१) मुक्तक
आफ्नै पौरखको भरमा कोही जीवन सुधार्न खोज्छन्
लालची, ईर्ष्यालुहरू अरूलाई सधैँ तल झार्न खोज्छन्
परिश्रम बेचेर स्वाभिमानी, आत्मनिर्भर बन्नेलाई यहाँ
कोखिलामा छुरी बोकी कोही बाहिर ठिक्क पार्न खोज्छन्।
२) मुक्तक
समान सृष्टि गरेको छ प्रकृतिले कसैलाई भेद छैन
विभेद गर्नुपर्छ भन्ने लेखिएको दस्तावेज वेद छैन
आस्था, श्रद्धा र ज्ञानको भण्डार वेदमै नभएको कुरा
विकृति बनाएर भित्र्याउँदा समाजलाई खेद छैन।
३) मुक्तक
पीडा र यातना लुकाएर भित्रभित्रै जल्नुपर्छ नारीले
पितृसत्ताको कुकृत्य इशारामा सधैँ चल्नुपर्छ नारीले
धर्तीको शालीनता आकाशको विशालता भए पनि
बाध्य भएर समाजको बेथितितिर ढल्नुपर्छ नारीले।
४) मुक्तक
विश्वास र भरोसा गर्न सके मातृभूमि नै संसार हो
पौरखको बल र पैतालाको भर जीवन किनार हो
सुनचाँदी, हिरामोती सबै फल्छ यहीँ उर्वर भूमिमा
पोखौँ श्रम आफ्नै देशमा बाँच्ने प्रमुख आधार हो।
५) मुक्तक
कुविचार, कुभावनालाई जीवनबाट पर सार्नुपर्छ
सुविचार र आशीर्वचनलाई सधैँ शिरोपर पार्नुपर्छ
मानवीय चरित्र र गुण महान सम्पत्ति हो मान्छेको
रिसराग,अहङ्कार,बैगुनलाई पैतालामुनि झार्नुपर्छ।
६) मुक्तक
अहङ्कारले भलो गर्दैन आफ्नै हृदय फुट्छ विचार गर
राम्रो सम्बन्ध भएको पनि अचानक टुट्छ विचार गर
आफूलाई मात्र सर्वज्ञ ठान्छन् कथित विद्वान मान्छेहरू
स्वार्थ सकिएपछि साथ दिने बिस्तारै छुट्छ विचार गर।
७) मुक्तक
जे बोल्न छुट छ देशमा कुराको कुनै आधार छैन
अल्पज्ञानीहरू सर्वज्ञ बन्छन् बोल्ने कुनै विचार छैन
अर्कालाई गिराउन र खुट्टा तान्न जानेका छन् मान्छे
कानुन र अदालत मरेको देशमा कतै हारगुहार छैन।
८) मुक्तक
विकृति भित्रिएर समाजमा मान्छे दुष्ट हुँदै छन्
ऐँचोपैँचो हुनै छोड्यो सज्जन पनि रुष्ट हुँदै छन्
सामाजिक सद्भाव हराउँदै गयो मान्छे पशु बन्दा
सत्ता र शक्तिको आडभरमा कोही पुष्ट हुँदै छन्।
९) मुक्तक
हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु
संवेदनहीन अमानवीय पशुसँग गुनका कुरा के गर्नु
स्वार्थले भरिएका विवेकहीन मान्छेहरूको सामुन्ने
बन्धुबान्धव,इष्टमित्र,नातागोता खुनका कुरा के गर्नु।
१०) मुक्तक
भीर,पाखापखेरा छ भन्न पाउँदैनन् काम गर्नुपर्छ
मीठो,मसिनो खान टन्न पाउँदैनन् काम गर्नुपर्छ
सुख,सन्तोष भोगेकालाई नसोध्नु व्यथा गरिबको
दुःख गर्छन् तिनै पैसा गन्न पाउँदैनन् काम गर्नुपर्छ।
प्रकाशित: १५ आश्विन २०८१ १२:२८ मंगलबार