कला

प्रेरणादायी गृह वातावरण, प्रशंसायुक्त अभिभावकत्व

बच्चा जन्माउने, हुर्काउने, शिक्षित बनाउने र जीवनलाई सशक्त बनाउने जिम्मेवारी लिने व्यक्तिहरू नै अभिभावक हुन्। उनीहरू जैविक रूपमा मात्रै नभई भावनात्मक, मानसिक, शैक्षिक र नैतिक रूपमा बालबालिकालाई मार्गदर्शन गर्छन्। अभिभावकहरूले घरलाई प्रेरणाको स्रोत स्थलका रूपमा विकास गर्न सक्छन्, जहाँ बालबालिकाले सबै प्रकारका थकान, अभाव र गुनासोलाई बिर्सिएर उत्साह, उमङ्ग, सिर्जनशीलता, प्रेम, सम्मान, सुरक्षा र प्रोत्साहन महसुस गर्न सक्छन्।

प्रेरणादायी घरमा अभिभावकहरूले सकारात्मक संवाद, प्रोत्साहन, प्रशंसा, उत्प्रेरणाजस्ता कुरा गर्छन्, जसले गर्दा बालबालिकाहरूमा आत्मविश्वास बढाउँछ। अभिभावकहरूले आफ्ना क्रियाकलापमार्फत उदाहरण प्रस्तुत गरेर, सफल व्यक्तिका सफलताका कथाहरू प्रस्तुत गरेर सकारात्मक तरङ्ग पैदा गर्छन्। बालबालिकाका गल्ती तथा कमजोरीहरूलाई सिकाइका रूपमा प्रस्तुत गर्दै नयाँ कुरा सिक्न र गर्न अभिप्रेरित गर्छन्, जसले बालबालिकामा सकारात्मक सोचको विकास गर्दै आशावादी दृष्टिकोणको विकास गर्न उत्प्रेरित गर्छ र सकारात्मक भविष्यको आधारशिला निर्माण गर्छ।

कक्षा तीनमा पढ्ने नाति र व्यापार गर्ने हजुरबुबाबिच एकदम आत्मीय सम्बन्ध हुन्छ। बिहान पसलमा जाँदा हजुरबाले नातिलाई विद्यालयमा छोड्नुहुन्छ र दिउँसो विद्यालयबाट फर्किंदा सँगै फर्किनुहुन्छ। नाति र हजुरबुबाको दोस्ती निकै प्रगाढ छ। दुवै जनाले दिनभरि भए गरेका कुरा र मनमा खेलेका कुराहरू आदानप्रदान गर्छन् र नबुझेको कुरा एकअर्कालाई बुझाउँछन्। एक दिन विद्यालयबाट फर्किरहेको नातिलाई मलिन अनुहारमा देखेर हजुरबुबाले आत्तिँदै सोध्नुहुन्छ– ‘नाति के भयो ? सबै ठिक छ ? किन आज मलिन छौ नि ?’

नातिले निराश अनुहार बनाएर हजुरबुबातिर हेर्दै भन्छन्, ‘हजुरबा, आज म एकदम समस्यामा छु। केही सोच्नै सकिरहेको छैन, के ठिक हो, के गलत हो।’ हजुरबुबाले नातिको समस्या अनुमान गर्न सक्नुहुन्न अनि फेरि सोध्नुहुन्छ– ‘के भयो मेरो प्यारो नातिलाई ? भन त। मसँग सही समाधान छ कि ? नाति हजुरबुबासँग टाँसिदै अति उत्सुक भएर भन्छन्, ‘हजुरबुबा, आज कक्षामा सरले पढाउँदै हुनुहुन्थ्यो। अचानक मेरो मनमा दुइटा विचार आए र एकआपसमा कुस्ती खेल्न थाले।’

नातिको जिज्ञासापूर्ण कुरा सुनेपछि उत्सुक हुँदै हजुरबुबाले सोध्नुहुन्छ– ‘भन त, कस्ता विचार आएर कुस्ती खेलिरहेका छन् ? तब हजुरबुबालाई आशापूर्ण हेराइ हेर्दै नातिले भन्छन्, ‘एउटा विचारले भन्छ, जिन्दगीमा तिमी कुनै काम लाग्ने मान्छे बन्दैनौ, तिम्रो जीवन व्यर्थ छ, तिमीले कहिल्यै सफलता पाउँदैनौ।’ हजुरबुबाले बिचमै सोध्नुहुन्छ– ‘अर्को विचारले के भन्छ ?’ नाति भन्छन्, ‘अर्को मनले तिमी महान् मान्छे हुन्छौ, तिमीले सोचेभन्दा धेरैै सफलता पाउँछौ, तिमी संसार–प्रसिद्ध हुन्छौ भन्छ। यी दुवैबिच कुस्ती परिरहेको छ। कुन विचारले जित्छ हजुरबुबा ?’

