कला

कहालीलाग्दो मिर्गौला व्यापार

जीवनकथा

हातको मैला सुनको थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का यी पंक्तिको मर्मका पछि को लाग्छ र ? सबैलाई धनको आवश्यकता छ। धनको अभावले जीवनमा कहिलेकाहीं यसरी गाँज्छ कि मिर्गौला बेच्न पनि बाध्य बनाउँछ।

पैसाका निम्ति अरूलाई दुःख दिएको देखिन्छ नै। पैसाका लागि आफैंलाई बन्धक बनाउन पनि पछि पर्दैनन्। पैसाका निम्ति मरिमेट्ने कैयन्ले आफ्नै अंग बेचेको पनि भेटिन्छ। कतिपयलाई पैसाबाट प्राप्त हुने सुखतिर यसरी आकर्षित गराइन्छ कि ती बाध्य भएर यस्ता काममा लाग्छन्।

कतिपय परिवार गरिबीमै भए पनि वा ऋणमै डुबे पनि हाँसीखुसी बसिरहेका हुन्छन्। त्यस्ता परिवारको दुःखका दिन त्यतिबेला सुरु हुन्छन्, जो बाहिरका व्यक्तिबाट आर्थिक प्रलोभनमा पर्छन्। तिनले मानिसलाई यसरी फकाउँछन् कि तिनले भनेको मान्न बाध्य हुन्छन्। मान्छेलाई दुई वटा मिर्गौला नै चाहिँदैन, एउटा भए जति पनि बाँचिन्छ भन्दै त्यसलाई बेच्न प्रेरित गरेका अनेकन् घटना सार्वजनिक भएका छन्। दुःखी–गरिबलाई एउटा मिर्गौला बेच्नमा उक्साएकै कारण कैयौं विपन्न परिवारका सदस्य यस्तो जञ्जालमा फसिसकेका छन्।

पत्नीको कमजोर स्वास्थ्य र टाउकोमा ऋणको भारी बोकिरहेका काठमाडौंको छिमेकी जिल्ला काभ्रेका एक पुरुषले भारतमा गएर मिर्गौला बेचेका थिए। १२ लाख रूपैयाँमा मिर्गौला बेचेका उनले अहिले केही शारीरिक कमजोरीको सामना गरिरहेका छन्। पहिला उनको शरीर र स्वास्थ्य निकै राम्रो थियो। बुढेसकालसम्म पनि यी स्वस्थ रहन सक्ने अनुमान गरिन्थ्यो। मिर्गौला बेचेर आएयताका केही महिनामा उनको स्वास्थ्यमा खराबी देखिन थालेपछि उनकी पत्नी डराएकी छन्।

दुई छोरा, दुई छोरी र पतिपत्नीसहितको त्यो ६ सदस्यीय परिवारमा गरिबीबाहेक अन्य कुनै दुःख थिएन। तुलनात्मक रूपमा यो परिवार सुखी थियो। भक्तपुर दुवाकोटको एउटा इँटाभट्टामा ज्यामी काम गरेरै तिनले साँझबिहान हातमुख जोर्ने गरेका थिए।  

कान्छी छोरी जन्मेपछि पत्नी धेरै बिरामी भइन्। त्यसपछि पतिले मात्र इँटाभट्टामा काम गरेका थिए। ‘कान्छी छोरीलाई पेट चिरेर निकालेको हो,’ उनले भने, ‘जसले गर्दा मेरी पत्नी बिरामीले थला परेपछि उपचारकै लागि धेरै समय अस्पतालमा राख्नुपरेको थियो। चार लाख ऋण गरेरै भए पनि पत्नीलाई त बचाएँ तर ऋण सल्टाउन दिनरात मेहनत गरिरहेको थिएँ।’

घरमा सुत्केरी पत्नी र छोराछोरीको पढाइ र खुवाइ आफू एक्लैले धान्दै गरेको उनले बताए। परिवारलाई भनेझैं खुवाउन र लगाउन दिन नसकेकोमा उनलाई ठुलो हीनताबोध भइरहेको थियो। इँटाभट्टाको काम छोडेर अन्यन्त्र काम गर्ने, त्यो पनि नभए विदेश जाने सोचमा उनी थिए। तर, सोही ठाउँमा काम गर्ने मामाको छोरा पर्ने कृष्ण बिकले भनेको उनी सम्झन्छन्, ‘विदेश गएर तपाईंले कमाउने पनि त्यही हो। यहाँ कमाउने भन्दा दशपन्ध्र हजार त बढी कमाउनुहोला। विदेशमा तपाईंसँग परिवार हुँदैनन्। यहाँ त कमसेकम तपाईं बिरामी हुँदा बुढीको हातको तातोपानी त खान पाइन्छ।

