कला

फाटेको मनमा नुनचुक लाउन दसैं किन आउँछ?

मुक्तक

१) मुक्तक

फाटेको मनमा नुनचुक लाउन दसैँ किन आउँछ?

भगवान् हामी अभागीलाई सताउन दसैँ किन आउँछ?

न त आफन्त छन् न त परिवार छ  न त आमाबाबु छन्,

हामी टुहुरा बालकलाई रुवाउन दसैँ किन आउँछ?

२) मुक्तक

मेहनत गर्नमा पाइला चाल जीवन जिउन सहज हुन्छ

असल काममा हामफाल जीवन जिउन सहज हुन्छ

समाजमा बसेर एक अर्कादेखि रिसराग पाल्नुभन्दा,

बाख्रा पाल कुखुरा पाल जीवन जिउन सहज हुन्छ।

३) मुक्तक

पैसाको लोभले गलत काममा अघि सर्नु हुन्न साथी

परिवारलाई चिन्ता हुने कामको पछि पर्नु हुन्न साथी

घरमा रात दिन बेकारको अशान्ति, हुलदंगा मच्चाइ,

जिउँदै आमाबुबालाई मार्ने काम कहिले गर्नु हुन्न साथी।

४) मुक्तक

सत्संग, सत्कर्म गरौँ किर्तनभजन गाउँ त्यही नै धर्म हो

आराधना गरी भगवानको शरणमा जाउँ त्यही नै धर्म हो

जिउँदो भगवान् आमाबुबा हुन् संसारमा सबैभन्दा ठुला,

सास रहुन्जेल मीठो बोलौँ चिन्ता नगराउँ त्यही नै धर्म हो।

५) मुक्तक

आफ्नो खुसीको खबर सुनाई हँसाउन सकेनौँ भने

एकदिन पनि आमाबुबाको मन बुझाउन सकेनौँ भने

तिमीले पो जीवनमा खुसी कसरी पाउन सक्छौ छोरा

जन्म दिने आमाबाबुलाई नै खुसी बनाउन सकेनौँ भने।

६) मुक्तक

कहाँ थियौ नेताहरू खोलाले मान्छे बगाइरहेको बेला

पानी पारेको बेला बाढी आएको बेला देश रोएको बेला

बस भगवान् पुर्कानबाहेक केही अरू विकल्प थिएन

घरभित्रै पानी पसेर हामी जनता डुवानमा परेको बेला।

७) मुक्तक

किन सधैं पापी सोच बनाउनुहुन्छ मूर्ख मान्छेहरू?

मलाई हान्ने कुट्ने धम्की सुनाउनुहुन्छ मूर्ख मान्छेहरू?

कसैलाई मारेको छैन कसैको कुभलो चिताएको छैन,

सित्तैमा मसँग रिस गरेर के पाउनुहुन्छ मूर्ख मान्छेहरू?

८) मुक्तक

जाउजाउ पापी यहाँ के गरेको छौ गाउँघर छोडी जाउ

उतै घरजम बसाल है छेपारो भ्यागुतोसँग मायाप्रेम लाउ

मैले लेखेका रचनाहरूले गाउँमा  बस्नै गाह्राे भयो भन्नेहरू,

बाँदर, बँदेल, स्यालसँग जंगलमै बसेर कन्दमूल खाउ।

९) मुक्तक

तिमीले जीवनमा के राम्रो गरेको छौर खुसी पाउँछु भन्छौ!

तिर्थधाम जान्छु अब म धर्मकर्म गर्छु पुण्य कमाउँछु भन्छौ!

आज बा वृद्धाश्रममै बित्नुभो कठै दागबत्ती समेत पाएन,

तिमी कुलङ्गार विदेशमा बसेर खै कसरी पो रमाउछु भन्छौ!

१०) मुक्तक

सहरमा हुर्केकी रहेछ्यौ तिम्रो रहनसहन मन पर्दैन

हिंडाइबसाइ खवाइलवाइ बोलीवचन झन् मन पर्दैन

रुप राम्रो छ भन्दैमा म तिम्रो नजिक हुन सक्दैन जुनेली,

मलाई तिम्रो  बानीव्यवहार उत्ताउलो पन मन पर्दैन।

-पारस भट्ट प्यासी

प्रकाशित: २१ आश्विन २०८१ १३:३७ सोमबार

# Poem # Story