कला

भाषा आयोगले मनायाे आफ्नाे नवौं वार्षिक उत्सव

भाषा आयोगले विभिन्न कार्यक्रम गरेर आफ्नो नवौं वार्षिक उत्सव मनाएको छ। वार्षिकोत्सव समारोह दुई चरणमा भएको थियो। पहिलो चरण उद्घाटन सत्रको अध्यक्षता आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा भएको थियो। कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले गरेका थिए। उद्घाटनमा बोल्दै मन्त्री पाण्डेले आयोगको कार्य क्षेत्र बढाउनुपर्ने र यसका लागि आफूबाट सकेकाे सहयोग रहने विचार व्यक्त गरे।

कार्यक्रममा आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले आयोगको संवैधानिक अधिकार र दायित्वका विषयमा आफ्नो विचार राखेका थिए। प्रमुख अतिथि मन्त्री पाण्डेले विभिन्न मातृभाषाका पत्रिकालाई भाषाआयोगको तर्फबाट सम्मान प्रदान गरेका थिए। समारोहमा लिम्बु भाषाको पत्रिका तान्छोप्पा, वान्तबा राई भाषाको बुङवाफा, डोट्याल्ली भाषाको गुगुल्डी, तामाङ भाषाको तामाङ डाजाङ, नेपाल भाषाको थौकन्ह, बज्जिका भाषाको बज्जिकाञ्चल दैनिक, भोजपुरी भाषाको भोजपुरी टाइम्स, नेपाली भाषाको रचना, चाम्लिङ राई भाषाको सितिमि, वाम्बुले राई भाषाको लिब्जु–भुब्जु र थारु भाषाको लावा डगरलाई सम्मान गरिएको छ। उद्घाटन समारोहमा आयोगका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. लवदेव अवस्थीले शुभकामना दिएका थिए।

भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टकाे अनुसार वाार्षिकोत्सवको दोस्रो चरणमा नेपालमा सरकारी कामकाजको भाषा र त्यसको कार्यान्वयन सम्बन्धमा अन्तक्रिया भएको थियो।

भाषा आयोगका उपसचिव तारानाथ निरौलाले नेपालको सरकारी कामकाजको भाषा कार्यान्वयनको अवस्थाबारे टिपोट प्रस्तुत गरेका थिए। नेपालका विभिन्न सात प्रदेशबाट आएका भाषिक संस्थाका प्रतिनिधिले भाषा सम्बन्धित विषयमा आफ्नो जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए।

आयोगका कामकारवाही सम्बन्धमा आएका टिप्पणीमाथि आयोगका सदस्य उषा हमाल, डा. अमर गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, गोपालजी प्रसाद सर्राफ, डा. पुष्करराज भट्ट एवं सुरेश मानन्धरले आफ्ना विचारका साथै आयोगको आगामी कार्यक्रममाथि प्रकाश पारेका थिए।

कार्यक्रममा आयोगका सल्लाहकार डा. रामावतार यादवको शुभकामना मन्तव्य एवं सुझाव प्रस्तुत गरेका थिए। सभाको समापन आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकुरले गरेका थिए।  

प्रकाशित: २४ भाद्र २०८१ ०८:३३ सोमबार