कला

जनकवि दुर्गालाई श्रेष्ठलाई सम्मान

भक्तपुरमा जनकवि दुर्गालाल श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ।

जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने उद्घोषका साथ सोमवारदेखि भक्तपुरको कमलविनायकमा सुरु भएको ४४ औँ नेपाल भाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) को क्रममा उनीहरुलाई सम्मान गरिएको हो।

उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।

जनकवि श्रेष्ठका साथमा सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति पनि सम्मानित भएका छन्। त्यस्तै समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी पनि सम्मानित हुने जनाइएको छ।

तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएकोमा यसवर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले जनाए।

सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनको निम्ति आवाज उठाउँदै आएको तःमुंज्या यो वर्ष पनि असोज २८ र २९ गते दुई दिन चल्ने उनले जनाए। यो दुई दिनको क्रममा साहित्य सम्मेलन तथा सांस्कृतिक कायक्रमका साथ हुने जनाइएको छ।

साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ स्थित लाँम्हुग (लामगााल) टोलमा बिहान ११ बजे सुरु भएको थियो। सम्मेलनको उदघाटन विहान स्थानीय सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले गरे।  

पहिलो दिनको सम्मेलनको सभापतित्व इन्जिनियर एवं उपप्राचार्य रत्नशोभा प्रजापतिको सभापतित्वमा भयो। दोस्रो दिन मंगलबारको सभापतित्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले गर्ने कार्यक्रमा तय भएको आयोजकले जनाएको छ।

सम्मेलनमा पुराना तथा नयाँ नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफनो कविता, कथा र निबन्ध वाचन गर्ने छन्। बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफनो अनुभव र ज्ञानबारे जानकारी दिनेछन्।

यस क्रममा पहिलो दिन सोमवार साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिनालगायतले पनि मन्तव्य राखे। यस्तै पूर्र्व न्यायाधिस गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठलगायतले पनि मन्तव्य राखे।

सम्मेलनको पहिलो दिन नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले सम्मेलनका विषयमा चर्चा गरे। दोस्रो दिन भोलि तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ। सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मानन्धरले धन्यवाद तथा कोषाध्यक्ष नातिभाइ ह्योम्बाले भोलि आय–व्यय प्रस्तुत गर्ने कायृक्रम रहेको जनाइएको छ।

सम्मेलनको क्रममा दुवै दिन विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुने जनाइएको छ। सम्मेलनमा स्वागत गीत राजेश हाडाको लयमा रवि हाडा, लक्ष्मण पलिखेल र अन्य साथीहरूको स्वरमा भएको थियो।

प्रकाशित: २८ आश्विन २०८१ १७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App