हजुरबुबाले नातिलाई काखमा राख्नुहुन्छ, निधारमा चुम्नुहुन्छ र स्नेहपूर्ण तरिकाले सम्झाउँदै भन्नुहुन्छ– ‘हेर नाति, यस्ता विचार आइ नै रहन्छन् र एक आपसमा जुधिरहन्छन् तर हामीले जुनलाई माया गर्छौ, जुनलाई ध्यान दिन्छांै, त्यसैले जित्छ। कुन विचारले जित्ने तिमीमा भर पर्छ। तिमी कुन विचारले जितोस् भन्ने चाहन्छौ ?’ हजुरबुबाको प्रश्नमा नातिले भन्छन्, ‘निश्चय नै म महान् हुन्छु, सफल हुन्छु भन्ने विचारले जितोस् भन्ने चाहन्छु। त्यसैकारण त्यसैलाई माया गर्छु र त्यसैलाई ध्यान दिन्छु।’

जब हामी हाम्रा बच्चालाई सकारात्मक कुरा सिकाउँछौं वा सकारात्मक कुराहरूले जीवन कसरी बदल्छ भन्ने कुरा सिकाउँछौं, तब हाम्रो समाज पनि बदलिन्छ। त्यसका लागि सबैभन्दा पहिला अभिभावक सचेत हुनुपर्छ।

अभिभावकहरूले अत्यन्तै प्रतिकूल अवस्थामा पनि बालबालिकालाई कसरी सकारात्मक व्यवहार गर्ने भन्ने सिप सिकेर सोहीअनुसारको व्यवहार गर्न सकेमा बालबालिकाको आत्मानुभूति उच्च बन्छ र उनीहरू सदैव सत्कर्मतर्फ अभिप्रेरित हुन्छन्। अभिभावकबाट सकारात्मक पृष्ठपोषण प्राप्त गर्न सकेमा बालबालिका र अभिभावकबिच सकारात्मक सम्बन्धको विकास हुन्छ र सिंगो जीवन र परिवारप्रति आशावादी दृष्टिकोण विकास हुन जान्छ। जसले गर्दा जस्तो सुकै प्रतिकूलतामा पनि बालबच्चाहरूले आफ्नो लक्ष्य र उद्देश्यप्राप्तिका लागि संघर्षरत रहन सक्छन्।

बालबालिकाको व्यक्तित्व र मानसिक स्वास्थ्यको विकासमा अभिभावकत्वको ठुलो प्रभाव हुन्छ। अभिभावकले बालबालिकाका सकारात्मक गुणलाई चिनेर त्यसलाई प्रोत्साहन गर्नसक्ने हो भने बालबालिकाको सिक्ने र व्यक्तित्व विकास गर्ने क्षमता अझ बढ्छ तर आलोचनात्मक वा नकारात्मक अभिव्यक्तिले बालबालिकामा उत्पन्न हुने नकारात्मक भावनालाई झन् बढाउँछ।

सानै अवस्थाबाट बालबालिकाहरूलाई प्रशंसनीय तरिकाले हुर्काउँदा उनीहरूले आफूमा अन्तरनिहित क्षमता पहिचान गर्न सक्छन् र हर समस्या तथा चुनौतीहरूलाई अवसरका रूपमा बदल्न सिक्छन्। यसप्रकारको व्यवहारले उनीहरूलाई सधैं उत्साहित र उत्प्रेरित बनाइराख्छ। प्रशंसायुक्त अभिभावकत्व बालबालिकाको समग्र विकासका लागि शक्तिशाली हुन्छ। यसले अभिभावकलाई आफ्ना बालबालिकालाई अझ सशक्त, आत्मविश्वासी र सकारात्मक व्यक्तित्वको विकास गर्न मद्दत गर्छ।

