कला

‘साइनो’ संस्कृतिबारे अलिकति कुरा, केही रचना!

साइनाे

‘साइनो’ नेपाली लोक चलनले हुर्काएको सैना शब्दको विकसित रूप हो। गण्डकी प्रदेशमा प्रचलित सैना शब्द साइनु र साइनो हुँदै प्रयोगमा आएको छ। यसको शाब्दिक अर्थ नाता सम्बन्ध हो। पछिल्लो समय यसले साहित्य सिर्जना साइनो कवितालाई पनि चिनाउँदै आएको छ।

साइनो कविता नेपाली साहित्यको मौलिक संरचना हो। यसको संरचना र स्वरूपले नेपाली भाषा संस्कृतिको प्रतिनिधित्व गरेको छ। यसले जीवनको समग्र अभिव्यक्ति दिन सक्छ। यसको सात, आठ र नौ अक्षरी संरचनामा ७= सात बार, ८= आठ दिशा, नौ= नवरस र ७,८,९ को संयोग-२४= ले चौबिस घण्टाको समय जनाउँछ भने तीन शब्दगुच्छा /पङ्क्तिले प्रात, मध्याह्न र सन्ध्या तीन प्रहरसँगसँगै तराई पहाड हिमाल तथा सत,रज,तम तीन गुण बताउँछन्।

यिनै बलिया विशेषता साइनो विशुद्ध नेपालीपन लिएर जन्मेको कविता हो भन्ने प्रामाणिक आधार हुन्। यो साझा साहित्यिक सम्पदाको संरक्षण र विकासको दायित्व हामी नेपालीकै हो।प्रस्तुत छन् केही रचना: 

१) साइनाे

गतिशील छ मान्छे

जिताउँछ कर्मयोग

शक्ति दिन्छ आत्मविश्वास।

२) साइनाे

भोक बाँच्दै झोपडी

महल थप्छ महल

गुपचुप छ कमिसन?

३) साइनाे

वीणाहीन भो मृग

उर्लंदो छ महामारी

सास फेर्न देऊ मलाई ११

४) साइनाे

निजी सिर्जना सूत्र

कविता साइनो मिठो

रूप छोटो स्वाद नेपाली! 

५) साइनाे

चुनौती खेप्छ मान्छे

वरिपरि विघ्नै विघ्न

घरै लुक्छ अन्तरघात?

६) साइनाे

मनभरि कल्मष

तनभरि छ दुर्गन्ध

शिर खेलाउँछ सकुनि?

७) साइनाे

विवेक बेच्ने होड! 

कसको छ ठुलो खुवाँ! 

जनता झुक्याउने झेल! 

८) साइनाे

राखौं मन नजिकै

भौतिक दूरी अवश्य

सुरक्षित हौँ  स्वस्थ रहौं! 

९) साइनाे

यो पदप्रेमी मान्छे

राजनीतिक छहारी

भड्खालोमा देश-जनता!!

१०) साइनाे

खेलाडी यो सकुनि! 

दम्भ-डाडु चलाउँछ

घुस-जुसमा रमाउँछ?

११) साइनाे

भन्डारे उनै भान्छे

काला मन सेता मान्छे

कत्रो मुख? देशै अटायो!!!

१२) साइनाे

बुद्धिमा लायो बिर्को

नेता लुट्दै छन् धुकुटी

गुटले खायो राजनीति?

१३) साइनाे

यो बेमौसमी दाइँ

निमुखा बाच्छा मिचिए

हारविना साँढे जुधाइ?

१४) साइनाे

उस्तै छ भोक-पीडा!

पिटिराछ महामारी

सजिन्छ भित्तो मर्छ मान्छे!!!

१५) साइनाे

खै पुगेको कुराले!

थालौं काम छाडौं गफ

मिलाअौं हात चालौं खुट्टा!

१६) साइनाे

सिङ्गै मान्छे भन्दै छ!

मलाई बाँच्न मन छ!

कति कठोर धनी मन?

१७) साइनाे

मनभरि  कल्मष

तनभरि छ दुर्गन्ध

शिर खेलाउँछ सकुनि?

१८) साइनाे

यो पराइ खटन!

घर भत्काउँछ झुन्ड

स्वार्थले थिचिएको मान्छे?

१९) साइनाे

इमान लछारियो

नैतिकता बिक्री भयो

मान्छे विवेक शून्य भयो?

२०) साइनाे

मान-सान-इमान

खाइरन्छ रातदिन

भोकले रुन्छ आजीवन!!!

२१) साइनाे

मजदुर दिवस

सङ्घेशक्ति कलौयुगे

लिनैपर्छ समान हक।

२२) साइनाे

कमिसन खेलाडी

राजनीतिक बितन्डा

सत्ता केन्द्र सकुनि खेल?

प्रकाशित: २० आश्विन २०८१ ११:२४ आइतबार