कला

हिरण्यकुमारी पाठकलाई भूगोल साहित्य पुरस्कार

भूगोल साहित्य समाजको पाँचौं वार्षिकोत्सव तथा साधारणसभा असोज ६ गते सम्पन्न भएको छ। कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको थियो। दुई सत्रमा सम्पन्न कार्यक्रममध्ये पहिलो सत्रका प्रमुख अतिथि वरिष्ठ गजलकार एवं अनुवादक रामबहादुर पहाडी रहेका थिए।

पहिलो सत्रको कार्यक्रममा विसं २०८१ सालको झगु-लक्ष्मीआचार्य भूगोल साहित्य पुरस्कार वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो। पुरस्कार रु.२५०२५।– नगद राशि तथा सम्मानपत्र सहित प्रदान गरिएको हो। २०७९ सालमा स्थापित प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार पहिलोपटक इतिहासकार एवं नियात्राकार देवीचन्द्र श्रेष्ठलाई र गत वर्ष रामबहादुर पहाडीलाई प्रदान गरिएको थियो। सो पुरस्कार समाजकाआजीवन सदस्य श्रीओम आचार्यले स्थापना गरेका हुन्।

पुरस्कृत स्रष्टा पाठक लामो समय राष्ट्रिय वाणिज्य बैंकको सेवा गरी निवृत्त भएका पूर्व बैंकर हुन्। उनी नेपालको बैंकिङ इतिहासमै प्रथम महिला व्यवस्थापक हुन्। साहित्य सिर्जना तथा विभिन्न संस्थाको नेतृत्व र साहित्यिक पत्रिकाको सम्पादन समेत गरी उनले साहित्यका क्षेत्रमा देखाएको सक्रियताका साथै भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजले उनलाई पुरस्कृत गरेको हो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्व हिरण्यकुमारी पाठकले पुरस्कार र सम्मानको लागि नभई आफूले एक सचेत नागरिकको रूपमा लेखनमार्फत आफूलाई सधैं सक्रिय राख्दै आएको बताइन्।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामबहादुर पहाडीले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गरेका थिए भने आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

कार्यक्रममा विनय रावल स्मृति प्रतिष्ठानका अध्यक्ष जयबहादुर चन्द, कवि मित्रलाल पंज्ञानी र महेशराज खरेलले शुभकामना व्यक्त गरेका थिए।  

उपाध्यक्ष दिनेशविक्रम थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजका कार्य समिति सदस्य मुकुन्द अर्यालले पुरस्कृत व्यक्तित्व पाठकको व्यक्तित्व र योगदानबारे प्रकाश पारेका थिए।

दोस्रो सत्रमा सम्पन्न साधारण सभाले समाजको आर्थिक वर्ष २०८०/८१को आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पारित गर्नुका साथै विनोद नेपालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ। दुवै सत्रको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए भने कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गरेका थिए ।

प्रकाशित: ७ आश्विन २०८१ १०:४८ सोमबार