कला

‘आफूविरूद्ध आफैँ’ मा पौडेलको सोकेसको ऐना

नेपाली साहित्यमा क्रियाशील स्रष्टाहरूले सुरु गरेको ‘आफूविरूद्ध आफैँ’ अभियानको दोस्रो श्रृंखलामा निबन्धककार बोधराज पौडेलको ‘सोकेशको ऐना’ माथि निर्मम चिरफार भएको छ।

अभियानकर्ताहरुले समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्दै संग्रहित निबन्धको चिरफार गरेका थिए।

लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियानमा साहित्यकार तथा समालोचक आरएम डंगोलले समकालीन निबन्ध साहित्यमा पौडेलको उपस्थिति चिरस्थायी हुनसक्ने तर यसमा लगाव र निरखतलाई जोड दिनुपर्ने बताएका थिए।

‘संग्रहमा रहेका निबन्ध उत्कृष्ट नै रहेका छन् जीवन र प्रकृतिको सानिध्य तथा प्रगतिशील चेतले ओतप्रोत रहेका छन्’, समालोचक डंगोलले भने।

कार्यक्रममा अभियान्तहरु वनराज रिजाल, होमशंशर बास्तोला, छविरमण सिलवाल र प्रतिरोध कार्कीले पौडेलको लेखन शैली, आञ्चलिकता र जीवन भोगाइको विषयमा चर्चा गरेका थिए।

निबन्धकार पौडेलले आगामी लेखन र विगत आगत कोट्याउँदै समकालीन अवस्थाको साहित्य लेखनबारे चर्चा गरेका थिए।

प्रकाशित: २२ भाद्र २०८१ १७:०३ शनिबार