कला

अध्यात्मयात्रा गराउने पुस्तक ‘अमरभूमि’ सार्वजनिक

हिमाली अन्वेषक एवम् ग्रामीण विकास अभियन्ता जिग्मे लामा (नरबहादुर) काे अमरभूमि लोकार्पण भएको छ। ‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका लामाको पुस्तक ‘अमरभूमि’ले मुक्तिमार्ग देखाएको छ।

प्रकाशक बुक्स हिमालयले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, बौद्ध दर्शनका विद्वान मिलन शाक्य, साहित्य पोस्ट डट् कमका सम्पादक अश्वीनी कोइराला, खेन्पो कर्मा राग्पे, लेखक जिग्मे र प्रकाशक पवन शाक्यले पुस्तक लोकार्पण गरेका हुन्।

उनीहरूले अध्येता जिग्मेको आध्यात्मिक यात्रासंस्मरण पढ्नेहरूको चेतनाको द्वार खुल्ने चर्चा गरे। हिमाली जीवनशैली, बौद्ध दर्शन र कर्णालीको भूगोल बुझ्न जिग्मेको पुस्तक आँखीझ्याल बनेको टिप्पणी गरिएकाे थियाे।

पुस्तक लोकार्पण गर्ने अतिथिहरूका साथै शिक्षक धनबहादुर लामा र लेखक जगबहादुर बुढाले पनि पुस्तकको प्रशंसा गरेका थिए। उनीहरूले यो पुस्तकको अंग्रेजी संस्करण निकाल्नुपर्ने सुझाएका छन्।

हुम्लाको सिमकोट गाउँपालिका-३, लिमाटाङ जन्मेहुर्केका ४७ वर्ष जिग्मे पर्यटन व्यवसायी हुन्। ग्रामीण विकास अभियन्ता जिग्मेको यो पुस्तक सन १९९० को दशकको कर्णाली क्षेत्रको सामाजिक, आर्थिक परिवर्तनहरूको पृष्ठभूमिबाट सुरु हुन्छ।  त्यसै सिलसिला यात्राका पात्रहरूले आठाैं शताब्दीमा भविष्यवाणी भई पुनः हराएको कुनै सुखमय भूमि, बेयुल वा शाम्बाला  यात्राका अवशेषहरू भेटाउन पुग्छन्– एक गोप्य भूमि अनि गुमनाम यात्रीहरू जो हराउँदै इतिहास अनि कथा भैसकेका थिए। त्यही दिगो सुख र शुद्ध भूमिको खोजलाई पच्छ्याउँदाको यात्रा वृतान्त हो, अमरभूमि।

प्रारम्भिक अध्यायहरूमा लेखकले हुम्ला र कैलाश क्षेत्रको भूगोल यात्रा पहिल्याउँदै, समाजमा विकास र समृद्धिको समाधान खोज्दै हिंडेका छन्। पछिल्ला अध्यायहरूमा चिन्तनमा गहिरिंदै विगत, वर्तमानका सिद्धहरू, तिनको उपदेश, यात्रावृतान्तहरू पहिल्याउँदै बाह्य संसार र भित्री चेतनाको सम्बन्ध, नालिवेलीहरू केलाएका छन्।

भूगोल, इतिहास, आध्यात्मिकताको यो सगोल यात्रा अघि बढाउँदै निखारिएको दृष्टिमा सुखी समाज र शुद्ध भूमि वा नयाँ परिवेशमा वेयुल, शाम्बाला, सांंग्रिलाको द्वार खोल्ने प्रयास गरेका छन्।

‘अमरभूमि’ हिमालय क्षेत्रको विशेष भूगोल, विविधता, समृद्ध चिन्तन परम्पराको चित्रण अनि दिगो सुख,समृद्धिको विशेष यात्रा वृतान्त हो। वास्तविक अनुभव, अनुभुतिहरूमा आधारित वृतान्त जसले पुरातन ज्ञान र समसामयिक चुनौतीहरूलाई एकसाथ बुन्ने साहस गरेको छ। साथै स्वहित र परहित, विगत र वर्तमान बीचको पुल बन्ने साहस गरेको छ।

ललितपुरको बुक्स हिमालयले प्रकाशन गरेको पुस्तकको मूल्य ७ सय रुपैयाँ राखिएको छ। पुस्तकको बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत गृह जिल्ला हुम्लाको स्वास्थ्य क्षेत्रमा लगानी गरिने छ।

प्रकाशित: ६ कार्तिक २०८१ १३:५५ मंगलबार