कला

जब दुःखमा साथ हुन्छ, मन भरिएर आउँछ!

मुक्तक

१) मुक्तक

गुनासो छैन जिन्दागीसँग इमानले आह भर्दैछु

सुन्दर कर्मले मनको सागरमा पानीले राह भर्दैछु

शर्म सदा नैतिकताको छ बेमतलब त अफवाहको

मेरो निष्ठा सही छ सबको दिल जितेर वाह भर्दैछु।

२) मुक्तक

जब दुःखमा साथ हुन्छ, मन भरिएर आउँछ

दुःखमा हात झिक्दा मनमा अँध्यारो छाउँछ

हुँदा साथ नहुँदा बात हुनु हुन्न है साथी

बाँचेसम्म न हो मरेपछि कस्ले के पाउँछ?

३) मुक्तक

म को हुँ र,किन र! कसैले चिन्नु पर्दैन

फालेको चुरोटको ठुटो हुँ कसैले किन्नु पर्दैन

सबैका लागि हरेकपल्ट प्रयोग भएँ म

जहाँ राखे पनि हुन्छ, अचारझैं पिन्नु पर्दैन।

४) मुक्तक

अर्कै दुनियाँकी रहिछ्याैं मेरो सोच्नु भूल भयो

तिम्रो बोली आज किन? उन्मादको शूल भयो

सायद यतिका अन्तरालमा भिन्नताले जग बसाल्यो

आकाश सम्झन्थें तिम्रा आँखा, मेरो ठुलो भूल भयो।

५) मुक्तक

हरेक हारपछि पनि जितको म अपेक्षा राख्दथें

काँडै सही फुलिरहने फूलको म शुभेच्छा राख्दथें

आँधीसँग पनि म खेल्दछु, आगोसँग पनि चल्दछु

सम्झौता हैन संघर्षमै जिन्दगीको प्रेक्षा राख्दथें।

६) मुक्तक

डुब्नै लागेको घाम हुँ म एकपल साँझलाई हेरिरहें

निमेषभरमै अँध्यारो मडार्छन् वश, कोल्टे फेरिरहेँ

शायद जिन्दगी जिउने बहानामा मुटु छामेरै होला

आगोको लप्का छातीमा सेकेर पनि यो मन बेरिरहेँ।

७) मुक्तक

बेमतलब छ, यहाँ दर्दको अलाम बजिरहेको

आगोभन्दा नि दन्केको मनमा धुँवा उठिरहेको छ

ताजुब लाग्छ वैरी त पर हैन आफ्नै वर पो रै छ

पछाडि कैंची काट्ने अगाडि मसिहा बनिरहेको छ।

८) मुक्तक

पत्थरै  भैसकें अब चेत अचेतको कुरा नसुनाऊ

रात नै भैसकें उज्यालोको कुनै अर्थ नसुझाऊ

छ खुलेआम यहाँ न्याय बलात्कारी हुँदा पनि

मुखै नखोल्ने मुर्कटाको अगाडि आँसु नचुहाऊ।

९) मुक्तक

आत्मरतिमा नै हिंड्नेहरूको यहाँ लर्कोको कमी छैन

नितान्त सोच्नेहरूको भाषण गर्ने चर्कोको कमी छैन

रंगमा दंग पार्छन् दाम र नाम सोचेर कहानी बुन्ने गर्छन्

सुन्दा मिठो कुराभित्र छुराले कोर्ने धर्कोको कमी छैन।

१०) मुक्तक

भो भाग्यको कुरा नगरौं

कसैको भरमा नपरौं

परिश्रमको सियो बोकेर

निष्ठाका बिउ रोपौं।

प्रकाशित: ३ आश्विन २०८१ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App