दशैं, कसैको हर्षको चाड हो भने कसैको विस्मतको चाड बनेको छ। कसैका लागि दसैं दशा बनेको छ भने कसैका लागि उमंग बनेको छ। चाहे जे होस, नेपालीहरूको महान पर्व दसैं हो। यो हरेक वर्ष १५ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइन्छ। यो भेटघाटको पर्व हो। नजिक्याउने चाड हो। कामको सिलसिलामा टाढाटाढा गएर बसेकाहरू दसैंमा घर जाने दिन गन्दै, सामान किन्दै, योजना बनाउँदै महँगो टिकट काटेर आफन्तलाई भेट्न र दुखसुखका कुरा बाँड्न घर जाने दिन सम्झँदै योजना बनाई घर हिँडिरहेका यात्रुहरूको चाड हो दसैं। त्यसैले दसैं नेपालका सबै जात, वर्ग र धर्मका लागि महत्त्वपूर्ण पर्व र चाड हो। मैले यो लेखमा मेरो मनमा पटकपटक आइरहेका चार कुरा उल्लेख गर्दै छु,
१) पारिवारिक उद्वेलनहरूः
बुढापाकाहरू माया उँधो हुन्छ भन्थे हो रछ जस्तो लाग्छ। सबैका आआफ्ना दुख र पीडाहरू छन्। जेनेरेसन ग्याप (पुस्तान्तरण) को कारण समाजमा चाडवाडको बेलामा खुशी सँगसँगै विरमाइलो पनि हुँदो रहेछ। कसैले देशका बाबुआमा र आफन्त छोडेर विदेशमा भएका छोराछोरी भेट्न जानु छ भने कसैले गाउँमा भएका बुढा बाउआमा छोडेर शहरमा भएका आफ्ना छोराछोरी भेट्न जानु छ। मनमा कुण्ठा बोकेर जीवनयापन गर्नुपरेको छ।
कोही मानिसहरू बाउआमासँग बस्न नपाएकोमा दुखित छन् भने कोही छोराछोरीसँग बस्न नपाएकोमा दुखित छन्। कसैलाई प्राकृतिक विपतले भेटन दिएको छैन। मुटुमाथि ढुङ्गा राख्दै मानिसहरूले चाड मनाइरहेका छन् भने टाढाटाढा बसेका आफ्न्तहरू समय निकालेर आएका कारण खुसीयाली साटासाट पनि त भएको छ। स्थानीय सरकारहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर दशैँको र चाडवाडको शुभकामना आदानप्रदान गर्ने थिति बसाएका छन् भने त्यसैले यो पुरस्कार प्राप्त गर्ने कार्यक्रम पनि हो।
२) सामाजिक सञ्जालले पारेको प्रभावः
सामाजिक सञ्जालमा आएका दशैंका टीकाटिप्पणी हेर्ने हो भने यसका पक्ष र विपक्षमा बहसहरू भइरहेका छन्। टीकाको बहस छ। कसैले काला टीका लगाएर विरोध गरेको देखिन्छ भने कसैले टीका नलगाएर विरोध गरेको देखिन्छ। सेता, पहेंला र राता टीका लगाउनेहरूको संख्या धैरे छ। यहाँ टीका लगाउनेहरू पहिचान विरोधी र टीका नलगाउनेहरू पहिचान पक्षधर भनेर आवाज उठेको सुनिन्छ।
मेराे एउटा साेधाइ छ-को हुन पहिचान पक्षधर र को हुन पहिचानको विपक्षी? सबैको आफ्नो पहिचान छैन र? केही साथी सामाजिक सञ्जालमार्फत पहिचानको नाम दिएर विरोध गरिरहन्छन्।
हुन त त्यो पनि उनीहरूको अधिकार होला। म त्यो कुरा त जान्दिनँ किनकि म सबै भाषा धर्मको जगेर्ना हुनुपर्छ भन्ने मान्छे हौँ र म सम्मान गर्छु। यहाँ राई, मगर, गरूङ, तामाङ, शेर्पा लगायतका जातहरूले दसैं मान्नुभएको छ भने बाहुन, क्षेत्री, नेपाली, विक, दर्जी लगायतका जातले हिन्दू धर्म छोडी क्रिचियन धर्म मान्न सुरू गरेकाले दसैं मान्न छोड्नुभएको छ। मष्टो धर्मावलम्वी वा संस्कृति मान्नेले पनि दसैं मानेका छन् साथै बौद्ध धर्मावलम्वीहरूले यो चाडको सम्मान गर्नुभएको छ। तर, सामाजिक सञ्जालका कुरा हेर्ने हो भने धर्मको नाममा कुनै दिन युद्ध हुने त होइन भन्ने देखिन्छ। तर, जे होस् सामाजिक सञ्जालमा पनि दसैंका फोटाहरू त रङ्गिएका त छन् नि। कसका कत्रा बोका, खसी, सुँगुर, राँगा, कुकुरा, हाँस रहेछन् भन्ने कुरा ककसको दसैं राम्रो रहेछ भन्ने थाहा पाउने साधन सामाजिक सञ्जाल वनेको छ। हरेक पक्षको संस्कार र संस्कृतिबारे जानकारी पाइएको छ।
३) धार्मिक आस्थाः
