कला

फेरि पलसँग आँचल !

काठमाडौं–  दर्शकले अभिनेत्री आँचल शर्मालाई अधिकांश समय पल शाहसँग जोडी बाँधेको देखेका छन्।

तीनवटा फिल्ममा पलसँगै देखिएकी आँचलले चौथो फिल्म ‘ब्ल्याक’मा भने आकाश श्रेष्ठसँग जोडी बाँधेकी छिन् । आइतबार फिल्मको दोस्रो गीत सार्वजनिक गर्ने कार्यक्रम थियो तर यहाँ पनि आँचलसँग पल छुटेनन् । यसको मतलब पल फिल्मको कार्यक्रम गएका होइनन्, न त फिल्मभित्र नै छन्।

आँचल र आकाशको अभिनय रहेको गीतमा पल देखिनु संयोग मात्र थियो । यो संयोग जुरेको थियो, सार्वजनिक गीतमा रहेका शब्दका कारण । गीतमा ‘पल पल हरपल’ शब्द समेटिएको थियो । यो देखेपछि कार्यक्रममा सहभागीले टिप्पणी गरिहाले, ‘यो फिल्ममा त पल आँचल छुटेछन् भनेको गीतमै पल अटाएका रैछन् ।’ पल आँचल दुवैले आफूहरू प्रेममा रहेको अस्वीकार गर्दै आए पनि उद्योगमा दुवै जोडीको रुपमा चिनिन्छन्।

जेठ ११ लाई प्रदर्शन मिति तोकेर मैदानमा उत्रिएको फिल्म ‘ब्ल्याक’ले आइतबार दोस्रो गीत सार्वजनिक गरेको हो । महेश खड्काको संगीत रहेको गीतमा सुगम पोखरेलले आवाज दिएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने फिल्ममा रामशरण उप्रेतीको छायांकन रहेको छ । फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन्।

उनले फिल्ममा अँध्यारोबाट उज्यालोमा आउने जोडीको कथा समेटिएको बताए । फिल्ममा आयुष रिजाल, सुन्दर श्रेष्ठ, धिरेन शाक्य, प्रिया रिजाल आदि कलाकारको पनि अभिनय रहेको छ। मौनता श्रेष्ठको लेखन रहेको फिल्मलाई आश्मा पाण्डे र चेतन पाण्डे मिलेर निर्माण गरेका हुन्।

 

प्रकाशित: २० चैत्र २०७४ ०३:३९ मंगलबार

फेरि पलसँग आँचल