कला

रुख

कविता

पातहरू सुकेपछि झर्दैनन् 

उड्छन् हावाले जता लैजान्छ उतैतिर

सुकेपछि आफ्नै शक्ति पनि

आफूसँग हुँदैन

आफ्नै गति पनि आफूसँग हिँड्दैन

सुकेपछि सबैथोक उस्तै हुन्छ

सुकेपछि सबै पात उस्तै भए जस्तै

अँध्यारोमा सबै मान्छे उस्तै देखिए जस्तै।

मान्छेलाई पनि खुब डर लाग्छ

सुकेर पातजस्तै भइएला कि भन्ने

हावाले लगेतिरै पुगिएला कि भन्ने

र एक्लो पो बनिएला कि भन्ने

जसरी बन्छ जवान रुख पनि एक्लो

बुढो हुँदै र सुक्दै जान थालेपछि।

रुखमा पनि जीवन हुन्छ

मान्छेमा जस्तै

त्यसैले त जीवन हुनेसँग डर हुन्छ

बढ्दा बढ्दै ढलुँला कि भन्ने

हिँड्दा हिँड्दै गलुँला कि भन्ने

तर डरलाई पनि छिचोलेर

जो हिँडिरहन्छ÷जो बढिरहन्छ

ऊ सहासी बन्छ

जसरी बन्छन् कोहीकोही मान्छे साहसिक

जसरी हुन्छन् कुनैकुनै रुख सतिसाल।

तर सुकेर ढल्नै लाग्दा पनि

यो बुढो रुख

आफूलाई एक्लो ठान्दैन

भन्छ–

आफ्नै वरिपरि उम्रदै गरेका बिरुवा

र हुर्कंदै गरेका पोथ्राहरूले

एक्लो हुनै दिँदैनन्

सँगै उम्रन र बढ्न जानियो भने

बोटबिरुवा मात्र होइन

मान्छे पनि एक्लो हुँदैन

उज्यालो त सबैलाई सबैको लाग्छ

तर यहाँ त

अँध्यारो पनि एक्लो छैन

सुनसान र निष्पट रातसँग

कोही नहिँडे पनि

कोही नबोले पनि

मधुरो नै किन नहोस्  

अँध्यारोसँग पनि ताराको प्रकाश हुन्छ । 

प्रकाशित: ३ कार्तिक २०८१ १०:४९ शनिबार

# Muktak # Laghukatha # Poem