कला

इन्द्रजात्रालाई विश्व सम्पदामा किन सूचीकृत नगर्ने ?

संस्कृति

नेपालको मौलिक अमूर्त कला यँयाः जसलाई सरकारी कामकाजको भाषामा इन्द्रजात्रा भन्ने गरिन्छ, जुन जात्रा काठमाडौंका परम्परागत ३२ टोलमा बसोबास गर्ने तथा ती टोलवरपर बस्नेहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पहिला–पहिला झन्डै १६०० जति गुठीहरू संलग्न भई चलाउँथे तर अहिले आएर मोटामोटी एक सय वटाजति मात्र गुठीहरू संलग्न देखिन्छन्।

त्यसमध्ये जनमानसमा इन्द्रजात्रा भन्नासाथ कुमारीको रथजात्रा, लाखे, सवःभकु (हल्चोक आकाश भैरव) तथा पुलुकिसि भन्ने बुझिन्छ तर त्यस्तो होइन। यस जात्रामा देवीनाच, महाकाली नाच, बौमत, लिंगो उठाउने, श्वेत भैरव, आकाश भैरव, दश अवतार, दागिं, ग्वदांमत, टोलटोलमा रहेको हाथाद्यः, इन्द्र भगवान्, थांचा प्रदर्शन इत्यादि क्रियाकलापहरू पनि हुने गर्छन्।

यो जीवन्त जात्रा इन्द्रजात्रामा हुने विविध सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्ने गुठीहरू प्रायः लोप भइसकेका छन्। भएका गुठीहरू सरकारी तवरबाट हुनुपर्ने साथ सहयोग पर्याप्त भइ नरहेको साथै अहिले जीवन्त रूपमा बाँकी रहेका जीवन्त संस्कृतिको लिपिबद्ध हुनुपर्ने काम पनि नभएकाले यथाशीघ्र यो कामलाई जति सक्यो चाँडो हुनु आवश्यक छ।

मलाई धेरै पहिलेदेखि मनमा लागिरहन्थ्यो, इन्द्रजात्रालाई विश्व सम्पदामा किन सूचीकृत नगरेको होला? त्यसैले जति सक्दो चाँडो इन्द्रजात्रालाई विश्व सम्पदामा सूचीकृत गर्दै संसारभर प्रचारप्रसार गरी ब्राजिलको कार्निभल नाचजस्तै इन्द्रजात्रालाई प्रसिद्ध बनाउन ढिलो गर्नु हुँदैन।

यसका लागि प्रत्येक वर्ष नभए पनि प्रत्येक तीन वर्षमा एकपटक विभिन्न देशका राष्ट्रप्रमुखलाई जात्रा अवलोकनका लागि बोलाउनुपर्छ। जसले गर्दा राज्य प्रमुखसँग आउने पत्रकारहरूमार्फत विश्वव्यापी प्रचार गर्न सहयोग हुन जान्छ।

हुन त रातो मछिन्द्रनाथको जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न धेरै समयदेखि लागि रहेको देखिन्छ तर अझै यस कार्यमा सफलता प्राप्त हुन सकेको छैन।

रातो मछिन्द्रनाथमा दुईवटा देउताको जात्रा गरिन्छ तर इन्द्रजात्रामा झन्डै ५० वटा जति त प्रत्यक्ष जात्रासँग सम्बन्धित देवदेवीको निरन्तर पूजा हुँदै आएको छ। भोलि के थाहा, यो मौलिक संस्कारमा नयाँ नयाँ परम्परा थप्दै जाँदा हाम्रो संस्कृतिलाई कसरी विश्व सम्पदामा राख्न सकिन्छ भन्ने प्रश्न चिह्न उठ्न गएको छ।

हामीले प्रत्यक्ष देखिरहेका छौं, इन्द्रजात्रामा रमाइलो गर्ने नाममा, कहिले महिलाहरूले मात्र रथ तान्ने नाममा, जात्रामा पनि कोटा तथा आरक्षण गर्ने चलन आइसकेको छ। त्यस्तै श्वेतभैरवको हाथाहायकेगु जात्रामा पनि एक दिन महिला दिदीबहिनीहरूका लागि मात्र भनी दिन छुट्याउने कार्य भइसकेको छ।

त्यस्तै इन्द्रजात्राको बेला देवदेवी घुमाउने रथमा विभिन्न जाँडरक्सीको उत्पादन गर्ने कम्पनीहरूले प्रायोजन गरेका रंगीचंगी टिसर्ट लगाएर रथ नै छेक्ने गरी मानव लस्करले ढाक्ने चलन आइसकेको छ।

त्यस्तै अन्य नाच समूहहरूले पनि थरीथरीका रक्सीबियर कम्पनीले प्रायोजन गरेको टिसर्ट लगाएर जात्रा निकाल्ने चलन भइसकेको छ।

त्यस्तै यस सालदेखि काठमाडौंका मेयरको नाम अंकित टिसर्ट लगाउने अर्को नयाँ जात्रा पनि थपिएको छ। त्यस्तै कुमारी तथा अन्य देवदेवीहरूको पूजा गर्दा विभिन्न रंगीचंगी धुवाँसहितका पटाकाहरू प्रयोग गर्ने, कागजको रंगीचंगी टुक्राटाक्री हावामा उडाउने, इन्द्रजात्रामा आर्मी, पुलिस तथा सशस्त्रका जवानहरूले स्थानीय सानो धिमे बजाउने चलन पनि यस वर्ष थप नयाँ जात्राका रूपमा भित्रिएको छ।

बिडम्वना यो छ कि भएको जात्रालाई बेवास्ता गर्ने तथा मारेर पठाउने तर क्षणिक रमाइलोका लागि नयाँ नयाँ जात्राहरू थप्दै जाने हो भने भविष्यमा यो इन्द्रजात्रा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न असम्भव हुनेछ। त्यसैले जति सक्दो चाँडो इन्द्रजात्रामा थप्दै गएका झाँकी तथा विकृतिहरूलाई तत्काल रोक्न आवश्यक छ। यस्तै इन्द्रजात्राको बेला रथ घुमाउने बाटोभरिको बस्ती पनि सम्पदामैत्री बनाउन प्रोत्साहन गर्नुपर्छ।

जति सक्दो चाँडो इन्द्रजात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हतार भइसकेको छ। विश्व सम्पदामा सूचीकृत गर्ने बेला इन्द्रजात्रालाई यँयाःको मौलिक नाममा सम्बन्धित सरकारी निकायमा दर्ता गराउन पहलकदमी चलाउन पनि नितान्त आवश्यक छ।

प्रकाशित: ५ आश्विन २०८१ ०९:०८ शनिबार

#Indrajatra