कला

जीवनका आरोह-अवरोह!

अनुभूति

जीवनमा केही असफलताहरू भोगेँ। यी असफलतालाई चिरेर काम गर्दा जीवन सहज बनाउन सहयोग मिल्यो।

तत्कालीन सोभियत संघमा एमबिबिएस अध्ययन पूरा गरेर म २०४३ मा नेपाल फर्किएँ। त्यसपछि मैले प्रसूति गृहमा करार जागिरेका रूपमा काम गर्न थालेँ। नयाँ काममा उत्साह थियो तर सकसपूर्ण पनि थियो।

२०४३ सालमा प्रसूति गृहमा काम गर्दा थोरै चिकित्सक भएकाले कहिले कहिले लगातार दुई दिनसम्म काम गर्दा बिरामीप्रति गरिने हाम्रो व्यवहार कहिलेकाहीं रुखी हुन्थो। त्यसैले प्रसूति गृहका तत्कालीन निर्देशकलाई चिकित्सकको संख्या बढाउने अनुरोध गरियो। तर सुनावाइ भएन।

अस्पतालमा कामको दबाब अत्यधिक बढेपछि मेडिकल अफिसरलगायत हामी चिकित्सकले कालो पट्टी बाँधेर काम गर्‍यौं। पञ्चायतकालमा अस्पतालमा डाक्टरले कालो पट्टी बाँधेर काम गर्नु निकै चुनौतीपूर्ण थियो। त्यसमाथि पनि म त करार जागिरे, सरकारी चिकित्सक। म केही बढी बोल्ने भएकाले कालो पट्टी बाँध्ने नेतृत्व मैले नै लिएकी छु भन्ने अस्पताल  प्रशासनलाई लागेछ।

प्रसूति गृहमा नै जागिरे हुँदा मेरी छोरी जन्मिइन्। सुत्केरी बिदा बस्दा अस्पतालमा मेरो करार सकिन दश दिन बाँकी थियो। त्यो बिदा पाएँ तर अरू सुत्केरी बिदा दिनुको साटो अस्पतालले मलाई जागिरबाट नै हटायो। ‘तपाईंको कामको हामीलाई जरुरत छैन’ भनेर अस्पतालले मलाई चिठी दियो।

एक वर्ष काम गरेपछि जागिर गयो। आवाज उठाएका कारण नै मलाई जागिरबाट निकालिएको थियो। त्यस बेलाको पीडा सम्झँदा त अहिले पनि कसरी सहें होला जस्तो लाग्छ। जागिर छुटेपछि त्यो बेला जीविकाको समेत समस्या भएको थियो। सुत्केरी अवस्थामा अपमानित ढंगले निकालिएको अनुभूति भएको थियो।

 

त्यही बेला मैले दुई पटक लोकसेवा परीक्षा दिएँ। त्यसमा पनि फेल भएँ। मलाई डिप्रेसनजस्तै भयो। अहिले लाग्छ, त्यो बेला फेल भएकाले अनि म जागिरबाट निकालिएकाले नै मलाई अन्य नयाँ ठाउँमा काम खोज्नुपर्ने बाध्यता आयो। समस्याले मलाई बलियो बनायो। सायद त्यो असफलता नभएको भए मेरा धेरै विकल्प बन्द हुने थिए।

प्रसूति गृहमा नै काम गर्दा असुरक्षित गर्भपतनका कारणले  महिलाको मुत्यु भएकाले मैले गर्भपतन सुरक्षित र कानुनी बनाउनुपर्छ भनेर आवाज उठाएँ।

२०४३ को मंसिरको एउटा शनिबार साँझ प्रसूति गृहको आकस्मिक कक्षमा म काम गर्दा करिब ३३ वर्षकी हरियो साडी, हरियै चोलो लगाएकी बिरामी महिलालाई ल्याइयो। उनलाई रक्तश्राव भइरहेको थियो। अवस्था निकै नाजुक थियो। मैले समस्या पहिचान गर्न नसकेपछि सिनियर चिकित्सकलाई बोलाएर उनले हेरेपछि थाहा भयो कि महिलाले असुरक्षित गर्भपत गराएकी रहिछन्।

