कला

खण्डहरको जराबाट

कविता

आफूभरि फिजिंएका यादका बाडुल्कीहरू

खण्डहर बनेपछि

उम्रिएर सिस्नु भैरहेका छन् बिम्झनामा अतित

समय नदीले छोडेको बगर जस्तै

तिमी अर्को किनारा लागेपछि

कैयौं हिउँद र बर्खाहरू एक्लैएक्लै

निरस बिताएँ हुँला आफ्नै छातीमा

उमारेर भीरपहराका निर्जन सुसेली

सुन्नेहरू नभएरै सायद प्रतिध्वनि फर्कन्छ

प्रतिध्वनि ठोक्किन्छ

घरि ओल्लो किनारामा

घरि पल्लो किनारामा

हावाले साउती मारेर जान्छ बारम्बार

र ठोक्किन्छ स्पन्दनका भित्ताहरूमा

ए थियो त कुनै दिन?

मेरो हृदयमा पनि घाम ओर्लिएर

झलमलाएका पहारहरू

अथवा जून उदाएर उज्यालिएका यामहरू

खोज्छु र खोजिरहन्छु

चौबाटोमा बाटो बिराएर अलमलिएको

यात्री जस्तो

दोभानको जङ्घारममा

बाढीले तर्न नसकोको बटुवा जस्तो

स्वप्निल स्मृति न रहेछ जिन्दगी

जो थोरै उज्यालो

र बाँकी सप्पैसप्पै रमिते बनेर बिताउनुपर्छ

जस्तो

चुनाव जितेर पनि

जेलको बन्द दिवार पर्खिरहेको

एक भ्रष्टको डायरी जस्तो

ढुकढुकी अझै किन बढिरहन्छ

स्मृति आलो घाउ बनेर

बिर्सने कसरतमा नै छु

जस्तो नदीले छोडेको बगर

उमार्दै छ दिलका अन्तरहरूबाट

बीउ खोजेर बैंसको

सयपत्री र मखमलीहरू

गुराँस र लालुपाते

उस्तै त्रास बाँकी छ

के थाहा र भोलि आउने

सम्भावनाका भेलहरू उर्लिएर

बगर ढाकेर नलतार्ला र?

समय रहेसम्म  हरियो पलाउनु नै छ

टुसाउनु र लहराउनु नै छ

लत्रिए पनि तङ्ग्रिएर उठ्नु नै छ

भाँच्चिए पनि सरिरहन्छ लालुपाते

मक्किए पनि पलाइरहन्छ वरको चौतारी

थाहा छ जरा टेकेर पनि फर्कन्छ खण्डहरको यौवन

झरीपछि न हो आकाशले आँखा मस्काउने।

हो त्यही आकाश

त्यही जरा

र त्यही समय उम्रिरहन्छ आजकाल

तिम्रो बिम्झनाको खण्डहरबाट।                    

प्रकाशित: २५ भाद्र २०८१ १०:४६ मंगलबार

# Poem # Story # Laghukatha