कला

र्‍यापर बन्दै रेखा

मुम्बई– बलिउडकी प्रख्यात अभिनेत्री रेखाको अभिनय र नृत्यबारे जोकोही जानकार नै छन् । अभिनय र नृत्यबाट चर्चित बनेकी रेखा अब नयाँ अवतारमा अर्थात र्‍याप गायिकाका रुपमा दर्शकमाझ आउँदैछिन्।

उनलाई र्‍याप गीत गाउन अर्की नायिका सोनाक्षी सिन्हाले साथ दिनेछिन्।भारतीय सञ्चारमाध्यमका अनुसार रेखा फिल्म ‘यमला पगला दिवाना फिर से’मा एक र्‍याप गीत गाउनेछिन् । गीतमा सलमान खान, सोनाक्षी सिन्हा र  शत्रुघ्न सिन्हा पनि देखिनेछन् । यो गीतमा विशाल मिश्राको संगीत हुनेछ।

रेखाले फिल्मका लागि कोरियोग्राफर रेमो डीसुजासँग र्‍याप गायनको बारेमा धेरै कुरा सिकेकी छन् । उनले गीत मुम्बईको एक रेकर्डिङ स्टुडियोमा रेकर्ड पनि गराइसकेकी छन् ।फिल्ममा पहिलोपटक सोनाक्षी पिता शत्रुुघ्नसँग स्क्रिन शेयर गर्दैछिन्।

फिल्मको गीत ‘ओ मेरे सोना रे’मा दर्शकले रेखाको र्‍याप सुन्न पाउनेछन् । रेखा र धर्मेन्द्र आफ्नो ७० दशकको चर्चित ट्रयाक ‘रफ्ता–रफ्ता देखो आंख मेरी लडी है’रिमेकमा पनि सहकार्य गर्नेछन् । लामो समयपछि यी दुई कलाकार पुनः एकै फ्रेममा आउन लाग्दा दर्शकमा पनि कौतुहलता रहेको सञ्चारमाध्यमले जनाएका छन्।

‘यमला पगला दिवाना फिर से’को स्टोरीलाइन यसको अघिल्लो संस्करण भन्दा फरक हुनेछ । फिल्ममा धर्मेन्द्र, सनी देओल र बबी देओल नयाँ लुक्समा देखिनेछन् । फिल्मको निर्देशन नवनियत सिंहले गर्नेछन् । फिल्ममा कृति खरबंदा पनि प्रमुख भूमिकामा हुनेछिन्।
 

प्रकाशित: २१ चैत्र २०७४ ०३:१२ बुधबार

र्‍यापर बन्दै रेखा