कला

खोरियाले मनायाे साङ्गीतिक उत्सव

खोरिया साहित्य सिर्जना नेपालले छैटाैं खोरिया साङ्गीतिक उत्सव मनाएको छ।

खोरिया साहित्य सिर्जना नेपालका अध्यक्ष खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जिताली र नारी हस्ताक्षर साहित्यकार ललिता दोषीको विशेष आतिथ्यमा कार्यक्रम भएकाे थियाे।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जितालीले मन्तव्य दिंदै खोरियामा तीजको गीत भाकालाई विश्वव्यापी गरेर संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याएकोमा गर्व लागेको बताए। उनले तीज गीत लोकगीत, खोरिया लोकछन्द र विभिन्न ताल लयमा गाउन सकिने बताउँदै लोक छन्द भएकाले सामान्य रुचि राख्नेले पनि लयमा आधारित भएर लेख्न र गाउने सकिने बताए।

साहित्यकार ललिता दोषीले खोरिया प्रवर्तन गरेर धेरैलाई प्रेरणा मिलेको छ भन्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी थिइन्।

कलानिधि दाहालले तीज पहिले चौबिसै घण्टा कामको चपेटाबाट आएका दुखदर्दलाई व्यक्त गर्ने समय हो। समय कहाँ पुग्यो अहिले कसैलाई पीडा छैन भन्दै अब परम्परागतभन्दा समयसापेक्ष मौलिक तीज बनाउनुपर्ने बताए।

त्यस्तै कार्यक्रममा जगदीश्वर पोखरेलले शुभकामना मन्तव्य दिंदै खोरिया गीत गाएका थिए।

कवि संगीता खरेलको सफल उद्धघोषण र सुधा बास्कोटा ढकालको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा लक्ष्मीप्रसाद मिश्र, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, सुरेस घिमिरे, प्रेम थापा, सरला तिमल्सिना, सुधा बास्कोटा ढकाल, गंगा अभिलाषी, झविकला खरेल (मुना) जानुका थापा, घनश्याम पौडेल, भगवती दवाडी, तीला लेकाली लगायत २० साहित्यकारहरूले खोरिया र तीज गीतबाट खोरिया तीज गीत महोत्सव मनाएका थिए।

खोरिया प्रवर्तक अध्यक्ष जनार्दन अधिकारी धड्कनले खोरियाको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्दै खोरिया अक्षर गणना ८/८/८/५ गरी २९ अक्षरमा लेखिन्छ भने यो गद्य कविताको स्वरूप हो तर ३/२/३,३/२/३,३/२/३ को सूत्रमा लेख्यो भने यो खोरिया लोक छन्द हो र तीज गीतको रुपमा लयको लागि दोस्रो पङ्तिको अनुप्रास र चौथो पङ्तिको अनुप्रास मिलाएर लेख्नुपर्ने बताए।

प्रकाशित: २७ भाद्र २०८१ १०:३४ बिहीबार