कला

नेपाल प्रहरीद्वारा स्रष्टा घनबहादुर थापा पुरस्कृत

प्रहरी नारा छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल स्रष्टा घनबहादुर थापा नेपाल प्रहरीद्वारा पुरस्कृत भएका छन्।

६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरले थापालाई २० हजार रुपैयाँ नगद पुरस्कार र कदरपत्रद्वारा सम्मान गरे।

नेपाल प्रहरीले आफ्नो ६९औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित खुला देशव्यापी ‘प्रहरी नारा (Slogan)छनौट प्रतियोगिता’ आयोजना गरेको थियो। जसअन्तर्गत ‘साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका’ र ‘नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भूमिका’ गरी दुई विषयमा अलगअलग  दुई नारा लेखिएको हुनुपर्ने थियो।

नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी प्रहरी नारा रचना गरिएको भन्दै थापाका दुवै विषयका दुवै नारा प्रथम भएका हुन्। सर्वोत्कृष्ट प्रहरी नारा साइबर सुरक्षातर्फ  ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ छन्।

साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भएका छन्। उनका एकल तथा सङ्‍युक्त गरी छ पुस्तक र पाँच सयभन्दा बढी लेखरचना प्रकाशित छन् भने ‘तिमीलाई नै’ गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी महानिरीक्षक कुँवरले सम्मानित सबैलाई बधाई दिँदै यसबाट सबैलाई प्रेरणा मिल्ने बताए।

वरिष्ठ प्रहरी अधिकृत एवम् जवानहरूको उल्लेख्य उपस्थिति रहेको विशेष समारोहमा नेपाल प्रहरीसँग सम्बन्धित विविध विषय र विधामा समेत विभिन्न महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले अलङ्‍कार, पुरस्कार र कदर(पत्र वितरण गरेका थिए।

प्रकाशित: ३० आश्विन २०८१ ०८:५२ बुधबार

# Nepal Police # Creator Ghan Bahadur Thapa Awarded #First in Police Slogan Selection Competition # IGP BasantBahadur Kunwar