मामाले बोल्दै गर्दा ती पुरुषले पनि थपे, ‘के गर्नु ? ऋण पनि त टन्नै छ। ऋण नभएको भए मजाले परिवार धान्न सक्थें।’ पुरुषको चिन्तालाई सहजै समाधान गरेजस्तै मामाले पुनः भने, ‘ऋण चुक्ता गर्न मसँग सजिलो उपाय छ। तपाईंको एउटा मिर्गौला झिकेर बेच्दिनू, अर्को मिर्गौलाले राम्रोसँग काम गर्छ, राम्रो पैसा पनि आउँछ। त्यसपछि त तपाईको ऋण पनि हुँदैन। अलिअलि बैंक ब्यालेन्ससमेत रहन्छ।’

साच्चै मिर्गौला झिक्ने कि नझिक्ने, मिर्गाैला झिक्यो भने कमजोर पो भइन्छ कि? बच्चाहरू साना छन् भन्ने डरले उनलाई सताउन थालेको थियो। तर, मिर्गाैला बेचेर पैसा लिनु छैन भन्ने जवाफ उनले कृष्ण मामालाई दिए।

‘डराउनुपर्दैन, मेरा साथीहरू आफ्नो मिर्गौला बेचेर आनन्दले बसेका छन्। मिर्गौला झिकेर पनि मज्जाले सक्रिय भएर काम गरिरहेका धेरै मान्छे देखेको छु। ११/१२ लाख रूपैयाँ आइहाल्छ एउटा मिर्गौला बेचेको। अरू के चाहियो र?’ यसो भन्दै ती मामाले पछिसम्म फकाइरहे।

कृष्ण मामाले देखाएका प्रलोभनले उनलाई अप्ठेरोमा पार्दै थियो। त्यसमा उनी पनि सोच्न बाध्य भए। कामबाट साँझ घर फर्किएपछि उनले आफ्नी पत्नीलाई सोधेका थिए। पत्नी त्यसमा राजी थिइनन्। उनले उल्टै गाली गरेकी थिइन्। ‘तपाईंको काम छैन?’

 पत्नीले उनलाई भनेकी थिइन्, ‘किन बेच्नु पर्‍यो मिर्गौला ? तपाईंलाई केही भयो भने हाम्रो के हालत हुन्छ ? ऋण बिस्तारै तिरांैला। बरू छोरी हिँड्ने भएपछि म पनि तपाईंसँगै भट्टामा काम गर्न जान्छु ।’ तर, पत्नी धेरै कमजोर भएकै कारण काममा लगाउन उनलाई फिटिक्कै मन थिएन।

भोलिपल्ट कृष्ण मामाले आफूलाई अर्का साथी सिंगेसँग चिनजान गर्न काठमाडौंस्थित कोटेश्वर पुलमा लगेको उनले बताए।

सिंगेले उनलाई आश्वस्त तुल्याए, ‘डराउनु पर्दैन, काम गर्ने हामीले नै हो। मेरो एक जना साथीले मिर्गौला चाहिने मान्छे खोजिसकेको छ। सबै उपचार खर्च उनीहरू आफैंले व्यवस्थापन गर्छन्। नेपालमा मिर्गौला झिक्न र बेच्न मिल्दैन। त्यसका लागि भारतमा जानुपर्छ। तपाई अहिले काम गर्दै जानुस्। मिर्गौलाको कामका लागि हामी छिटै तपाईंलाई खबर गर्छौं। तपाईं ढुक्क भए हुन्छ।’

सिंगेले नै रक्तसमूह बारे सोधे। त्यसबेला उनलाई आफू ‘बी पोजेटिभ’ रहेको जानकारी ती पुरुषले दिएका थिए। ती पुरुषलाई विभिन्न प्रलोभनमा पारी सिंगे र अर्का दलाल विक्रमले भारत लैजान भूमिका खेले। ती पुरुष पनि घरको आर्थिक उन्नति बढाउन भारत जान सहमत भए। दलालीहरूले उनलाई सक्कल नागरिकता ल्याउन पनि आग्रह गरेको उनी बताउँछन्।