धेरै रगत बगेपछि मात्र अस्पतालमा ल्याएका रहेछन्। उपचार गर्दा गर्दै अस्पताल ल्याएको तीन घण्टामा नै महिलाको मृत्यु भयो। महिलाले पाँच वटा बच्चा भएपछि छैटौं गर्भ रहँदा गाउँमा असुरक्षित गर्भपतन गराएकी रहिछन्। त्यो घटनाले धेरै दुःखी बनायो।

म नेपालमा असुरक्षित गर्भपतनलाई रोक्न गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाउन थालें। त्यो बेला गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भन्दा स्वास्थकर्मीले नै मलाई हाँसोमा उडाउँथे। तर, निजी क्लिनिकहरूमा भने तिनै स्वास्थ्यकर्मीले गर्भपतन गराउँथे।

मैले गर्भपतनको कानुनी मान्यताका लागि आवाज उठाएको करिब १६ वर्षपछि सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पायो। त्यो बेला केही महिला सांसदहरूले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दियो भने महिलाहरू वेश्यावृत्तिमा लाग्छन् भन्ने समेत तर्क गरेका थिए। तर सुरक्षित गर्भपतन गर्न पाउनुपर्ने लामो बहस चलेपछि हामीले उठाएको आवाज सफल भएको थियो।

अरूको स्वास्थ्यका लागि आवाज उठाउन मैले आफूलाई भएको समस्याबारे चाहिँ थाहा नपाएर दुःख भोग्नुपर्‍यो। सुत्केरीपछि हुने मानसिक समस्यालाई चिकित्सकीय भाषामा पोस्टपार्टम डिप्रेसन भनिन्छ। मेरी दोस्री छोरी जन्मेपछि मलाई खान मन नलाग्ने, बोल्न मन नलाग्ने, केही कुराको पनि वास्ता नलाग्नेजस्ता लक्षण देखा परे। झन्डै ३३ वर्षअघिको कुरा हो यो।

श्रीमान्ले नै मलाई मानसिक समस्या भएको बताए पनि सुरुसुरुमा त मैले आफूलाई मानसिक समस्या भएकोबारे स्विकार्न सकिनँ। म त साहसी छु, कहाँ मानसिक समस्या हुन्छ र ? भन्ने लागेको थियो।

यस्तो समस्या भएको केही समयपछि एउटा अंग्रेजी पत्रिकामा ‘सुत्केरीपछि हुने मानसिक समस्या’बारे मैले पढेँ। त्यसपछि मात्रै आफूलाई पनि मानसिक समस्या भएको थाहा पाएँ। समस्याको औषधी खाएँ। करिब ६ महिनाको औषधी सेवनपछि बिस्तारै ठिक भयो।

मानसिक समस्या भएकोबारे परिवारमा थाहा भए पनि मैले छरछिमेक, साथीभाइ तथा चिनेजानेकालाई आफू मानसिक समस्यामा भएकोबारे बोल्ने आँटै  गरिनँ। करिब २० वर्षपछि मात्रै मैले आफू मानसिक समस्यामा परेकोबारे बोल्ने साहस गरेर यसबारे लेखेँ।

आफूलाई मानसिक समस्या भएकोबारे पत्रिकामा लेख लेखेपछि एक जना चिनेका मान्छेले मलाई बाटोमा भेटेर ‘तपाईं त बहुला हुनुभएको थियो, ठिक हुनुभयो ?’ भनेर सोधे। त्यो प्रश्नपछि मलाई लाग्यो– मानसिक समस्याबारे अब बोल्नुपर्छ। त्यसपछि मैले मानसिक स्वास्थ्य विषयमा पनि बहस सुरु गरेँ।

म सानोमा नै धेरै पढ्थेँ। मलाई सबैले नराम्री, कैली भन्दै जिस्क्याउँथे। यति नराम्री छ, यसलाई कसले विवाह गर्ला, यसलाई त घरको काम पनि आउँदैन, अल्छी छे आदि भन्थे। सबैले गिज्याएपछि मैले कसरी प्रशंसनीय काम गर्न सकिन्छ भन्ने सोच राखेँ अनि धेरै किताब पढ्न थालेँ।

