमा पाठकीय अनुभूति बन्यो यस्तै यस्तै।

‘बघेनी’ कथासङ्ग्रहले तेह्र भिन्नभिन्न कथा सङ्गृहीत गरेको छ। वाचन गरेका सम्पूर्ण कथाका रौनक सिप, कला, महिमा, शौरभ आआफ्ना कोटीका छन्। एकदेखि अर्का कलाका शिलान्यास सौरभ आआफै वर्चश्वशाली पाएँ। कुनै कथाकारिता निर्बन्ध निबन्धकारिताका जलपमा टल्किएका। कुनै नारकीय, कुनै औपन्यासिक बान्कीमा महकिन्छन्। कथामा निबन्धकारिता छनक भेटिन्छन्। पाठकका पाठकीय क्षमताभित्र टल्किएका हुन्छन्। यो बैंसको शिथिल बसिबियाँलो यस्तै रह्यो।

प्रकाशित: १० कार्तिक २०८१ ०९:२५ शनिबार