कला

नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैं!

मुक्तक

१) मुक्तक

बोल्नु नै छ यहाँ उखानटुक्कामै रमाएको छु

वर्षौदेखि तिनीहरूको मुक्कामै रमाएको छु

एक गाँस र ओखती बन्न सकेन लोकतन्त्र!

यही स्वतन्त्रता नामको फुक्कामै रमाएको छु।

२) मुक्तक

अपराध अनि विकृतिलाई पछार्न आओस् दसैँ

अत्याचारी र दुराचारीलाई झपार्न आओस् दसैँ

सत्यको जीत भएको इतिहास पढेका छौँ हामी

नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैँ।

३) मुक्तक

नाक वा कान समाए एकै जहाँ समाए पनि हुन्छ

पैसाकै महिमा छ हजुर जसरी कमाए पनि हुन्छ

बाआमा जसरी बाँचून् किन मतलब राख्नुपर्‍यो

साइबर संस्कृति मान्ने हामी जहाँ रमाए पनि हुन्छ।

४) मुक्तक

पहिला डाँडीमा आनन्द लिन्थे अहिले गाडीमा जप्छन्

पहिला गुन्यूमा पहिचान हुन्थे अहिले सारीमा टप्छन्

समय बदलियो र हाम्रा परिधान पनि बदलिंदै गए,

पहिला बारीमा पसिना बग्थे अहिले खाडीमा बग्छन्।

५) मुक्तक

घाँस काट्न छाडियो दाउरा काट्न छाडियो

डोकाडालाहरू बुन्न र नाम्ला बाट्न छाडियो

हामी स्वयं सम्पन्न बनेको भ्रममा बाँचेका छौं

दुखसुख बाँड्न अनि भावना साट्न छाडियो।

६) मुक्तक

अहिले खर्च गर्न घाँटी हेर्नु पर्दैन

वर्षमा एकचोटि कपडा फेर्नु पर्दैन

हुनेखाने भएका छन् सबै नेपाली

पर्व मनाउन एक दिन मात्र कुर्नु पर्दैन।

७) मुक्तक

सञ्जालका मित्रहरू नाम मात्रका हुन्छन् 

जीवनमा अनुकरणीय काम पात्रका हुन्छन् 

गुनासो किन गर्ने र बुझक्कडसँग ए हजुर,

गाँठी कुरा हो सम्बन्ध आफ्नै सूत्रका हुन्छन्।

८) मुक्तक

यत्रतत्र गरिबी व्याप्त छ सरकारले जिम्मेवारी किन लिएन

अनाहकमा विदेशमा मर्दै छन् जनता रोजगारी किन दिएन

समाजलाई तोड्न होइन जोड्नलाई चाहिएको हो सरकार

एकता र सद्भाव सबै भाँडिएको छ समझदारी किन सिएन!

९) मुक्तक

फल्नो गयो भन्दाभन्दै आफ्ना पनि गए

बुढेसकालका रहर अनि स्वप्ना पनि लए

कहाँसम्म कहर काट्नुपर्छ नेपालीले!

स्वदेश बसून् नाना कुरा यत्न पनि भए।

१०) मुक्तक

साँच्चै उनलाई दमाहा बजाउन पनि सुहाउँछ

दौरा अनि सुरुवालमा सजाउन पनि सुहाउँछ

परिस्थिति हर्दैनन् भोलिको कुरा केही देख्दैनन्

सर्म लागेमा आफैसँग लजाउन पनि सुहाउँछ।

प्रकाशित: २८ आश्विन २०८१ १४:०७ सोमबार

#Muktak # Laghukatha # Dasain