कला

सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा

भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न। संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ। यी सबै भाषामा पत्रकारिता भइरहेको छ। संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग गरेर नै सञ्चार कर्म भइरहेको छ।

मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो। नेपालका हकमा राष्ट्रको सम्पर्क भाषा नेपाली र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अङ्ग्रेजीका अन्य विभिन्न जातीय र भाषिक समुदायले बोल्ने राष्ट्र भाषामा पत्रकारिताको अभ्यास भइरहेको छ।

नेपालका लागि मातृभाषा पत्रकारिताका जन्मदाता धम्र्म आदित्य धम्र्माचा्र्य (धर्मादित्य धर्माचार्य–जगत्मान वैद्य) हुन्, जसले प्रवास भारत कोलकातामा रहेर नेपाल भाषामा नेपाल संवत् १०४५ (विसं १९८१) मा ‘बुद्धधम्र्म व नेपालभाषा (नेपालिज)’ पत्रिका प्रकाशन गरे, जसका प्रकाशकमा नेपाल बुद्धधम्र्म उद्धार सङ्घ थियो।

धर्माचार्य नै सम्पादक रहेको सो पत्रिका उद्धार सङ्घको धम्र्मप्रचारपत्र तथा बुद्ध धर्म, बौद्ध साहित्य र सभ्यता तथा नेपाल भाषा साहित्यमण्डलको मुखपत्र नै थियो। त्यसपछि सत्यमोहन जोशी, आशाराम शाक्य, फत्तेबहादुर सिंह, नवोनाथ झा नवीन, पण्डित सुन्दर झा शास्त्री आदिले नेपालभाषा, मैथिली आदिबाट मातृभाषामा पत्रपत्रिका प्रकाशन गरी मातृभाषा पत्रकारितालाई अगाडि बढाएको इतिहास पाइन्छ।

तर, मातृभाषामा पत्रकारिता फस्टाउन नसकेको तीतो यथार्थ हामीसामु छ। मातृभाषामा प्रकाशन भइरहेका सञ्चारमाध्यमको मुख्य समस्य भनेका समाचार सामग्री हो। मातृभाषा बोल्न सजिलो छ तर मातृभाषा पत्रकारिता गर्न जटिल विषय हो। पत्रकारिता एक प्राविधिक विषय भएकाले जनशक्ति पाउन मुस्किल छ।

राष्ट्रिय समाचार समिति (रासस) ले ६३ वर्ष अगाडिदेखि नेपाली सञ्चारमाध्यमलाई समाचार सामग्री उपलब्ध गराउँदै आएको छ। तर राससको समाचार पनि नेपाली र अङ्ग्रेजी भाषामा मात्रै सीमित थियो। मातृभाषामा प्रकाशन र प्रसारण भइरहेका सञ्चारमाध्यमलाई राससको सेवाले खासै सहयोग नपुग्दा कतिपय ती सञ्चारमाध्यम बन्द भएका छन् वा बन्द हुने अवस्थामा पुगेका छन्।

मातृभाषामा प्रकाशित र प्रसारण भएका सञ्चारमाध्यमको विकास र संरक्षण गर्ने दायित्व राज्यको पनि हो। स्वभावैले रासस राज्यको अङ्ग हो। त्यसैले ती सञ्चारमाध्यमलाई जोगाउँदै मातृभाषाको पत्रकारितालाई विकास गर्न राससले मातृभाषामा समाचार सेवामार्फत सानो प्रयास थलानी गरेको छ। हाल मैथिली, नेपालभाषा र अवधी भाषामा समाचार सेवा दिइरहेको राससको यो प्रयासले सञ्चारमाध्यमलाई बचाउन टेवा पुग्छ भन्ने विश्वास छ।  

नेपालको संविधान २०७२ ले नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ। संविधानको यही मर्म अनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ।

संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरूको हो। त्यसैले राससले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकारी आफ्नो दायित्व निर्वाह गरिरहेको छ। यही कारण रासस स्थापना भएको ६३ वर्षपछि नयाँ सेवाका रूपमा मातृभाषाको समाचार सेवालाई थप गरेको हो। २०८० माघमा अवधी भाषाबाट सेवा सुरुआत गरेको राससले २०८१ असोज २९ गतेदेखि मैथिली र नेपाल भाषामा समाचार सेवा सुरुआत गरेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय ४२ जातजाति,  एक सय २४ मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ छन्। मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २.९६ प्रतिशत अर्थात् आठ लाख ६४ हजार दुई सय ७६, जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ।

मध्यपूर्वी तराईमा बोलिने मैथिली भाषा ११.०५ प्रतिशत अर्थात् ३२ लाख २२ हजार तीन सय ८९ जनाले बोल्छन्। त्यस्तै, नेपाल भाषा २.९६ प्रतिशत अर्थात आठ लाख ६३ हजार तीन सय ६८ जनाले बोल्छन्। यी तीनवटै भाषामा पत्रपत्रिका र अनलाइन न्युज पोर्टल नियमित सञ्चालनमा छन्।

भौगोलिक क्षेत्रअनुसार रेडियो र टेलिभिजनले समेत समाचार र कार्यक्रम सञ्चालन गरिरहेका छन्। सञ्चारमाध्यम सञ्चालनको हिसावले यी तीनवटै भाषामा प्रकाशन हुने सञ्चारमाध्यमको सङ्ख्या पनि धेरै रहेको छ।

राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ भन्ने हाम्रो विश्वास छ। मातृभाषामा समाचारले आम नागरिकलाई प्रभावकारी सूचना प्रवाह गर्न, भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने हामीलाई लागेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुनै पनि भाषा ५० प्रतिशतभन्दा बढी बोलिँदैन। नेपाली भाषा सबैभन्दा बढी ४४.८६ ले मात्रै बोल्छन्। यो तथ्यले नेपाल अल्पभाषिक समुदायको देश हो भन्न सकिन्छ। देशको जातीय र भाषिक विविधता छ। त्यसैले सञ्चारमाध्यममा पनि भाषिक विविधता छ। यही कारण राससले सञ्चारमाध्यममा बहुलवादलाई स्वीकार गरी मातृभाषामा समाचार सेवा सञ्चालनमा ल्याएको हो।

सञ्चारमाध्यमको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब सञ्चारमाध्यमको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकारेका हौं। राससको यो सानो कार्यले नेपाली भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै भाषामा सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्नेछ भन्ने हाम्रो निष्कर्ष हो।

राससले स्थापनाकालदेखि नै सरकार र जनताको पुलको रूपमा काम गरिरहेको यहाँहरू सबैलाई जानकारी नै छ। ६३ वर्ष लामो राससको इतिहासमा विभिन्न कालखण्डमा राससको सेवामा परिमार्जन र परिस्कृत गर्ने कार्यहरू हुँदै आएका छन्।

समयानुकूल सेवा क्षेत्रको विस्तार र नयाँ प्रविधिको प्रयोग गरी अविछिन्न रूपमा क्रियाशील रहँदै आएको छ। राज्यको अधिकारिक एक मात्र समाचार एजेन्सीका रूपमा रासस २०१८ फागुन ७ गते निरन्तर क्रियाशील छ।

‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्र अनुसार राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण गरेर राससले अलग्गै पहिचान बनाएको छ।

आजको ‘डिजिटल’ युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भव प्रयास गरिरहेको छ। राससले आफूले दिने सेवालाई विविधीकरण गर्दै लगेको छ। राससले नेपाली र अङ्ग्रेजी भाषामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सेवा, आलेख, विचार, फोटो, भिडियो र अडियो सेवा सञ्चालन गर्दै आएको थियो। पछिल्लोपटक राससले मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ।

राससले आर्थिक वर्ष २०८१/८२ को सुरुआतदेखि नै नयाँ योजनासहित कार्य गरिरहेको छ। यसै सन्दर्भमा राससको समाचार सेवाको समयसीमा १७ घण्टाबाट बढाएर २४ घण्टा पुर्‍याएका छौँ। यो कार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन महिनाभित्र गर्नुपर्ने काममध्ये एक थियो, जुन कार्य राससले तोकिएकै समयमा २०८१ भदौ १७ गते औपचारिक शुभारम्भ गरी पूरा गरेको छ।

अर्को कार्य भनेको रासस सञ्चारमाध्यम सङ्ग्रहालय हो। रासस कार्यालयको दुईवटा कोठामा, राससले प्रयोग गरेका पुराना सञ्चार सामग्रीहरु र समाचार बुलेटिनसहितको सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ।

राससले आफ्नो सेवालाई विविधीकरण गर्ने क्रममा २०८० पुस २३ गतेदेखि अवधी भाषामा मातृभाषा समाचार सेवा सञ्चालनमा ल्याएको थियो। यो सेवालाई विस्तार गर्ने क्रममा आज मैथिली र नेपाल भाषामा पनि समाचार सेवा शुभारम्भ गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा यो सेवा सुरुआत गरेको हो। यो कार्य पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन महिनामा गर्नैपर्ने कार्यमध्ये एक थियो। यसरी राससले नेपाल सरकार, सूचना प्रविधि मन्त्रालयको योजनाअनुसार तोकिएकै समयमा काम सम्पन्न गरेको छ।

विविधतामा एकता कायम गर्न राससले सुरुआत गरेको मातृभाषा समाचार सेवाले स्थानीय सञ्चारमाध्यमलाई सहयोग गरी भाषाको संरक्षण गर्न टेवा पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय नयाँ प्रविधिको विकासले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको छ।

विश्वस्तरीय समाचार एजेन्सीका रूपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ। त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले केही योगदान गर्छभन्दा फरक पर्दैन।

राससको मूल कार्य समाचार सङ्कलन र सम्प्रेषण नै हो। राज्यको आधिकारिक सूचनालाई सञ्चारमाध्यममार्फत जनतासम्म पुर्‍याउने र जनताको विचारलाई राज्यसम्म पुर्‍याउने पुलका रूपमा राससले भूमिका निर्वाह गरिरहेको छ।

राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदारका रुपमा राससले पहिचान बनाएको छ।

हिजो थोरै सञ्चारमाध्यमका लागि अति आवश्यक रहेको राससको समाचार सेवा आज आएर सबै सञ्चारमाध्यमका लागि अपरिहार्य बनेको छ र बन्दै गएको छ। हिजो राससको सेवा खासै प्रयोग नगरी आफ्नै क्षमतामा समाचार उत्पादन गर्ने सञ्चारमाध्यमले समेत अहिले राससको सेवा लिएका छन्। यसो भन्दैमा राससले अहिले गरिरहेको कार्य मात्र पर्याप्त छ भन्ने होइन, परिवर्तित सन्दर्भमा प्रविधिको अधिकतम् उपयोग गरी छिटो, सत्यतथ्य सूचना आम जनतामा पुर्‍याउन राससले धेरै गर्न बाँकी छ। आगामी दिनमा क्रमशः यसमा सुधार हुँदै जाने नै छ।

(लेखक राससका महाप्रबन्धक हुन्।)  

प्रकाशित: ५ कार्तिक २०८१ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App