नेपालमा बस्ने आम नेपालीले दसैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिएका छन। देवीले शुम्भ र निशुम्भ जस्ता राक्षसहरूलाई जिती घोर सङग्रामयुक्त लडाइँ हुँदा पनि देउताको पक्षवाट जिती देउताहरूको हक र अधिकारको संरक्षण गरेको कुरा सुनी नव दुर्गा भवानीको पूजाआराधना गरिएको छ। यहाँ कुनै जातमाथि युद्ध जितिएको हो भनेर उल्लेख गरेको छैन। दसैंसँग सम्वन्धित धार्मिक पुस्तक चण्डीमा देवीले दानवमाथि विजय गरेको उल्लेख छ। दसैं कहिलेदेखि मनाउन थालियो? सायद यसको लामो इतिहास छ। यो अध्ययन र खोजको विषयवस्तु हो। यसमा लेखिएको श्लोकः
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वाधा नमस्तुते” यो श्लाेकले कुनै जातजाति माथिको विजय प्राप्त भनेको छैन। शत्रुको नाश गर्न बल मागेको उल्लेख छ। यसमा महिलावादी चिन्तनको उल्लेख गरिएको छ। शक्ति सम्पन्न र बहादुर महिला थिए जो देवीको रूपमा प्रकट भएर यो ब्रम्हाण्डको रक्षा गरेका थिए।
यो हाम्रो विश्वास हो। भरोसा हो जुन कुरा जकडिएको छ भौतिकवादी भन्दैमा हट्दैन। हामीलाई हाम्रो संस्कार, धर्ममा विश्वास छ त्यो सजिलै हट्दैन। कहिलेदेखि आयो र कहिलेसम्म चलिरहन्छ त्यो हामी सत्तरी वर्ष आयु हुने प्राणीले भन्न सक्दैनौँ। तर, जे होस निरन्तर चलिरहने छ र चलिरहेको छ।
४) दसैं र सामाजिक विपत्तिको दशाः
यस वर्षको दसैं केही कष्टकर बनेको छ। दसैं जस्तो महान चाडको बेलामा देश बाढीपहिरोको चपेटामा रूमलियो। यो विपत्तिको कारण धेरै मानिस आफ्नो घर जान सकेनन् भने कतिलाई परिवारबाट टाढा बनाइदियो। कतिको बस्ने वास, अन्न भण्डार, वर्षौ लगाएर कमाएको सम्पत्ति सबै चकनाचुर पार्याे।
समग्रमा २०८१ साल यसपालिको दसैँ धेरैका लागि उल्लासमय बन्न सकेन। किनकि कसैले परिवार गुमाउनुपर्यो कसैले धनसम्पत्ति गुमाउनुपर्यो, कति टुङ्गामा पुग्न सकेनन्, कतिको जग्गाजमिन बगायो, विपी लोकमार्ग लगायत धेरै लोकमार्ग बन्द भए।
यही बीचमा दुर्घटनाहरू भए जसको कारण दसैं उल्लासमय बन्न सकेन। बालबालिकाहरूका विद्यालय बगे, कितावहरू बगे र भिजे। यो विपतले कसैलाई गरिव बनायो भने कसैलाई जीवनभर उक्सिन नसक्ने बनायो। हाम्रो वारिपारिको सम्बन्ध गाँस्ने पुलहरू बगे।
अब थाहा छैन कति लाग्छ बन्न। यस्तो कठोर परिस्थितिमा पनि आफन्तहरूको हातवाट टीका लगाउन र आफन्तलाई सम्झेर मानिसहरू कुम्लाकुटुरा बोकेर जानु चानचुने कुरा होइन। यी विविध कारणले पनि दसैं विविधता बीच एकताको पर्व हो। यो सबै प्राकृतिक विपतको पनि बेवास्ता गर्दै मान्छेहरू आफ्नो थलामा दसैं मान्न गैरहेका छन्।
निष्कर्ष
दसैं महान पर्व हो। यो आस्थाको धरोहर हो। असत्यमाथि सत्यको विजय भएको हर्षोल्लासमा मनाउन शुरू गरिएको पर्व हो। यो एकताको पर्व हो। टाढिएकाहरूलाई नजिक्याउने पर्व हो। यो भेटघाटको पर्व हो। यो खुशी र उमङ्गको पर्व हो। लिङ्गे पिङको लठ्ठाको डोरीको सम्बन्ध जस्तै र रोटे पिङको उहाँहरूको एकता भए जस्तै। जसरी रोटेपिङको पिरालाई चुकुलले अड्याएको छ त्यसैगरी दसैंले पनि हाम्रो आस्था र विश्वासलाई अड्याएको छ। यो मानव सृष्टि रहुनजेल अडिरहने छ।
धर्ममा कर्म पनि जोडिएको हुन्छ। धर्मको माध्यमबाट कर्मको फल प्राप्त गर्न सकिन्छ भन्ने जनविश्वास छ। हिन्दूहरूको पर्व भए पनि अन्य धर्मावलम्वीहरूले पनि यसलाई उतिकै महत्त्व दिएर सम्मानपूर्वक मान्ने गरेको पाइन्छ। पारिवारिक उद्वेलनहरू भुलाउने पर्वको रूपमा र समय व्यतित गर्ने माध्यमको रूपमा दसैं रहेको छ।
क्यालेण्डर प्रकाशन हुनेबितिक्कै सुरूमा दसैं कहिले रहेछ भनेर हेरिन्छ र सँगसँगै अरू पर्वहरूबारे पनि हेरिन्छ। यसले राजनीतिसँग जोड्दैन। जुन दलले पनि दसैं मान्न हुन्छ। त्यसैले दशैँ जस्तो महान पर्वमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने प्रचलित वाक्य सहित मेरो छोटो लेख यहिं अन्त्य गर्दछु।
( प्रधानाध्यापक, श्री शारदा मावि खार्पा, खोटाङ।)
प्रकाशित: २८ आश्विन २०८१ ०८:४७ सोमबार