एक उत्कृष्ट अभिभावकले सकारात्मक, समर्थनजनक र प्रेमपूर्ण व्यवहार गर्दै बालबालिकाको सम्पूर्ण विकासलाई प्रोत्साहन गर्छन्। उनीहरू बालबालिकासँग खुलेर र इमानदारीपूर्वक संवाद गर्न रुचाउँछन्। बालबालिकाहरूको भावना र आवश्यकतासँग सहानुभूति राख्छन् र सिर्जनशीलता र आत्मविश्वास विकास गर्नलाई प्रोत्साहित गर्छन्। समस्यामा परेको बेलामा पनि प्रशंसायुक्त अभिभावकहरूले आलोचना र दण्डको सट्टा मार्गदर्शन र समाधानका उपायहरू बताउँछन्, जसले बालबालिकामा आत्मविश्वास र म सक्षम छु भन्ने भावना जगाउँछ। यसरी, प्रशंसायुक्त अभिभावकहरूले सकारात्मक सम्बन्ध, भरोसा र प्रेरणा प्रदान गरेर बालबालिकाको भावनात्मक र मानसिक स्वास्थ्यलाई मजबुत बनाउने आधार निर्माण गर्छन्, जसले बालबालिकाहरूको भविष्यलाई उज्ज्वल बनाउँछ।

अधिकांश अभिभावकमा असफलता नै सफलताको जननी हो भन्ने परम्परागत सोच, मूल्य, मान्यता र विश्वासका कारण बच्चाका कमजोरी तथा समस्यालाई खोजबिन गरेर समाधान गर्ने गरी पृष्ठपोषण वा सुझाव दिएमा बालबच्चाहरू सही मार्गमा लाग्न सक्छन् भन्ने मान्यता रहेको हुन्छ र बालबच्चाका साना साना कमजोरीलाई पनि खोजी खोजी पृष्ठपोषण दिन खोज्छन्।

बच्चाहरूका गल्ती–कमजोरीहरूलाई खोज्दा अभिभावकमा स्वाभाविक रूपमा नकारात्मक संवेदना उत्पन्न हुन्छ र बच्चालाई गाली गर्ने, दोेष लगाउने, आलोचना गर्ने, होच्याउने र कतिपय अवस्थामा दण्ड दिने जस्ता कार्य हुन जान्छन्। यसप्रकारका व्यवहारले बालबच्चाको मनस्थितिमा अभिभावकप्रति नकारात्मक दृष्टिकोण विकास हुँदै जान्छ। बिस्तारै बालबालिका र अभिभावकबिचको सम्बन्धको दुरी बढ्दै जान्छ र बालबालिकाहरू डिप्रेसनसम्म पुग्न सक्छन्। 

अधिकांश अभिभावकहरू जति सम्झाए पनि मेरो बच्चा भनेको मान्दैन भन्ने गुनासो गर्नुहुन्छ तर उहाँहरू स्वयंलाई के थाहा छैन भने उहाँहरूले सही तरिकाले सम्झाउन नसकेका कारण बच्चाहरू नसम्झिएका हुन्। सही तरिकाले बच्चा हुर्काउन र अभिभावक–बच्चाको सम्बन्ध सुमधुर बनाउन अभिभावहरूमा सकारात्मक सोच र समानुभूतिपूर्ण व्यवहार हुन जरुरी छ। अहिलेको अवस्थामा बच्चालाई उत्साहजनक तरिकाले हुर्काउन प्रशंसनीय अभिभावक शिक्षा जान्न जरुरी हुन्छ।

प्रशंसनीय अभिभाकत्व भनेको बालबालिकाहरूका सकारात्मक पक्षहरू, सबल पक्षहरू, उनीहरूले प्राप्त गरेका सफलता र तीनका कारणहरू, उनीहरूका अन्तरनिहित एवं प्रष्फुटित क्षमताहरू र उनीहरूका चाहनालाई पहिचान गरी बालबालिकालाई सशक्त बनाउने विधि हो। यो दृष्टिकोणले घरपरिवारमा सकारात्मक वातावरण निर्माण गरेर बालबालिकामा आत्मसम्मान, आत्मविश्वास र सिर्जनशीलताको विकास गराई म गर्न सक्छु भन्ने भावनाको विकास गराउँछ।

यो बालबालिकाको व्यक्तित्व विकासको महŒवपूर्ण आधारशीला हो। आजको यो तीव्र गतिमा बदलिँदो समाजमा अभिभावकहरूका लागि चुनौतीहरू झन् जटिल बन्दै गइरहेका छन्। वा भनौं, अभिभावकहरू बहुआयामिक भूमिकाको चपेटामा पिल्सिएका हुन्छन्। परिवारको जीविकोपार्जनका र बालबच्चाको भविष्यका लागि व्यवसाय तथा जागिरजस्ता कुरामा व्यस्त रहनुपर्ने भएकाले बालबालिकाका लागि आवश्यक समय दिन पनि कठिन हुन्छ। 