स्कुल पढ्दा नै पाठ्यक्रमबाहेकका कथा, कविताका पुस्तकहरू पढेँ अनि मलाई सबैले प्रशंसा गर्न थाले। मेरो सुन्दरता गौण हुँदै गयो। त्यही पढ्नेलेख्ने बानीले नै अहिले पनि म लेखपढ नगरी बस्नै सक्दिनँ। एक महिनामा २–३ वटा किताब पढ्छु। प्रत्येक दिन केही पढ्छु पत्रिकाबाहेक। त्यो बेला अरूले गिज्याउनु नै मेरा लागि वरदान भएको महसुस हुन्छ।

सन् २००२ मा म अफगानिस्तानमा गएर मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा काम गरेँ। शरीर नै ढाकेर बुर्का लगाएर हिँड्दा मलाई सुरुमा निकै असहज भएको थियो। असुरक्षाका कारण जथाभावी हिँड्न डर हुन्थ्यो। नेपालमा जस्तो त्यहाँ खुलेर बोल्न पनि सहज थिएन अनि बस्न मन लागेन। अफगानिस्तानमा करिब ६ महिना काम गरेर फर्किएँ। अहिले त्यहाँ कसरी काम गरें होला जस्तो लाग्छ।

अफगानिस्तानपछि अक्सफाम नामक संस्थामार्फत सन् २००४ मा इरान गएँ। इरानमा बस्दा भने अफगानिस्तानभन्दा महिलाहरू निकै स्वतन्त्र तथा सक्रिय रहेको देखेँ। त्यसैगरी सुडान, लाओस, चीन, श्रीलंकाजस्ता मुलुकमा रहेर सन् २०१० सम्म काम गरेँ। त्यसपछि भने नेपालमा नै बसेर काम गर्न थाले।

स्वस्थ्यकर पोषणबारे कलम चलाउन थालेँ र जानकारी दिन थालेँ। मलाई ‘पोषणविद्’ भन्छन् तर म पोषणविद् होइन। मलार्ई त धेरै लेख्ने भएकाले कयौंले त पत्रकार पनि भन्ने गरेका छन्। जनस्वास्थ्यविज्ञका रूपमा म अहिले काम गर्दा स्वास्थ्य समस्याबारे वकालत गर्न सकेको अनुभूति हुन्छ।

मेरा केही किताबहरू छन्। ‘भ्रमपूर्ण विज्ञापन र हाम्रो स्वास्थ्य’लगायत पुस्तक प्रकाशित छन्। स्वास्थ्य सम्बन्धी मैले विभिन्न पुस्तकको अनुवाद पनि गरेकी छु। म ६३ वर्षकी भएँ अब अरू ठुलो काम गर्न नसके पनि लेखेर बोलेर समुदायमा जानकारी दिने काम गरि नै रहने छु।

रमाइलो घटना

कोरोना कालमा घटेको रमाइलो घटना यहाँ राख्न मन लाग्यो। आमालाई लिएर आँखा अस्पताल जँचाउन गएकी थिएँ। त्यहाँ एक जना महिलाले ‘डाक्टर साब नमस्कार !’ भनिन्। मैले चिनिनँ। मैले ‘मास्कले गर्दा तपाईंलाई त चिन्नै सकिनँ, यसो मास्क फुकाल्नुस् न’ भनेँ।

‘होइन, तपाईंले चिन्नुहुन्न। मैले यो तपाईंको लेख पढेको हुनाले चिनेकी’ भनिन्। ‘अनि कसरी अनुहार चिन्नुभयो ?’ मैले सोधेँ। ‘तपाईंले यही पछ्यौरा धेरै टिभीको अन्तर्वार्तामा ओड्नुभएकाले चिनेँ,’ उनको भनाइले म हाँसेँ।

प्रकाशित: १२ आश्विन २०८१ १२:४४ शनिबार