धेरै किचकिच गर्न सक्ने ठानेर भारत जाने बेलामा पत्नीलाई थाहै नदिई घरबाट निस्कन ती पुरुषलाई सिकाइएको थियो। काठमाडौंं बल्खु हुँदै उनलाई हेटौंडाबाट भारत पुर्‍याइन्छ। आफन्तले नै मिर्गौला बेच्नमा उस्काएका ती पुरुष भारत पुगेपछि शंकर खत्रीकी पत्नी पार्वतीको दुवै मिर्गौलामा समस्या भएका कारण उनीहरूलाई बेच्न लागेको सुइँको आफूले थाहा पाएको बताउँछन्।

पीडितको मन अन्त नबिच्कियोस् भनेर दलालहरूले बिचबिचमा दशबिस हजार रूपैयाँ दिँदै घरपरिवारलाई रासनपानी हाल्न पनि लगाएको पीडितले बताए।

अझै भारत पुगेपछि आफ्नो नागरिकतामा भएको नाम नै परिवर्तन भएपछि उनी छक्क परेको बताउँछन्। ‘मैले बोकेर लगेको सक्कली नागरिकतामा मेरो नाम मात्रै परिवर्तन थिएन। मेरा आमाबाबुको पनि नाम अर्कै थियो। जहाँ थर चाहिँ खत्री लेखिएको थियो। मैले यस्तो किर्ते काम गर्दिनँ पनि भनेको हुँ। तर, यसमा डराउनु पर्दैन भनेर मलाई थुमथुम्याए,’ ती पीडित पुरुषले भने।

तपाईलाई केही हुँदैन, सबै हामी जिम्मा लिन्छौं भन्दै उल्टै पैसा थपेर दिने कुरा गरेको उनलाई सम्झना छ। ‘मलाई एकदम डर लाग्दैथियो। नेपाल फर्केर बरु विदेश जान्छु भन्दा पनि यहाँसम्म आएको र सम्पूर्ण चेकजाँच गरेको ३/४ लाख भएको छ। त्यो सबै तिरेर जानु भन्दै धम्क्याए। म मिर्गौला दिन विवश भएँ,’ पीडित पुरुषले भने। गत माघमा सैनिक अस्पतालबाट आफ्नो मिर्गौला प्रत्यारोपण गरेको उनले स्विकारेका छन्।  

मिर्गौला दिएको तीनदिनपछि अस्पतालबाट डिस्चार्ज गराएर मलाई कोलकाताको कसैको कोठामा ८/१० दिन राखे। हातमा एक लाख ५० हजार रूपैयाँ थमाएर अहिले नेपाल जाँदै गर्नु, यसले केही काम टर्दै गर्छ। बाँकी पैसा काठमाडौं आएपछि दिन्छु भने। रक्सौल, वीरगन्ज हुँदै म काठमाडौं आइपुगेँ,’ नेपाल फर्केको विवरण उनले दिए। दिन बित्यो, महिना बित्यो, उनको बाँकी पैसा आउने कुनै टुंगो भएन।

दुईतीन महिना बित्दै गएपछि उनले ती दलालहरूलाई धेरै फोन लगाउन थाले। तर, समय समयमा दुईचार लाख, दुईचार लाख गर्दै आफूले लामो समयपछि १२ लाख रूपैयाँ पाएको उनको स्वीकारोक्ति छ।

पैसा उनीहरूले तोकेबमोजिम नै सबै दिएपछि आफूसँग सम्पर्कविहीन भएको उनी भन्छन्, ‘पछि कोही सम्पर्कमा आएनन्। सबैले नम्बर पनि परिवर्तन गरेछन्। फोन लागेन। यता आफ्नो शरीरमा ठुलो असर परेपछि मैले फोन गरेको थिएँ। दिन प्रतिदिन सुक्दै र गल्दै गएँ। केही सामान उठाउन पनि सकिएन।’

शरीर स्वस्थ नभएकै कारण उनी मानव बेचबिखन अनुसन्धान ब्युरोमा आउन बाध्य भएका हुन्।

ती पीडित पुरुषकी पत्नी भन्छिन्, ‘भारतमा राम्रो आम्दानी भएकाले काम गर्दै छु भन्नुभयो। मलाई पनि हो जस्तै लाग्यो। पछि बिरामी शरीर लिएर आएपछि मात्रै थाहा भयो। उहाँको किड्नी रहेनछ। हारगुहार माग्न कहाँ जाने, हामीलाई पैसा चाहिएको छैन तर पहिलाको जस्तै बलियो श्रीमान् देऊ।’

उपत्यकाभित्रै मयुर यातायात, महानगर यातायातलगायतका बसहरूमा सहचालकका रूपमा काम गर्दै आएका अर्का युवाले पनि मिर्गौला बेचेका छन्। काठमाडौंस्थित नयाँ बसपार्क नजिकै शान्ति माया खाजा घर थियो। उनी प्रायः त्यहीं खानाखाजा खान्थे। उक्त खाजाघरमा राजकुमार नेपाली नामक पुरुषसँग एक वर्षअघिदेखि उनको भेट हुन्थ्यो ।

