कला

औषधिको अभावमा अकाल मरण हुन्छ भने!

मुक्तक

१) मुक्तक

चाँदनीभित्र टलक्क टल्किने टहक हराएको छ

मनै लोभ्याउने कैलाश पर्वतको महक हराएको छ

कुनै सूक्ष्म वचन त लगाइनौ पार्वती तिमीले कतै?

शिवको शिरकी चन्द्रमा मलिन छिन चहक हराएको छ।

२) मुक्तक

कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने

फुक्का जीवन बोकेर यसै जिउन पनि नमिल्ने

थोत्रा पुराना भैसके जिन्दगीका धेरै पानाहरू,

आकर्षक गातो हालेर सिउन पनि नमिल्ने।

३) मुक्तक

न यसमा झार उम्रिन्छ, न बोट लाग्छ

बरु झ्याउ पलाएर नानाथरी खोट लाग्छ

टाकुराको पत्थर समान भयो यो जिन्दगी मेरो

अनायासै गुल्टियो भने कतै अरूलाई चोट लाग्छ।

४) मुक्तक

हिमाल जस्तो उच्च विशाल वक्ष भयो भने

इमानदार राष्ट्रवादी पक्ष-विपक्ष भयो भने

विकासमा वास्तुको अड्चन नहोला साथी

चट्टान समान मजबुत लक्ष भयो भने।

५) मुक्तक

कुबेलामा घण्टी बज्दा पर निन्द्रा जाग्न सक्छ

अर्कालाई गोली ठोक्दा आफैलाई लाग्न सक्छ

सोचेर मात्रै कदम अघि बढाउनु है साथी

बाजलाई तर्साउँदा परेवानै भाग्न सक्छ।

६) मुक्तक

सुरक्षाको सवाल आउँदा त्वां शरणं हुन्छ भने

औषधिको अभावमा अकाल मरण हुन्छ भने

यस्तोलाई कुन दर्जाको शासन भनौँ साथी!

खुला रूपमै प्रजातन्त्रको चीरहरण हुन्छ भने।

७) मुक्तक

पर दबाबको प्रमुख पक्ष आपसी छिद्रता रहेछ

अवनतिको मुख्य कारण वैचारिक दरिद्रता रहेछ

वैमनस्य द्वन्द र अशान्तिको कारक हो भने प्रभु!

शान्ति र सन्तुष्टिको वाहक समादर र मित्रता रहेछ।

८) मुक्तक

हुन त दागै नभएको मान्छे कतै भेटिंदैन

शरीरमा दाग छ भन्दैमा कोही लखेटिदैन

कपडाको दाग त धोएर जान सक्छ मित्र!

चरित्रको दाग भने जीवनभर मेटिदैन।

९) मुक्तक

आफ्ना अतीतको विजय गाथा पढ्दैछु

छातीमा देश राखेर अगाडि बढ्दैछु

कलमको इमानदार सिपाही पोहुँ म

कागजमा तरबार बनाएर लड्दैछु।

१०) मुक्तक

देवस्थलमा पुगेपछि नक्कली जटा पाल्ने

प्रीतिभोजमा सामेल हुँदा दाह्रीजुँगा फाल्ने

यो त औसरवादी प्राणीको नियति हो साथी

चिप्लिएर नदीमा खस्यो भने नुहाइहाल्ने।

( मुक्तकमणिका सारवत मुक्तकसंग्रहमा सङ्गृहीत।)

प्रकाशित: २० आश्विन २०८१ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App