कला

नेपाल आउँदै जुबिन नौटियाल

एन–अटिजम केयर फाउन्डेसनको आयोजनामा भारतीय गायक जुबिन नौटियालले राजधानीको हायात रिजेन्सी ग्राउन्डमा कन्सर्ट गर्ने भएका छन्। 

फाउन्डेसनकी अध्यक्ष रमिला श्रेष्ठले भारतीय गायक नौटियालले आगामी मंसिर २९ गते नेपालमा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको जानकारी गराइन्।

‘अटिजम बालबालिकाको सहयोगार्थ भारतीय गायक नौटियालले आगामी मंसिर २९ गते नेपालमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै छन्,’ फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले भनिन्, ‘उनको कन्सर्टबाट संकलन रकम फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ।’ 

अटिजम भएका व्यक्तिहरूको पहिचान, हेरचाह र शिक्षामा समर्पित सो फाउन्डेसनले अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई व्यापक सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ।

‘युवा पुस्तामा चर्चित भारतीय गायक जुबिन नौटियालको प्रस्तुति र अटिजमसम्बन्धी जनचेतना तथा सहयोगको लागि सुरु गरिएको यस अभियानले सांगीतिक उत्सवमार्फत दर्शक तथा स्रोतालाई यसबारे बुझ्न सहयोग गर्नेछ भन्ने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘कन्सर्टले अटिजम भएका व्यक्तिहरूको पहिचान, हेरचाह र शिक्षादेखि अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई व्यापक सहयोग र हौसला प्रदान गर्नेमा आशावादी छौं।’ भारतीय गायक नौटियालका ‘रात लम्बियाँ’, ‘जिन्दगी कुछ तो बता’ र ‘तु सुरज में साँझ’लगायत गीत चर्चामा छन्।

प्रकाशित: २३ आश्विन २०८१ ०८:४१ बुधबार

#jubin nautyal