ती सहचालक आफूले कमाएको सबै आम्दानी घर पठाउने र प्रायः खाजाघरमा उधारो खाने गर्थे। तर, उनले पैसा भने नतिरेका होइनन्, बिस्तारै तिर्थे। एकदिनको कुरा हो, खाजा सञ्चालक शान्तिदिदीले भनेको उनी सम्झन्छन्, ‘तिमीलाई पैसाको धेरै अभाव रै’छ। मसँग एउटा पैसा कमाउने सजिलो उपाय छ। तिमीले मान्यौ भने बसीबसी खान पुग्छ ।’

सहचालकको जिज्ञासा बढ्यो, ‘के हो त्यस्तो उपाय दिदी बसीबसी खान पुग्ने, हामी पनि सुनौं न?’

यति नभन्दै उनको जिज्ञासा मेटाउँदै सञ्चालक शान्तिले भनिन्, ‘तिमीसँगै भेटिरहने राजकुमारले मिर्गौला बेच्ने मान्छे खोजिरहेका छन्। मिर्गौला दियौ भने तिमीलाई दशदेखि पन्ध्र लाख आउँछ।’

धन भनेपछि महादेवको त्रिनेत्र हुन्छ भन्छन्। त्यस्तै ती सहचालकलाई पनि पैसाको अभावले छटपटिएको बेलामा शान्तिले विभिन्न प्रलोभनमा पार्न थालिन्। दुईचार हप्ता उनी सोच्न बाध्य भए। तर, यता खाजाघरकी सञ्चालक शान्तिले भने उनलाई प्रलोभनमा पार्न छोडेकी थिइनन्। ‘दुईवटा मिर्गौला के काम र ? एउटा मिर्गौला झिक्दा अर्काले काम गरिहाल्छ। बाँच्ने समय कति हो, त्यति त मज्जाले काम गरिहाल्छ। मरिलानु के नै छ र ? दुई दिनको जिन्दगी हो। हाँसीहाँसी बाच्ने नि भाइ !,’ शान्ति दिदीले भनेको उनले सम्झे। मिर्गौला फेल भई मृत्युको मुखमा पुगेको मान्छेलाई आफूले सहयोग गरेर बाँच्छ भने त्यो नै धर्म हो भनेर उक्साएको सहचालकले बताए।

आफूलाई पनि हो जस्तै लागेकाले एक हप्तापछि राजकुमारले अर्का साथी कृष्ण श्रेष्ठलाई काठमाडौंस्थित माछापोखरीमा भेटाएको उनी बताउँछन्।

त्यसदिनै मेडिकल चेकअप गर्न लैजाने कुराकानी हुँदैथियो। ‘आज जान्नँ, पछि कुनै दिन जाउँला,’ उनले भने, ‘आज चेकअप मात्रै गर्ने हो। तिम्रो मिर्गौला झिक्न मिल्छ कि मिल्दैन् भनेर। अरू केही गर्ने होइन भने। त्यसपछि ललितपुरस्थित लखनखेलको एक मेडिकलमा गएर मेरो सबै चेकजाँच गराए।’

सोही साँझ मेडिकल रिर्पोट आउनेबित्तिकै हातमा पाँच हजार रूपैयाँ थमाएको उनले बताए। त्यतिमात्रै नभएर उनलाई भोलिपल्ट काठमाडौंस्थित सुन्धाराको संकटा मन्दिरमा बोलाएर थप १३ हजार रूपैयाँ पनि दिएको उनले सम्झे।

उनको मिर्गौला बेच्ने दिन नजिकिँदैथियो। संकटा मन्दिरमा भेटेको १५ दिनपछि उनलाई भारत जानुपर्ने प्रस्ताव आयो। बल्खुमा पुगेपछि ५० हजार रूपैयाँ दिएर ती सहचालकलाई कृष्ण र राजकुमारले वीरगन्ज जाने सुमो चढाएको उनको अनुभव छ। वीरगन्जबाट नयाँ मान्छे नारायण भन्नेले उनलाई भारतको कोलकाता पु¥याए।

