‘पत्रकार एवम् लेखक रमेश भुसालको नयाँ गैरआख्यान कृति ‘छालबाटो’ लोकार्पण गरिएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा भुसालकी छोरी अनुराले पुस्तक लोकार्पण गरेकी हुन्।
पुस्तक लोकार्पण कार्यक्रमसँगै विद्वान् हरि शर्माले लेखक भुसालसँग संवादसमेत गरे। शर्माले पुस्तक लेखनदेखि यसका विविध पक्षमा आधारित रहेर भुसालसँग संवाद गरेका हुन्।
कार्यक्रममा शर्माले पर्यावरण, वातावरण, नदीनाला अनि नेपाल–चीन–तिब्बत सीमा क्षेत्रका बासिन्दाको अध्ययनमा रुचि राख्नेहरूलाई पुस्तक उपयोगी भएको बताए। ‘म यो पुस्तक पढ्नका लागि एकदमै आग्रह गर्दछु,’ शर्माले भने, ‘यसमा रमेशजीले यात्रा गर्दै नदीलाई मानिसको जीवनसँग जोडेर सुन्दर किसिमले बुन्नुभएको छ।’
नदीनालाहरूको दोहन बढिरहेको र तिनको संरक्षण अपरिहार्य बनिरहेको सन्दर्भमा पुस्तकले यस विषयमा समेत जोड दिएको उनको भनाइ छ। कार्यक्रममा लेखक भुसालले मानिसका कर्मले प्रकृति एवं पर्यावरण बिग्रिएको बताए।
‘मान्छे आफू मात्रै पृथ्वीमा थपिएको छैन, उसले अरू धेरै कुरा पनि थपेको छ । उसले अरूलाई सिध्याएर आफ्नो साम्राज्य खडा गरिरहेको छ। त्यसरी उसले सिध्याउँदै लगेको एउटा स्रोत नदी हो,’ उनले भने, ‘जब कि पृथ्वीमा रहेका सबै नदीको कुल लम्बाइ एक करोड २० लाख किमि छ।
अहिले पृथ्वीका कुल नदीमध्ये ६० प्रतिशतमा बाँध बाँधिसकिएको छ।’ तर बाँधिन बाँकी केही नदीमध्ये कर्णालीको शिरदेखि पुछारसम्मको यात्रा ‘छालबाटो’ रहेको उनको भनाइ छ। यो पुस्तक आफूले नदीयात्रा गर्दा भेटेका पात्रहरूको कथा रहेको भुसालले जनाए।
‘यो अलिअलि मेरो, अलिअलि नदीको, अलिअलि कर्णालीवासीको, अलिअलि मेरा सहयात्रीहरूको, अलिअलि नदी राजनीतिको र अलिअलि नदी विज्ञानको कथा हो,’ उनले भने, ‘कतै यो निकै तथ्यपरक रूपमा प्रस्तुत भएको होला त कतै अलि भावनामा पनि बहकिएको होला।’
भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णाली नदीको उद्गमदेखि भारतको गंगासम्मको यात्रा गराएका छन्। पुस्तकले पाठकलाई काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै भारतको गंगासम्म सँगसँगै लैजान्छ र त्यसभित्रका कथा–कहानी सुनाउँछ। यस पुस्तकमा लेखक रमेश भुसालले नदीलाई आफूभित्र राखेर अनि आँखाले देखेको नदी र मनमा बसेको नदीको वर्णन गरेका छन्।
तीन देश। दुई हजार किलोमिटर। ४५ दिन। अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णाली नदीको उद्गमदेखि भारतको गंगासम्मको यात्रा। त्यो पनि हिँडेर–गुडेर–बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, ‘छालबाटो’।
तर यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जंगलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन्। र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोक, नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बिचमा रनभुलमा परेका स्थानीय, झुटको खेतीमा मस्त नेता, रसुवागढीको रेल सपना, कैलाश पर्वतको सेरोफेरो, तिब्बतमा रमाइरहेका मिङमार, हिल्सामा होमिएकी पेमा, भारीले थिचिएका धनवीर, छालबाटो कुदिरहेका काङ्ग्री, डुंगामा रम्ने मेघ, बर्दियामा बढेका बाघ, घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गंगा।
को हुन् भुसाल?
पत्रकार रमेश भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियन, द फाइनान्सियल टाइम्स, द थर्ड पोल, द वायर, स्क्रललगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन्।
नेपालका मुख्य नदी कोसी, गण्डकी र कर्णालीको शिर–पुछार यात्रा गरेका उनले अन्टाकर्टिकाबाहेक सबै महादेशबाट जलवायु परिवर्तनलगायत विषयमा रिपोर्टिङ गरेका छन्। वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरूको विश्वव्यापी सञ्जाल अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन्। छालबाटो उनको पहिलो पुस्तक हो।
प्रकाशित: ३० भाद्र २०८१ ०९:१० आइतबार