कला

निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ लोकार्पण

राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ निबन्धसंग्रहकाे लोकार्पण भएकाे छ। प्राडा अरुण गुप्तो, डा. विन्दु शर्मा, फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक स्वयंले निबन्धसंग्रहकाे संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।

भाषाविद् अमृत योञ्जनले शुभकामना व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि अरुण गुप्तोले आफूलाई किताबले धेरै विषयमा ज्ञान दिएको र किताबमा भएका विषयले आफूलाई अत्यन्त प्रभावित पारेको साथै स्थानीय परिवेश र चित्रणले उक्त स्थानमा नै पुगेर अवलोकन गर्न मन लागेको बताए।

डा. विन्दु शर्माले निबन्धमा भुँइमान्छे र नारीका विषयमा गहन विषय उठान भएको बताइन्। निबन्धमा आख्यानीकरण पनि रहेको सबै पाठकका लागि उपयोगी हुने पनि बताइन्।

फूलमान बलले निबन्धमा ठूला मान्छे र ठूलो विषय नभए पनि राम्रो र स्तरीय रहेको र जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखेर महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएकोमा बधाई दिइन्।

निबन्धकार लामाले आफूले निबन्धमा सक्दो प्रयास गरेको र सिर्जनात्मक सुझाव आफ्ना लागि सदैव स्वीकार्य हुने बताइन्। शिखा बुक्सले छापेकाे उक्त निबन्धसंग्रहकाे मूल्य ५२५/- रुपैयाँ रहेको छ।

प्रकाशित: ६ आश्विन २०८१ ११:४९ आइतबार

# Muktak sangraha # Poem #narrative in essay