त्यहाँ पुग्नेबित्तिकै मिर्गौला प्रत्यारोपण गर्ने महिला किरणदेवी साहको पति विमल शाह हो भनी आफूलाई भेटघाट गराएको सहचालक बताउँछन्। उनका अनुसार मिर्गौला प्रत्यारोपण गर्न महिना दिन जति लाग्ने रहेछ। दलालले पोषणयुक्त खानेकुरा खुवाएसँगै धेरै हेरचाह पनि गरेका थिए। कताकता मन डराइरहेको उनले बताए। ‘मनमा डरले निकै ठुलो ठाउँ ओगटेको थियो,’ उनले भने, ‘मलाई अब मिर्गौला दिन मनै भएन। म मिर्गाैला दिन्नँ भन्दा उनीहरूले मलाई गाली गर्दै के के आश्वासन देखाए। दैनिक मेरा लागि दश हजार रूपैयाँभन्दा बढी खर्च गरेको हिसाबकिताब देखाउन थाले।’

ती पीडित सहचालकले मिर्गौला दिने किरणदेवीका पति मुकेशकुमार शाहको सक्कली नागरिकताको फोटो झिकेर आफ्नो फोटो उनीहरूले नै राखिदिएको बताए। यसरी गत वर्ष कात्तिकमा मिर्गौला बेचेर नेपाल आएको उनीसँग पनि रोचक किस्का छ।

‘अस्पतालमा चरा दिनको बसाइपछि मलाई होटलमा लगेर ११ दिन राखे। त्यसपछि मेरो पेटमा सिलाएको टाका खोलियो। मलाई उनीहरूले काठमाडौं गएर पैसा दिने वाचा गरे। मलाई एक लाख थमाएपछि झापाको काँकडभिट्टा हुँदै काठमाडौं आएको हुँ,’ भारतमा मिर्गौला बेचेर फर्केका सहचालकले भने।

भारतजानुपूर्व भनेबमोजिमको रकम नदिएर पटक पटक गरी जम्मा तीन लाख ७० हजार रूपैयाँ मात्रै हात परेसँगै सबै दलाल सम्पर्कविहीन भएपछि उनी ब्युरोमा उजुरी दिन जानुको मुख्य कारण थियो।

‘मलाई पैसा मात्रै पूरा नदिएको भन्ने होइन। मेरो शरीरबाट मिर्गौला झिकेपछि पेट दुख्ने, खान मन नहुने, शरीर कमजोर हुनेजस्ता लक्षण देखिन थाले। ती दलालहरूलाई मात्रै नभएर खाजा घरकी सञ्चालक शान्ति दिदीलाई पनि आफ्नो व्यथा राख्दा कुनै पनि प्रतिकार नदेखाएपछि म ब्युरो आउन बाध्य भएँ,’ ब्युरोमा उजुरी दिएका सहचालकले भने।

निरक्षर, आर्थिक रूपमा विपन्न, ऋणमा डुबेको र चेतनास्तर समेत कमजोर भई पारिवारिक अवस्था नाजुक भएकै कारण ऋण तिरिदिने आश्वासन दिलाएर गरिब परिवारमा भएको अलिअलि खुसी पनि मिर्गौला बेचबिखनले खोसिएको छ।

ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंस्थित बौद्ध नारायणटारका धेरै मान्छेले मिर्गाैला बेच्ने गरेका छन्। किड्नी बेच्ने कार्य प्रायः सहमतिमै हुने गरेको उनले बताए।

‘मिर्गौला बेचेर पूरा पैसा पाएमा तथा स्वास्थ्य अवस्था गम्भीर नभएमा ब्युरोमा उजुरी नै आउँदैन,’ उनले भने, ‘पीडित प्रहरीकोमा आउनेभन्दा पनि प्रहरी उल्टै पीडित खोज्दै हिँड्नुपर्छ। त्यस्ता प्रहरीकोमा आउन नसकेका धेरै पीडित छन्।’

स्वास्थ्य असर नपर्ने, राम्रो आम्दानी हुने, जीवनयापन सहजै चल्नेजस्ता यावत प्रलोभन देखाएर मिर्गौला बेच्नेको संख्या बढेको एसपी मिश्रले बताए।

यो संगठित अपराधका रूपमा मानव अंग बेच्ने गरेका छन्। विशेष गरेर मिर्गौला बेच्नु र किन्नु अपराध हो भन्ने प्रायः मानिसलाई थाहा छैन। आर्थिक विपन्नताबाट उम्किन अन्य उपाय नखोजी शरीरका अंग बिक्री गर्न खोज्नु आफैंमा दुःखद उपाय हो। आफ्नो शरीरको अंगको सट्टामा पाइने केही लाख रूपैयाँ हातको मैलाबाहेक केही हुन सक्दैन।

प्रकाशित: २९ भाद्र २०८१ ०९:४० शनिबार