कला

संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् एवं साहित्यकार लाकोजू सम्मानित

संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवं साहित्यकार सूर्यप्रसाद लाकोजू हालै एक समारोह बिच सम्मानित भएका छन्। काभ्रे बनेपामा जन्मी काभ्रेको शिक्षा, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका संस्कृतिविद् ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित ज्ञानकाजी-मोहनलाल खिं स्मृति सेवा कोषले उनीहरूलाई सम्मान गरेको हो।

अक्षयकोष स्थापनासँगै पहिलोपटक कोषबाट संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् लाकोजू सम्मानित भएका हुन्। सम्मानितमध्ये जोशीलाई ज्ञानकाजी-मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवं संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी-मोहनलाल खिं संस्कृति गौरव सम्मान प्रदान गरिएको थियो। दुवैलाई नगद १५ हजार रूपैयाँसहित सम्मान गरिएको थियो।

सो सम्मान कार्यक्रममा प्राडा पुरूषोत्तमलोचन श्रेष्ठले मानिसलाई चिरकालसम्म चिनाउने उसको कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर काभ्रे अध्ययनका लागि स्रोत व्यक्ति रहेको बताए।
उनले इतिहास र संस्कृतिमा मानन्धरको योगदान प्रकाशित कृतिले प्रष्ट पारेको जनाए।

प्राडा श्रेष्ठले काभ्रेका ज्ञानकाजी मानन्धर, मोहन दुवाल, सूर्यप्रसाद लाकोजूका साथै इतिहासविद् हरिराम जोशी राष्ट्र रत्न रहेको चर्चा गरेका थिए। ज्ञानकाजी मानन्धरका छोरा प्रकाश मानन्धरले मानन्धरले शिक्षा, साहित्य, संस्कृतिको क्षेत्रमा पुर्‍याएको सन्दर्भ अविरस्मरणीय रहेको उल्लेख गरे। उनले आफ्ना बाजे मोहनलाल खिँले कला, साहित्य, नाटक, मन्त्र आदिमा विशेष योगदान रहेको स्मरण गरे। उनले मानन्धरको सम्मानस्वरूप सन्तानद्वारा १० लाख रूपैयाँको अक्षयकोष स्थापना गरी शिक्षा, संस्कृति र इतिहास क्षेत्रमा हरेक वर्ष उपयुक्त पत्रहरूलाई सम्मान गर्दै जाने बताए।

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई परिवारले नै सम्मानस्वरूप कोष स्थापना गरेको बताए। उनले सो कोष स्थापनाले राज्यलाई नै मार्गनिर्देशन गरेको स्मरण गरेका थिए। उनले मानन्धरलाई ज्ञानकाजी सरको रूपमा चिनेको, समाजसेवी, शिक्षासेवी र संस्कृतिविद्को रूपमा परिचित गरेको जनाए। उनले सम्मानित व्यक्तिको योगदानबारे चर्चा गरेका थिए।

सम्मानित संस्कृति शिरोमणि हरेराम जोशीले स्व. ज्ञानकाजी मानन्धरले पुर्‍याएको योगदानसँगै उनको आनीबानी र संगतबारे स्मरण गरेका थिए भने सम्मानित संस्कृतिविद् लाकोजूले सांस्कृतिक निबन्धहरू लेखनको प्रेरक व्यक्ति स्व. मानन्धर रहेको बताए।
कार्यक्रममा इमेज च्यानलका सञ्चालक रघुवर मानन्धरले स्व. संस्कृतिविद् मानन्धरको योगदानको स्मरण गरे। उनले स्व. मानन्धर काभ्रेको नक्षत्र रहेको चर्चा गरे।

संस्कृतिविद् ज्ञानकाजी मानन्धरको २०८० भदौ ८ गते देहावसान भएको थियो। उनको वार्षिकीको अवसरमा परिवारका तर्फबाट स्मृति कोष स्थापना गरेको स्व.मानन्धरका छोरा भुवनकाजी मानन्धरले बताए।

प्रकाशित: ३० भाद्र २०८१ १२:३२ आइतबार

# Sanskriti shiromani Hariram Joshi # Culturalist and writer Surya Prasad Lakoju