कला

अच्छा राई रसिक साहित्य प्रतिष्ठानले गर्‍याे इटहरीमा तीन स्रष्टालाई सम्मान

तीनजना विशिष्ट साहित्यकारलाई शनिबार इटहरीमा सम्मान गरिएको छ। अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीले साहित्यकार दिनेशकुमार थपलिया, बलरामप्रसाद पोखरेल र वम देवानलाई सम्मान गरेको हो।

सम्मानित तीनै जनालाई २५/२५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन्। संस्थाले सुरुवातदेखि नै साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई वर्षेनि सम्मान गर्दै आएको छ।

स्वर्गीय कवि जीवी लुगुनको पहलमा स्थापना भएको साहित्यिक संस्थाबाट यसअघि कलाकार विक्रमश्री, साहित्यकार डा. नरेन्द्र चापागाईं, भाषाशास्त्री भानुभक्त पोखरेल, साहित्यकार भूपाल राई, साहित्यकार प्राध्यापक रामलाल अधिकारी, साहित्यकार शुभ मुकारुङ, पत्रकार प्रतिभा विवश राई, साहित्यकार उपेन्द्र पागल, साहित्यकार अनिल पौडेल, संगीतकर्मी सुरेश गन्धर्व, साहित्यकार ज्योति जंगल र साहित्यकार वियोग सापकोटालाई सम्मान गरिसकिएको छ।

संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले साहित्यिक संस्थाले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गराउने खालका कार्यक्रम गर्न पनि सुल्झाए। ‘पछिल्लो पुस्ता प्रविधिमा अब्बल छ तर मोबाइलमा मात्र व्यस्त हुँदा विकृति पनि निम्तिने गरेको छ,’ उनले भने, ‘यसतर्फ साहित्यिक संस्थाले ध्यान दिनुपर्ने आवश्यकता छ।’

 उनले कोसी प्रदेश सरकारले यस वर्ष लगानी सम्मेलन, चिया सम्मेलन र वैशाखदेखि पर्यटक भित्र्याउन पर्यटन वर्ष मनाउने जानकारी दिँदै यी कार्यक्रमले महत्त्वपूर्ण उपलब्धि हुने जिकिर गरे। उनले कोसी प्रदेश सरकारले निर्यात बढाउने र आयात प्रतिस्थापन गर्ने ढंगले काम गरिरहेको जनाए।

प्रकाशित: २० आश्विन २०८१ ०८:०२ आइतबार

# Itaharima Samman #Achcha Rai Rasik Sahitya Pratishthan Itahari