विद्यालयको समयबाहेक बालबालिकाहरू अनलाइन, मोबाइल, साथीसंगत आदिको प्रभावमा रहेका हुन्छन्। यस्तो अवस्थामा अभिभावकहरूले सकारात्मक र उत्साहजनक वातावरण सिर्जना गरेर उनीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहनका लागि उत्प्रेरित गर्न सकेमा बालबालिकाहरू सदैव सिर्जनशील भइरहन्छन्।

चाहेर वा नचाहेर अभिभावकहरूले बालबालिकालाई सही तरिकाले व्यवहार गर्न नजान्दा हजारौं बालबालिकाहरू निराशा र डिप्रेसनको सिकार भएका छन्। एकातिर अभिभावकहरू पनि बालबच्चाका लागि भनेर जिन्दगीभर दुःख गरेका हुन्छन् तर बालबालिकाले आफ्नो चाहना र भावना बुझ्न नसकेको, अभिभावकको दुःखको कदर नगरेको भन्ने गुनासो गर्छन्, अर्कातिर बालबालिका पनि अभिभावकले आफ्नो चाहना र भावना नै बुझ्न नसकेको र आफ्ना चाहना र भावनाहरू जबर्जस्तीरूपमा हामीमाथि थोपरेका छन् भन्ने गुनासो गर्छन्।

अभिभावक शिक्षाको महत्व समाजमा त्यतिबेला बुझ्न सकिन्छ, जतिबेला विद्यालय तथा विश्वविद्यालयको परिणाम सार्वजानिक हुन्छ। अभिभावकहरूको गलत व्यवहारका कारण कतिपय विद्यार्थीहरूले गलत निर्णय समेत लिने गरेका हुन्छन्। त्यसकारण एक्काइसौं शताब्दीमा बालबालिकालाई उत्साहित बनाएर हुर्काउन प्रशंसायुक्त अभिभावक शिक्षाको जानकारी सबै अभिभावकहरूलाई हुन जरुरी छ।

अभिभावक शिक्षा भनेको अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सही रूपमा हुर्काउन आवश्यक ज्ञान, सिप र विधिहरू सिकाउन बनाइने कार्यक्रम, तालिम वा पाठ्यक्रम हो। यसले बालबालिकाको शारीरिक, मानसिक, र भावनात्मक विकास बुझ्न, सही सञ्चार गर्ने तरिका, अनुशासनका प्रभावकारी उपायहरू र सकारात्मक तथा सहयोगी वातावरण निर्माण गर्ने विषयमा अभिभावकलाई सशक्त बनाउँछ।

प्रशंसायुक्त अभिभाकत्वले बालबालिकाको समग्र विकासका विविध पक्षहरूबारे जानकारी गराई बहुआयामिक तरिकाले उत्प्रेरित गर्न सक्षम बनाउँछ। यसले अभिभावकलाई बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक विकासलाई एकीकृत रूपमा बुझ्न र बुझाउन अभिप्रेरित गर्छ। बालबालिकालाई सकारात्मक अनुशासन अनुशरण सिकाउँछन्, जसले प्रत्येक मिनेटलाई कसरी सही सदुपयोग गर्ने र के कस्ता सकारात्मक कुरामा व्यस्त रहनुपर्छ भन्ने कुरामा जिम्मेवार बनाउँछ।

बालबालिकालाई सुरुबाट नै सकारात्मक तरिकाले सञ्चार कसरी गर्ने र आफूलाई लागेका कुरा नडराई कसरी प्रस्तुत गर्ने ? आफ्ना विषयमा अरूलाई कसरी सहमत गराउने भन्ने सिप सिकाउन अभिप्रेरित गर्छन्, जसले बालबालिकाले सबैसँग सकारात्मक सम्बन्ध विकास गर्न सक्छन्। यस्तो प्रकारको अभिभावकत्वले बालबालिकालाई धैर्यपूर्वक सन्तुलित भएर तनाव व्यवस्थापन गर्न र सदैव उत्साही भएर अध्ययन गर्न तथा अन्य कार्यहरू गर्न अभिप्रेरित गर्छ भने बालबालिकामा आत्मविश्वास बढाएर परिवारमा स्वस्थ वातावरण सिर्जना गर्छ।

– लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।

eripsrc@gmail.com

प्रकाशित: १२ आश्विन २०८१ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App