कला

कवितामा चित्र कोर्दै कलाकार

कवि र चित्रकारबीच के भिन्नता छ भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भने, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत।”

भावनाको कलात्मक सङ्गम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा १५ कविका विभिन्न शीर्षकका कवितामा १५ चित्रकारले प्रत्यक्ष रूपमा क्यानभासमा चित्र कोरेका छन्।

चित्रकार खनालले कवि मणि लोहनीको ‘जन्मस्थल’ शीर्षकको कवितामा चित्र बनाउँदै भने, “कविले शब्दमा जे भन्न खोजेको छ, त्यही भाव चित्रमा फरक शैलीले आउन सक्छ। यसलाई नै शब्द र रङ्गमार्फत व्यक्त सिर्जना भनिन्छ।”

चित्र कोर्नुअघि पाँच पटकसम्म कविता पढेर त्यसको भाव महसुस गरेको उनले बताए।

कविता अनुसार मिल्ने र सुहाउने रङ क्यानभासमा खनालले उतारेका हुन्। उनको चित्र कोर्ने शैली अमूर्त हुन्छ। जहाँ कुनै आकृति हुँदैन मात्रै रङले भाव पोख्छ। खनालले बिनाआकृति कविताको मर्म र भाव उजागर गर्न प्रयत्नशील रहेको उल्लेख गरे।

नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले साहित्य र चित्रकला बीचको सिर्जनात्मक भावना जागृत गराउन एकदिने कार्यशाला आयोजना गरिएको बताए।

कार्यशालामा कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र  शलभ, विधान आचार्य, स्नेहा, सायमि, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा चित्रकार किरण मानन्धर, केके कमचार्य, रमेश खनाल, दिनेश्वर महतो, अरुणा हिङमाङ, सौरगङ्गा दर्शनधारी, सन्तोष राई, दिपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले, सञ्जय वान्तवा, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, सुन्दर लामाले चित्र बनाएका हुन्। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र एपेक नेपालले एक दिने कार्यशाला आयोजना गरेको हो।  

प्रकाशित: ९ कार्तिक २०८१ १३:३९ शुक्रबार

# Poem # Nepal Lalitkala Pragyapratisthan # Creative spirit between literature and painting #APek Nepal # Abstract style